Comments Add Comment

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि तेस्रो चरणको खेल हुँदैछन् ।आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार आज दुई खेल हुँदैछन् ।

अहिले मध्याह्न १२ बजे हुने पहिलो खेलमा मछिन्द्र र फ्रेण्ड्स क्लब भिड्ने छन् भने ३ बजे च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

आज कुनै एक खेलाडीले गोल गरेमा त्यो नेपालको लिगसँगै खेलाडीका निम्ति विशेष दिन बन्नेछ । ती खेलाडी हुन् सन्तोष साहुखला । उनले च्यासल युथ क्लबबाट लिग खेलिरहेका छन् । उक्त खेलमा सन्तोष एक गोल गरेमा उनी ए डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । सन्तोषले यस सिजन ३ गोल गर्दै लिगमा गोल संख्या ९९ पुर्याएका छन् ।

सन्तोषको कप्तानीमा रहेको च्यासलले यस सिजनमा राम्रो सुरुवात गरेको छ । पहिलो खेलमै गत सिजनको उपविजेता संकटा क्लबलाई २–० ले पराजित गरेको च्यासल दोस्रो खेलमा मछिन्द्र क्लबसंग १–१ को बराबरीमा रोकिएको थियो । दुवै खेलमा च्यासलका लागि सन्तोष साउखलाले नै गोल गरेका थिए । तेस्रो खेलमा पनि सन्तोषले त्यो लयलाई निरन्तरता दिए त्यो नयाँ कीर्तिमान बन्नेछ ।

यस सिजनमा स्टार खेलाडी भित्र्याएको मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा च्यासलसँग बराबरी खेलेको थियो । उता फ्रेण्ड्स यस सिजनमा जितविहीन छ । पहिलो खेलमा आर्मीसँग २–१ ले हारेको फ्रेण्ड्स दोस्रो खेलमा ब्रिगेडसँग २–० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment