 
																			३ पुस, बुटवल । रूपन्देहीको भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सडकका निर्माणाधीन दुई पुल अलपत्र छाडेपछि पप्पु कन्स्ट्रक्सनको ठेक्का रद्द गरिएको छ ।
हुलाकी राजमार्गअन्तर्गतको रूपन्देहीको तिनाउ र डण्डा नदीको पुल निर्माण ठेक्का पप्पुले पाएको थियो । कबोलअनुसार पुल निर्माण नगरी अलपत्र पारेपछि पप्पुलाई दिइएको दुवै पुलको ठेक्का रद्द गरिएको हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुका योजना प्रमुख ईश्वरमान रिजालले बताए ।
हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुका अनुसार, यसलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौं पठाइसकिएको छ ।
‘काम सक्न पटकपटक ताकेता गर्दा पनि काम अघि नबढेपछि पप्पुको ठेक्का रद्द गरेका छौं’, कार्यालयका प्रमुख रिजालले भने, ‘यसलाई कालोसूचीमा राख्नसमेत सिफारिस गरेर पठाएका छौं ।’
५५ प्रतिशत काम छाडेर फरार
यी पुल लुम्बिनी आवतजावतका लागि महत्त्वपूर्ण छन् । पुल निर्माण नहुँदा त्यसतर्फको आवतजावतमा यात्रुहरूले हैरानी खेप्दै आइरहेका छन् ।
ती दुई पुलको जम्मा ४५ प्रतिशत मात्र काम भएको छ । तिनाउ नदीको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैयाँको ठेक्का सम्झौता थियो । त्यसमध्ये २ करोड ९७ लाख ४४ हजार ७ सय ७६ रुपैयाँ भुक्तानी लिइसकेको छ ।
डण्डा नदीमाथिको पुल निर्माणको ठेक्का ५ करोड, ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा भएको थियो । उक्त ठेक्का रकममध्ये कम्पनीले १ करोड ८५ लाख ९६ हजार ३ सय ९७ रुपैया लिइसकेको छ ।
कार्यालयका इन्जिनियर वीरेन्द्रप्रकाश तेलीले कम्पनीबाट बाँकी बक्यौता रकम असुल गर्न लागतको तयारी भइरहेको बताए ।
पप्पु कन्ट्रक्सन र बाग्मती निर्माण कम्पनीले यी दुवै पुल दुई वर्षभित्र सक्ने भन्दै ०७१ असार २५ मा ठेक्का सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार ०७३ असार २४ गते काम सक्नुपर्ने भए पनि काम नसकिएपछि दुई वर्ष म्याद थप गरी ०७५ असार २३ गतेसम्म सारिएको थियो । तर अहिलेसम्म दायाँ–बायाँ पिल्लरमात्र गाडिएको छ ।
तिनाउ पुलको चार वटा स्पान पिल्लरमाथि ढलान मात्र भएको छ । दुई वटा बनाउन बाँकी छ । अबुटमेन्ट र सुपर अबुटमेन्ट पनि बनाउन बाँकी छाडेको छ । त्यस्तै डण्डा खोलाको २ वटा अबुटमेन्ट बनाउन बाँकी छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यस क्षेत्रमा रहेका सडक र पुल निर्माणको अवस्थाको अवलोकन गर्दै समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताएका थिए ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुल निर्माण वा त्यसको विकल्पको प्रक्रिया थाल्न हुलाकी सडक कार्यालयलाई निर्देशन दिएका थिए ।
प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ भने संघीय सरकारले भिजिट नेपाल २०२० मनाउने अन्तिम तयारी गरिरहेको छ ।
धूलो सडक र साँघुरा पुलका कारण लुम्बिनी आउन पर्यटकहरूलाई सहज बनाउन बेलिब्रिज पनि बनाउने तयारी गरिएको छ ।
भ्रमण वर्षमा लुम्बिनी पुग्न कठिन भएपछि यी पुलको विषयमा संघीय तथा प्रदेश सरकारले चासो दिएका छन् ।
भैरहवादेखि १५–२० मिनेटमा पुग्नुपर्ने लुम्बिनी अहिले सडक सहज नहुँदा १ घण्टा भन्दा धेरै समय लाग्ने गरेको छ ।
सडक निर्माणको कामले तीव्र्रता पाउँदा भ्रमण वर्ष सफल बनाउन सघाउ पुग्ने अनुमान गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4