Comments Add Comment

यूरो ६ मापदण्डको पेट्रोल प्रयोगमा ल्याउन अध्ययन सुरु

९ पुस, काठमाडौं । नेपाल आयल निगमले उच्च गुणस्तरको यूरो–६ पेट्रोल प्रयोगमा ल्याउन डिपोहरुमा अध्ययन सुरु गरेको छ । पहिलो चरणमा निगमको थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतीको लागि काम सुरु गरिएको निगमले जनाएको छ ।

निगमसँगको सहकार्यमा भारतीय आयल निगमको विज्ञ टोलीले दुई डिपोको स्तरोन्नतीका लागि अध्ययन थालेको निगमका निर्देशक एवं इन्जिनियरिङ विभाग प्रमुख पूर्णप्रसाद रिजालले बताए । रिजालका अनुसार हाल भइरहेको डिपोका भण्डारण ट्याङ्क तथा पेट्रोल बोक्ने ट्याङ्करको सफाइ र डिपोमा अर्थिङको कामबारे भारतीय टोलीले अध्ययन गरिरहेको छ ।

हाल प्रयोग भइरहेको यूरो–४ मापदण्डको पेट्रोलभन्दा यूरो–६ को पेट्रोल बढी संवेदनशील हुने र चट्याङका दृष्टिले जोखिमपूर्ण हुने भएकाले सबै डिपोको अर्थिङ फेर्नु पर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । कम गुणस्तरको तेल बोकेका ट्याङ्कर र भण्डार गरिएको ट्याङ्क सफाइ नियमित काम भए पनि अर्थिङ गर्न भने निगमले लगानी गर्नुपर्ने निर्देशक रिजाल बताउँछन् ।

‘काम प्रारम्भिक चरणमै रहेकाले स्तरोन्नतीका लागि कति खर्च लाग्छ भन्ने यकिन भइसकेको छैन,’ निर्देशक रिजालले भने । हाल प्रयोगमा रहेकोमध्ये अमलेखगन्ज डिपो यूरो–६ मापदण्डको तेल भण्डारणका लागि तत्काल सामान्य सम्भारपछि प्रयोग गर्न सकिने अवस्थाको छ । यसबाहेक निगमका सबै डिपोहरुको स्तरोन्नती गर्नुपर्नेछ ।

अप्रिलभरिमा यूरो–६ पूर्ण कार्यान्वयन

उच्च गुणस्तरको पेट्रोलले गाडीको ‘इफिसियन्सी’ बढाउने र वातावरण प्रदुषणसमेत कम हुने भएकाले आगामी अप्रिलभरीमा निगमले यूरो–६ मापदण्ड पूर्ण कार्यान्वनयन गर्ने निगमले जनाएको छ । यसका लागि डेटलाइन तोकेर काम अगाडि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

यूरो–६ मापदण्डको पेट्रोलमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ । अहिले बिक्री भइरहेको पेट्रोलमा ५० पिपिएम सल्फर मिसिएको छ । हाल प्रयोग गरिरहेको भन्दा गुणस्तरीय प्रसोधनयुक्त हुने भएकाले यूरो–६ मापदण्डको तेल अलि महँगो हुनेछ । यूरो–६ को तेल प्रयोग गर्न सवारी साधनको मापदण्ड भने फेर्न नपर्ने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment