Comments Add Comment

बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा पुगे राज्यमन्त्री मानन्धर

३ पुस, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् ।

१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा बिहीबार मन्त्रालयका सचिवसहितको अधिकारीहरुको टोली लिएर पुगेका मन्त्री मानन्धरले काठमाडौंको फोहर व्यवस्थापनको लाइफलाइनका रुपमा रहेको आयोजनामा ढिलाइ गरे कारबाही गर्ने चेतावनी समेत दिए ।

आयोजनालाई आफूले नजिकबाट नियालीरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रुपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने बताए । आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गर्ने दाबी गरेका मन्त्री मानन्धरले यसलाई नमूना आयोजनाको रुपमा सम्पन्न गर्ने दाबी समेत गरे । मन्त्री मानन्धरले सरकारी निकायबीच समन्वय हुन नसके सिधै आफूलाई रिपोर्ट गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभए संलग्न सबैलाई कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री मानन्धरले स्थानीयलाई समेत लाभ हुनेगरी आयोजना तयार भएको भन्दै स्थानीयले मन दुखाउनु पर्ने कुनै कारण नभएको बताए । मन्त्री मानन्धरले यो आयोजना देशकै नमूना आयोजनाका रुपमा विकास गर्नका लागि नविनतम प्रविधिको प्रयोग हुने बताए ।

देशमा स्थिर सरकार भएकाले विकास निर्माणका कामले गति लिने बताउँदै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको शहरी सुन्दरता कायम गर्नका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री मानन्धरले देशका मुख्य सहरहरुलाई फोहर र धुलोमुक्त बनाउन सरकारले कार्ययोजना बनाइरहेकाले केही समयमै परिवर्तन देखिने बताए ।

उक्त परियोजना शहरी विकास मन्त्रालय मातहतमा आएपछि निर्माणले गति लिएको छ । तर पुस १ बाट फोहर फाल्ने लक्ष्य पूरा नभएपछि मन्त्री मानन्धर आफैं फिल्डमा पुगेका हुन् । अहिलेकै अवस्थामा निर्माण कार्यले तीब्रता पाएमा अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुने विश्वास गरिएको छ । गत बैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइडको धेरै काम अघि बढेको छ ।

कार्यालय प्रयोजनका लागि भवन निर्माण देखि फोहोर फाल्ने मुख्य स्थानमा फाउण्डेसनको काम अघि बढेको छ । मुख्य स्थानलाई दुई सेलमा विभाजन गरी कम्तीमा एक सेलमा छिट्टै फोहर फाल्न मिल्ने बनाउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्यम मैनालीले बताए ।

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइड निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment