+
+
Shares

“सुन्दर नेपाल खुसी नेपाली” प्रतियोगितामा मिथुन कुँवरले खिचेको फोटोे उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १९:०३

६ पुस, काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा पाल्पामा खिचिएको तस्विर प्रथम भएको छ ।

पाल्पाका फोटोग्राफर मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्विर प्रथम पुरस्कार जित्न सफल भएको हो ।

यसैगरी फोटोग्राफर प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्विरले दोस्रो स्थान हासिल गर्दा दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्विरले तेस्रो स्थान प्राप्त गरेको छ । स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्विरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नेपाली कलावृत्तका विविध कलाआयाम, कला क्षेत्रको विकास र उत्थानमा निरन्तर रचनात्मक काम गर्दै आएको छ । सोही क्रममा “कला फोटोग्राफी”को विशिष्टीकरणका लागि प्रतिष्ठानले “सुन्दर नेपाल खुसी नेपाली” शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए ।

प्रतियोगिताका प्रथम फोटोग्राफरले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकारसहित सहभागी निर्णायक मण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरु छानेको हो ।

वरिष्ठ फोटोग्राफर अशेष राजवंशीले नेपालमा फोटोग्राफी संस्कृतिको विकास हुँदै गएको बताए ।  फोटो खिच्ने/हेर्ने तरिका र देखाउन खोजेको कुरा स्पष्ट पार्न तस्विर नै उत्तम माध्यम भएको उनले बताए ।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी यही २०७७ पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ । यसै कार्यक्रममा प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण पनि गरिनेछ । फोटो प्रदर्शनी २०७७ पौष १७ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?