Comments Add Comment

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव

स्थायी राजधानीका लागि रुपन्देही, कपिलवस्तु वा दाङ सिफारिस

Photo Credit : कपिल ज्ञवाली/अनलाइनखर

३० मंसिर, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरिएको छ ।

प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिए पनि स्थायी राजधानीको विषयमा भने समितिका सदस्यहरुले सञ्चारकर्मीलाई फरक-फरक नाम बताउने गरेका छन् ।

‘बुटवलबाट पश्चिम रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङलाई राजधानी सिफारिस गरिएको छ,’ विशेष समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

अर्का एक सदस्यले भने स्थायी राजधानीका लागि बुटवल र दाङ (भालुबाङ-लमही) सिफारिस भएको दावी गरेका छन् । हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ ।

विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन ‘सिजल’ले बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुन सक्ने स्थानहरु सिफारिस गरी प्रतिवेदन तयार पारिएको बताएका छन् ।

विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लाग्ने पुनले बताए ।

प्रदेशको राजधानी र नाम संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा सत्तारुढ नेकपाको दुई तिहाइ बहुमत भए पनि राजधानीका विषयमा पार्टीभित्र एकमत छैन । नेकपाभित्रै रुपन्देही र दाङका विषयमा मत विभाजन छ ।

प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक-एक सांसद छन् । विशेष समितिका एक सदस्यले सिफारिस गरिएका कुनै पनि स्थानका पक्षमा दुई तिहाइ मत नपुग्ने दावी गर्दै संविधान संशोधन गरेर टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने औंल्याए ।

२०७५ साउनमा गठन भएको समितिले दुई पटक म्याद थप गर्दै १६ महिना गुजारेर राजधानी र नाम सिफारिस गरी प्रतिवेदन तयार पारेको हो । पछिल्लोपटक थप गरिएको ६ महिनाको समयावधी सकिनु एक दिन अघि समितिले प्रतिवेदन तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment