Comments Add Comment

काठमाडौंबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

१० पुस, काठमाडौं । काठमाडौंमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ ।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको हो ।  पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १० बजेर १ मिनेटमा मध्य हुने ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ बजेर ३८ मिनेटमा सुरु भई ११ बजेर १९ मिनेटमा सकिनेछ भने पूर्वको झापामा भने ८ बजेर ४८ मिनेटमा सुरु भई ११ बजेर २७ मिनेटमा सकिनेछ ।

ग्रहण अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्ने व्यवस्था मिलाएको छ ।

समितिले कीर्तिपुरस्थित कार्यायलमा अवलोकनको व्यवस्था मिलाएको हो । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले आज लाग्ने खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन गर्न चाहनेका लागि व्यवस्था मिलाइएको बताए ।

शर्माका अनुसार, विशेष प्रकारको टेलिस्कोपबाट इच्छुक सर्वसाधारणले ग्रहण अवलोकन गर्नसक्नेछन् । अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललगायतलाई आमन्त्रण गरिएको उनले जानकारी दिए ।

शर्माका अनुसार, यसरी ग्रहण अवलोकन गर्दा सर्वसाधारणलाई कुनै शुल्क लाग्दैन । वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भावका लागि यसरी ग्रहण अवलोकन गराउन लागिएको उनको भनाइ छ ।

वैज्ञानिकहरूले आँखामा क्षति पुग्ने भन्दै ग्रहणलाई नांगो आँखाले नहेर्न सुझाएका छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment