Comments Add Comment

जो सिन्धुपाल्चोक दुर्घटनामा भाग्यले बाँचिन्

२९ मंसिर, काठमाडौं । मृत्युको मुखबाट बाँचेर फर्किँदा खुशी हुने कि छिरछिमेक गुमाउँदाको पीडामा दुःखी हुने ? भक्तपुरको जगातीस्थित आदर्श टोलकी निर्मला श्रेष्ठसँग जवाफ छैन ।

शनिबार बिहानसँगै दोलखाको कालिञ्चोक घुम्न गएका १५ जनाले ज्यान गुमाएको सम्झिँदा उनको आङ सिरिङ हुन्छ, शरीर काप्छ । ‘म अभागीलाई भगवानले बचाए’, ह्याम्स हस्पिटलमा भेटिएकी उनले अनलाइनखबरसँग भनिन् ।

आइतबार सिन्धुपाल्चोकको सुनकोशी–७, छ किलोमा दुर्घटना भएको बसमा चढेर उनी कालिञ्चोक गएकी थिइन् । मुढेसम्म पनि त्यसमै आइन् । तर, त्यहाँबाट गाडी परिवर्तन गरेर आउँदा आफू दुर्घटनाबाट जोगिएको उनले सुनाइन् ।

दिनभरिसँगै हिउँ खेलेर आएको स्मरण गर्दै उनले थपिन्, ‘बिहान एक्कासी नराम्रो खबर सुन्नुपर्‍यो ।’

गाउँका अधिकांश दुर्घटनामा

गाउँका एक जना व्यक्तिले दोलखामा रहेको कालिञ्चोक मन्दिरको दर्शन गर्न जाने योजना बनाएका थिए । निर्मलाका अनुसार हरेक व्यक्तिबाट एक/एक हजार रुपैयाँ उठाएर बा ४ ख ४४६८ नम्बरको बस रिजर्भ गरिएको थियो ।

अर्को सानो गाडी पनि लगिएको थियो । शनिबार बिहानै हिँडेका उनीहरु मन्दिर पुग्न ढिलो भयो । मन्दिरबाट ४ बजे पैदल फर्किएको भए पनि कुरी बजार आइपुग्दा साढे ७ भइसकेको थियो । उनका अनुसार गाडी मुढेसम्म आइपुगेपछि अधिकांशले राति नजान सुझाए । दुर्घटना हुनसक्ने उनीहरुले बताएका थिए ।

‘मेरो चाहिँ आइतबार बिहानै ओलढुंगाको एउटा स्कुलका लागि कम्प्युटर, सीसी टीभी पठाउनुपर्ने थियो’, उनले भनिन्, ‘त्यसैले म चाहिँ मुढेमा बास बस्न नसक्ने बताएको थिएँ ।’

उनी बससँगै लगिएको अर्को गाडीमा दुई छोरीसहित आइन् ।

आइतबार बिहान ७/८ बजेतिर एक्कासी गाडी रिजर्भ गर्ने व्यक्तिको नम्बरबाट फोन आयो । ‘भाइ, कहाँ आइपुग्नुभयो ?’, निर्मलाले फोन उठाउे वित्तिकै सोधिन् ।
तर, फोनमा परिचित स्वर थिएन ।

उनले ‘को बोल्नुभएको’ भनेर फेरि सोधिन् । जवाफमा नेपाल प्रहरीको अधिकृत भएको बताइयो । त्यसपछि बल्ल उनले कालिञ्चोक गएको गाडी दुर्घटनामा परेको थाहा पाइन् । ‘सुनेर म त एकदम आत्तिएँ । केही बोल्नै सकिनँ’, उनले थपिन्, ‘पत्याउनै सकेको थिइनँ । छोरीलाई मामालाई फोन गर्न भनेँ । त्यहाँ पनि प्रहरीले नै उठायो । अनि, बल्ल दुर्घटनामा परेको यकीन भयो ।’

त्यसपछि बल्ल अस्पताल आएको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment