Comments Add Comment

आन्तरिक विवाद मिलाउन कांग्रेसको वार्ता टोलीबीच छलफल

Photo Credit : यूपी लामिछाने

३० मंसिर, काठमाडौं । आन्तरिक समस्या समाधानका लागि नेपाली कांग्रेसले गठन गरेको वार्ता टोलीका सदस्यहरुबीच छलफल भएको छ । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा कांग्रेस नेताहरुबीच सोमबार बिहान छलफल भएको हो ।

छलफलमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्र प्रसाद बडु सहभागी थिए ।

छलफल सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन् । अब निधीले सभापति शेरबहादुर देउवासँग र सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेर निष्कर्षमा पुग्ने तयारी छ । त्यसका लागि दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा छन् ।

महाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व चयन, विभागहरु गठनलगायतका विषयमा देउवा र पौडेल पक्षबीच विवाद छ । यी विवाद चर्किएपछि २६ मंसिरमा पौडेल र सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए ।

सभापति देउवाको चार वर्षे कार्यकाल पूरा हुन तीन महिना मात्र बाँकी रहेको बेला सभापति देउवाले महाधिवेशनको तालिका बनाउन चासो नदिएर उल्टै विभागहरु थप्ने लगायतका विवादास्पद प्रस्ताव ल्याएको भन्दै पौडेल र सिटौला पक्षका नेताहरु रुष्ट छन् ।

विवाद समाधानका लागि वार्ता गर्न देउवा पक्षले निधिलाई र पौडेल पक्षले सिंहलाई जिम्मा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment