Comments Add Comment

वीरगञ्जमा भेटियो नक्कली घिउ कारखाना, ३ पक्राउ

७ पुस, वीरगञ्ज । रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग वीरगञ्जमा फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको प्रहरीले भेटेको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले रसायन प्रयोग गरी घिउ उत्पादन गरेको भेटेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर जानकारी दिए । घिउमा कुन रसायन प्रयोग हुँदै आएको थियो भन्ने खुलेको छैन ।

एसपी राठौरका अनुसार, त्यसरी उत्पादित घिउमा पूजा, दुर्गा र गोकुल शुद्ध घिउको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ ।

‘नक्कली घिउ उत्पादन गर्दै आएको सूचनापछि त्यहाँ पुग्दा रसायन प्रयोग गरेर घिउ बनाउने गरेको पाइयो’, एसपी राठौरले भने, ‘नक्कली घिउमा पूजा, दूर्गा र गोकुल शुद्ध घिउको स्टिकर लगाएर बजार पठाउने गरिएको रहेछ ।’

प्रहरीले यसमा संलग्न तीन जनालाई उद्योगबाटै नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने राम विलास यादवलाई प्रहरीले पक्रेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

नक्कली घिउ बनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घिउ र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घिउ पनि प्रहरीले बरामद गरेको छ । नक्कली घिउ बनाउन प्रयोग गरिँदै आएको भाँडाकुँडा, रसायन र लेबलिङका लागि राखिएका स्टिकर पनि प्रहरीले बरामद गरेको एसपी राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment