Comments Add Comment

हाम्रो शरीरले यसरी संकेत गर्छ बुढ्यौलीको

कपाल फुल्नु, अनुहार चाहुरिदै जानु, आँखाको दृष्टि कमजोर हुँदै जानु, श्रवण शक्ति हराउँदै जानु सामान्यत बुढ्यौलीका संकेत हुन् । हुन त अरु कतिपय अवस्थामा पनि यस किसिमको शिथिलता देखिन सक्छ । यद्यपि उमेर गुज्रिदै गएपछि हाम्रो शरीरमा देखापर्ने यावत् लक्षण बुढ्यौलीको हो ।

हामी बुढ्यौलीसंग डराउँछौंं । आफूलाई कसैले पनि बुढो अथवा वृद्ध नभनोस् अथवा आफू वृद्ध भएको अनुभव नै गर्नु नपरोस् भन्ने हाम्रो चाहाना हुन्छ । तर, उमेरलाई कसैले रोकेर अथवा छेकेर छेकिने कुरा होइन । एउटा निश्चित उमेरपछि हामी सबै वृद्ध हुन्छौं, हामीलाई बुढ्यौलीले छुन्छ ।

चिकित्सकहरुका अनुसार मानिस एकै पटक बुढो हुने होइन । हामीलाई एकै पटक बुढ्यौलीले छुँदैन । जसरी शरीर तन्दुरुस्त रहन शरीरका सबै अंगहरु सही हुनु अति आवश्यक छ, ठिक त्यसैगरी बुढ्यौली पनि शरिरका अंगहरुमार्फत देखिन थाल्छ । शरीरका विभिन्न अंगहरु फरक-फरक उमेरमा वृद्धावस्थातर्फ उन्मुख हुने चिकित्सकहरुको भनाइ छ । उनीहरुका अनुसार प्रत्येक व्यक्तिमा ३० वर्ष पुगेपछि बुढ्यौलीका संकेतहरु देखिन थाल्छन् । त्यहाँबाट प्रारम्भ हुने बुढ्यौलीका संकेत हाम्रो बाँकी जीवनभरी नै चलिरहन्छ ।

यहाँ शरीरका केही महत्वपूर्ण अंगहरुको बारेमा चर्चा गरिदैछ, जसमा एउटा निश्चित उमेरदेखि बुढ्यौलीका लक्षणहरु देखा पर्छन् ।

छाला

हाम्रो शरीरमा बुढ्यौलीको संकेत देखाउने मुख्य अंग नै छाला हो । छालामा उमेरको प्रभाव सबैभन्दा पहिला देखिन्छ । सामान्यतया २५ वर्षको उमेरदेखि नै छालामा बुढ्यौलीका संकेतहरु देखिन थाल्दछन् । त्यसले गर्दा छाला बढी पातलो अनि कम लचिलो हुन थाल्छ ।

साथै त्यसमा मसिना रेखाहरू देखा पर्न थाल्छन् । उमेरसँगै बढी समय घामको सम्पर्कमा बिताउँदा पनि छाला रुखो र सुख्खा हुन्छ । त्यसका लागि फाइवरयुक्त खानपिन तथा  योगा र प्राणायामको सहयोगले छालालाई उमेरको प्रभावबाट जोगाउन सकिन्छ ।

कपाल

हरेक व्यक्तिको व्यक्तित्वमा नै प्रभाव पार्ने शरीरको एउटा महत्वपूर्ण भाग हो कपाल । कपालले व्यक्तिको व्यक्तित्वलाई सुनमा सुगन्ध गरिरहेको हुन्छ भन्दा फरक पर्दैन । उमेर बढेको संकेत कपालले पनि गरिरहेको हुन्छ ।

शरीरका अन्य अंगहरुमा झैं कपालमा समेत बढ्दो उमेरको प्रभाव देख्न सकिन्छ । हामी प्राय ३० वर्ष पुगेपछि कपाल बढ्ने अथवा उम्रने गतिमा कमि आउने विभिन्न अनुन्धानहरुले प्रमाणित गरिदिएका छन् । त्यसैकारण ३० वर्षपछि प्राय मानिसको कपाल पातलो हुन थाल्छ । यसका साथै ३० वर्षपछि नै कपालको रौं-छिद्रबाट मेलानिन उत्पन्न हुने प्रकृयामा पनि कमि आउँछ । त्यसरी कमि आउनु भनेकै कपाल फुल्न थाल्नु हो । अर्थात, ३० वर्षपछि कपालबाट हाम्रो बुढ्यौली प्रारम्भ हुन्छ ।

मांसपेशी

मांसपेशीमा पनि कपाल जस्तै ३० वर्ष पुरा भएदेखि नै बुढ्यौलीका संकेतहरु देखिन थाल्छन् । चिकित्सकहरुका अनुसार हरेक व्यक्तिमा ३० वर्ष पुरा भएपछि मांसपेशीको तन्तुको संख्या तथा त्यसको शक्तिमा कमि देखिन थाल्छ । यसको कारणले शरीरमा हुनु पर्ने मेटाबोलिज्म कमि आउँछ । यसले गर्दा शरीरको क्यालोरी खपत गर्ने क्षमतामै कमि आउँछ र हाम्रो शरीरमा मोटोपन बढ्छ । विभिन्न व्यायामबाट हामीले मोटोपनाबाट छुटकारा भने पाउन सक्छौं ।

मस्तिष्क

कपाल र मांसपेशी झैं मस्तिष्क पनि ३० वर्ष पुरा भएदेखि नै वृद्धावस्थातर्फ अग्रसर हुन थाल्छ । ३० वर्ष पुरा भएपछि बिस्तारै मस्तिष्क खुम्चिन थाल्छ । त्यसबाट स्नायु कोषिकाको विकास प्रक्रिया नै रोकिन थाल्छ ।

मस्तिष्कको रक्त सञ्चार ३० वर्षको उमेर भन्दा पहिलाको तुलनामा कम हुन्छ । यसले व्यक्तिको सोच्ने शक्तिमा समेत प्रभाव पार्छ । त्यसैले कुनै समस्या बुझ्न र परिणामसम्म पुग्न धेरै समय लाग्छ । चिकित्सकहरुका अनुसार एस्ट्रोजन हार्मोनका कारण महिलाहरूको मस्तिष्क र हृदय पुरुषको तुलनामा मन्द गतिमा बूढो हुन्छ ।

आँखा

हरेक व्यक्तिको आँखा ४० वर्ष पुरा भएपछि बुढ्यौलीतर्फ अघि बढ्छ । ४० वर्षपछि आँखाको पुतली पछाडिको पारदर्शी अंग कडा र बाक्लो हुन थाल्छ, जसले गर्दा नजिकका कुरामा आफ्नो ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ।

यसका साथै अँध्यारो र कम उज्यालो भएको स्थानमा हेर्न समेत गाह्रो हुन्छ । यसबाहेक उज्यालो कम अथवा बढी भए पुतलीले जनाउने प्रतिक्रियामा पनि कमि आउँछ । त्यसैले हामी ४० वर्ष पुरा भएपछि आँखामा सुख्खापनको समस्या देखिन थाल्छ ।

मुट

४० वर्ष पुरा भएपछि नै मुटु पनि बुढ्यौलीतर्फ अग्रसर हुन्छ । ४० वर्षपछि मुटुसंग सम्बन्धित रक्तवाहिका नलिहरू कडा हुन थाल्छन् । त्यसपछि मुटुमा रगतको प्रवाह तीव्र गतिमा हुन्छ र धमनीहरू फैलन धेरै समय लाग्छ । परिणाम स्वरूप मुटुमा आवश्यकताभन्दा कम रगत पुग्छ र मुटु सम्बन्धि समस्याहरु देखिन थाल्छन् ।

कान

कान सुन्न कम हुनु पनि बु्ढ्यौली लागेको संकेत हो । प्रायः मानिसहरुमा ५० वर्ष पुरा भएपछि कान सुन्न कम भएको पाइन्छ । ५० वर्ष पुरा भएपछि अधिकांश व्यक्तिको सुन्न सक्ने शक्तिमा कमि आउन थाल्छ । त्यसो त हामी लामो समय चर्को आवाजमा बस्यौं भने पनि श्रवण शक्तिमा कमी आउँछ । तर, प्राकृतिक रुपमा भने हरेक व्यक्तिमा ५० वर्ष पुरा भएपछि कानबाट सुन्न सक्ने क्षमतामा कमी आउन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment