Comments Add Comment

पर्साको पोखरीयामा एकै रात आठ ठाउँमा आगलागी

१ पुस, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा सोमबार राति वडा नं ४ र ५ का ८ ठाउँमा आगलागी भएको छ । आश्चर्यजनक रुपमा एकै पटक भएको आगलागीबाट स्थानीय वासिन्दा आतंकित भएका छन् ।

राति करिब ९ बजेदेखि पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ को विभिन्न स्थानमा आगलागीका घटना भए । स्थानीयले ११ ठाउँमा आगलागी भएको दावी गरे पनि प्रहरीले ८ ठाउँमा आगलागी भएको पुष्टि गरेको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

सडक छेउमा राखिएको ४ वटा परालको कुन्यु, साधु बस्नेसहित दुईवटा छाप्रो, भरत सिंहको छाप्रो र प्रेम रामको घुम्ती पसल गरी ८ ठाउँमा आगलागी भएको थियो ।
पोखरीया नगरपालिका, वीरगञ्ज महानगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरी मिलेर आगलागी मध्यरातमा नियन्त्रणमा लिएका थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले आगलागीबाट १ देखि डेढ लाखसम्म क्षति भएको अनुमान गरिएको बताए । सडक छेउमा किसानले पराल थुपारेर राखेका छन्, ४ ठाउँमा त्यसैमा आगजनी गरिएको छ । २ वटा छाप्रो, एउटा फुसको घर जलेको हो । त्यसमा खासै क्षति भएको छैन । बढी क्षति पान पसलमा भएको प्रहरी निरीक्षक सिंहले बताए । पसलमा किराना समान, फ्रिज, गुट्खालगायत रहेको दावी सञ्चालकले गरेका छन् ।

उनले आगलागीको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान भइरहेको बताए । ‘स्थानीयले राति मोटरसाइकल गुडेको आवाज सुनेको बताएका छन् । उछृङ्खल व्यक्तिले आगो लगाउँदै हिँडेको पनि हुन सक्छ, पहिला आगो नियन्त्रणमा लिनु जरुरी थियो, राति नै नियन्त्रणमा लिन सफल भयौं । अब हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियारले रात दौडधुपमै बितेको बताए । ‘राति ९ बजेतिर एक ठाउँबाट आगलागीको घटनाको जानकारी आयो, घटनास्थलमा पुगेर बुझ्दै गर्दा अर्को अर्को ठाँउमा समेत आगो लाग्यो भन्ने खबर आयो’ उनले भने ‘२ सय, ३ सय ५ सय मिटरको फरकमा आश्चर्यजनक ढंगले आगलागी भएको छ ।गाउँबासी त्रासमा छन् ।’

आगलागीपछि गाउँबासी रातभर जाग्राम बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment