+
+

कांग्रेसको झण्डा बोकेर टुँडिखेल गएको छु र ?

रोयल आचार्य रोयल आचार्य
२०७६ मंसिर ३० गते १६:४७

३० मंसिर, काठमाडौं । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै सुरु भएको अकुपाई टुँडिखेल अभियान जारी छ । यसले जनसमर्थन पाइरहँदा छिटफुट विवाद पनि उब्जेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सार्वजनिकरुपमै यो अभियानको आलोचना गरेका छन् ।

३ महिनाका लागि घोषणा गरिएको यस अभियान अन्तर्गत हरेक शनिवार टुँडिखेलमा जमघट आयोजना गरिन्छ । अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काएर खुल्ला राख्नुपर्ने माग गर्दै आएका छन् ।

यस अभियानमा केही राजनीतिक पात्रहरु पनि सुरुदेखि गाँसिएका छन्, जसमध्ये एक हुन् पूर्वमन्त्री भीमसेनदास प्रधान । उनको सक्रिय संलग्नताले गर्दा पनि यो अभियान राजनीतिकण भएको आरोप लाग्ने गरेको छ । मेयर शाक्यले प्रधानतर्फ लक्षित गर्दै कडा टिप्पणी गर्दै आएका छन् । प्रधान रक्षामन्त्री हुँदा नै नेपाली सेनालाई भौतिक संरचनाहरु निर्माण गर्न दिएको र अहिले आफै सडकमा आएर दुनो सोझ्याउने काम गरेको आरोप शाक्यको छ ।

प्रधान भने मेयर शाक्यको आरोप निराधार भएको बताउँछन् । उनले आफू रक्षामन्त्री हुनुभन्दा पहिले नै सेनाको भौतिक संरचना निर्माण भइसकेको भन्दै मेयरले झूटो आरोप लगाएको दावी गरे । टुँडिखेल अतिक्रमण भएर सटर नै बन्दासमेत मेयर चुपचाप बसेको भन्दै प्रधानले मेयरमाथि प्रत्यारोप लगाए ।

प्रस्तुत छ, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंश :

६ साताअघि सुरु भएको अकुपाई टुँडिखेल अभियानमा तपाईंको सहभागिता किन ?

यो अभियान टुँडिखेललाई खुला राखौं भन्नका लागि हो । यो मुद्दा कसरी उठ्यो भन्ने कुरा महत्वपूर्ण छ । मूख्य त काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन अवस्थामै रहेको भ्यू टावरको विषय हो ।

काठमाडौं महानगरपालिकालका तत्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको पालामा भ्यू टावर निर्माणका लागि हस्ताक्षर भएको थियो । त्यहाँ विजनेश कमप्लेक्स बनाउने कुरा थियो । मैले व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न हुँदैन भनेर त्यसको विरोध गरेको थिएँ ।

भ्यूटावर बनाउनका लागि सबै योजनाहरु बनाइसकिएको रहेछ । तर नक्सा पास लगायतका काम भएको थिएन । तत्कालीन कानूनमन्त्री प्रकाशमान सिंहलाई त्यसको शिलान्यास गर्नका लागि पत्र नै पठाइएको रहेछ ।

तर हामी सबैले त्यसको विरोध गर्‍यौं । विधि र प्रक्रिया पुरा नगराई संरचना बनाउनु हुँदैन भन्नेमा हाम्रो जोड थियो । काठमाडौंका धेरै नेताहरुको विरोध भएपछि शिलान्यास रोकियो । तर, पछि उपराष्ट्रपति नन्दबहादुर पुनलाई लगेर शिलान्यास गरियो । उपराष्ट्रपतिलाई भ्यूटावरका बारेमा केहि जानकारी थिएन । त्यही भएर उहाँलाई लगेर शिलान्यास गराइएछ ।

हामीले त्यसको विरोध गर्‍यौं । म मात्रै होइन, अहिलेका सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर लगायत सबैले बहिष्कार गर्‍याै‌ं । हामीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई यस विषयमा ध्यानाकर्षणसमेत गराएका थियौं । फोहोर व्यवस्थापन, स्वच्छ वातावरण, खुला जग्गाको विषयमा प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका थियौ ।

काठमाडौं स्वच्छ हुनुपर्छ, फोहोर व्यवस्थापन उचित ढंगले हुनुपर्छ भन्नेमा हामी सबैको मत थियो । म मात्रै होइन, अन्य राजनीतिक दलका माननीयज्यूहरु पनि हुनुहुन्थ्यो । हामी त्यसबेला पार्टीगत मतभिन्नता बिर्सेर काठमाडौंको भलाइको लागि एक ठाउँमा उभिएका थियौं ।

पछि अहिलेको मेयर विद्यासुन्दर शाक्य आएपछि भ्यूटावर बनाउनका लागि ठेकेदारलाई म्याद थप गरिएछ । तर पनि काम भने भएको छैन । ५ वर्ष वितिसक्दा ठेकेदारले डिपीसीसमेत उठाउन सकेको छैन ।

लामो समयसम्म सबै चुप लागेका हुन् । महानगरपालिकाले जे गर्नु पर्ने थियो त्यो गरेन । हुँदहुँदा जब ठेकेदारले खुलामञ्चमै पसल राखेर अतिक्रमण गर्यो, त्यसपछि मिडियाले खबरदारी गरे । अनि जनता पनि उठे । जनतासँगै म पनि खुलामञ्च पुगेको हुँ ।

म जनताको प्रतिनिधि हुँ । मलाई काठमाडौंको माया छ । यसकारण पनि म सहभागी हुनैपर्थ्यो र हुन्छु पनि । जनता उठे र मिडियाले पनि राम्रो समर्थन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको निर्देशनमा काठमाडौंका सीडीओ सा’पले खुलामञ्चमा बनाइएका संरचनाहरु भत्काउन निर्देशन दिनुभयो । डोजर लगाएर सटरहरु भत्काइए । त्यो ठीक काम थियो । मैले सदनबाट नै प्रधानमन्त्रीज्यूलाई धन्यबाद दिएको थिए ।

त्यसपछि माहोल सेलाएको थियो । तर दशैंको महाअष्टमीको दिन फेरी खुलामञ्च क्षेत्रमा ढलान गरिएछ । यसरी एकपछि अर्को बदमाशी भएपछि जनता कसरी चुप बस्न सक्लान् ? त्यसैले स्वतस्फुर्तरुपमा यो अभियानको सुरु भयो । अहिले ६ हप्ता पूरा भएको छ । ३ महिनाको समय दिइएको छ त्यो अवधिमा महानगरले खाली गर्नै पर्छ ।

यो अभियानको मागजस्तै पहिलेकै अवस्थामा टुँडिडेल फर्काउन सम्भव छ त ?

जतिसम्म खुला बनाउन सकिन्छ बनाउनुपर्‍यो भन्ने मेरो कुरा हो । खुलामञ्च महानगरको जिम्मामा छ । खुलामञ्च बाहेक टुँडिखेल चाहिँ फेरि नेपाली सेनाको जिम्मामा रहेछ । अहिले टुँडिखेलमा कुनै व्यक्ति वा संघसंस्थाले केही समारोह वा कार्यक्रमहरु गर्नु पर्ने भयो भने नेपाली सेनको अनुमति लिनु पर्ने हुन्छ ।

मलाई यो कुरा पहिले थाहा थिएन । म रक्षामन्त्री हुँदा ब्रिफिङमा सुनेको हुँ । टुँडिखेल भनेको हामी सबैको सम्पत्ति हो । म त सानो हुँदा पनि त्यहाँ फुटबल खेल्ने गरेको थिएँ । मैले फुटबल सिकेको नै टुँडिखेलमा हो ।

म साथीहरुसँग साँझपख टुँडिखेल वरीपरी घुम्थेँ । अहिलेका जस्ता भवनहरु थिएनन् । म फुटवल टिमको क्याप्टेन हुँदा त्यही ठाउँमा खेल्थ्यौं । यसकारण पनि मलाई टुँडिखेलको माया लाग्छ ।

मन्त्री हुँदा सेनाले टुँडिखेल लिएको थाहा पाएर पनि किन केही गर्नु भएन ?

म रक्षा मन्त्री हुँदा जब टुँडिखेल सेनाको जिम्मामा छ भन्ने थाहा पाएँ, त्यसपछि मैले सेना प्रमुखलाई बोलाएर तीनवटा कुरा भनेको थिएँ । सेनाले त्यहाँ ठूलो भवन बनाएको छ । तर नक्सा पास गराएको छैन । मैले ‘त्यो भवन किन बनाउनु भयो ? सेनाले चाहिँ नीति-नियम मान्नु पर्दैन ?’ भनेर सोधेँ । दोस्रो कुरा सेनाले आफ्नो ग्राउन्ड बनाएको छ, त्यसमा पनि मैले आपत्ति जनाएँ । र, तेस्रो सेनाले पार्टी प्यालेस किन बनाएको भनेर पनि सोधें ।

सेनाले व्यवसाय गर्ने होइन, पार्टी प्यालेस नचलाउनुस भनेर मैले भनेको हुँ । जति तपाईंले मिच्नुभयो अब पाउनुहुन्न भनेर चेतावनी पनि दिएको हुँ । बनिसकेका संरचनालाई भत्काउनु भन्ने कुराचाहिँ थिएन । तर थप नबनाउन मैले नेपाली सेनालाई निर्देशन दिएको थिएँ ।

तर, काठमाडौंका मेयरले त रक्षामन्त्री हुँदा तपाईंले नै सेनालाई भवन बनाउन अनुमति दिएको आरोप लगाउनुभएको छ नि ?

मेयरले नभएका कुरा गर्दै हुनुहुन्छ । म मन्त्री बनेर आउँदा नै सबै संरचना बनिसकेका थिए । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन हुनु भन्दा पहिले नै स्थानीय तहको निर्वाचन भएको थियो । प्रतिनिधि सभामा नयाँ जनप्रनिधि आउनु अगावै उहाँ मेयर बनिसक्नु भएको थियो ।

मेयर भएर आएपछि उहाँले यो कुरा किन उठाउनुभएन ? म त पव्लिकमा भिमसेनदास बनेर बस्नुपर्छ । जनताको कुरा उठाउछु । मैले अघि पनि भनिसकेँ, म आउँदा ति संरचनाहरु बनिसकेका थिए । मेयर साबले भनेको गलत हो ।
उहाँ स्थानीय सरकार हो । खुलामञ्च उहाँको मातहत भएपछि पसल राख्न दिनुहुन्थ्यो ?सार्वजनिक सम्पत्ति भाडामा लगाइँदा उहाँले हेरेर बस्नु भयो । त्यसपछि यो अभियान शुरु गरेका हौ ।

जे होस आफू रक्षामन्त्री बन्दा चाहिँ केही गर्न नसक्नुभएको त छर्लंगै भयो नि होइन ?

होइन । यो कुरा पनि मेयरले भन्नु भएको हो । उहाँ मेयर बनेर आएपछि के हेर्नु भयो त ? खुलामञ्चमा नै सटर बनाएर भाडामा लगाउँदा उहाँ चुपचाप बस्नु भएको हो ।

महानगरपालिकाले अहिले खुलामञ्चमा पसल राख्न दिएको छ । रत्नपार्कमा पनि पसल राख्न भाडामा दिएको छ । काठमाडौंलाई यसरी अस्तव्यस्त पार्न पाइँदैन । स्थानीय सरकारले खुला जग्गा किनेर व्यवस्थित बनाउनु पर्नेमा महानगरपालिका पैसा कमाउने योजनामा लागेको छ । महानगर भनेको व्यवसाय गर्ने, भाडामा लगाएर पैसा कमाउने संस्था होइन ।

अकुपाई अभियानको राजनीतिकरण भएको आरोप पनि लागेको छ । यसमा कति सत्यता छ ?

मेयर सापले अकुपाई अभियानमा राजनीतिक रंग देखियो भन्दै हिँड्नु भएको छ । त्यो कुरा सरासर गलत हो । रिस उठेको छ भनेर जे पनि भन्न मिलेन नि । राजनीतिकरणको कुरा गर्ने हो भने मेयर पनि पूर्व एमाले हो । एमालेको झण्डा बोकेर नै उहाँले चुनाव जित्नु भएको हो । अब महानगर एमालेकरण भयो भन्ने ?

म नेता होइन, जनप्रतिनिधि भएर यो अभियानमा जोडिएको हो । म जनताको कुरा उठाउँछु । म त्यहाँ कांग्रेसको कुरा गर्दिन ।

हामीले पार्टीको झण्डा नै बोकेको छैन भने उहाँले कसरी भन्नु भयो कि त्यहाँ राजनीतिक रंग देखिएको छ भनेर । त्यहाँ अन्य पार्टीका पनि धेरै हुनुहुन्छ । स्वतन्त्र व्यक्तिहरु पनि हुनुहुन्छ । सामाजिक काममा चाहिँ राजनीतिमा लागेका व्यक्तिले बोल्ने नहुने हो ?

म जुन पार्टीबाट जिते पनि जनताको प्रतिनिधि हुँ । जनताको हितको कुरा गर्ने हो । मैले कांग्रेसको कुरा गर्ने हो भने झण्डा बोकेर जान सक्थेँ होला । मैले त्यहाँ कुनै झण्डा बोकेर गएको छैन, जनताको आवाज बोकेर गएको हुँ ।

अस्ति नै हामीले वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटालाबारे सडकमा र्‍याली निकाल्यौ । हो त्यसलाई राजनीतिक कार्यक्रम भन्न मिल्छ, त्यहाँ हाम्रो पार्टीको झण्डा लिएर हामी त्यहाँ गएका थियौ ।

मेयर शाक्यसँग अहिले कस्तो सम्बन्ध छ ?

पहिले सम्बन्ध राम्रै थियो । हामी मिलेका थियौं । अन्य विषयमा राम्रै कुराकानी हुन्थ्यो । मैले जनताको आवाज लिएर जाँदाखेरी सम्बन्ध बिग्रियो ।

लेखक को बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment