Comments Add Comment

भैरहवामा फुड फेस्टिबलको तयारी पूरा,  ४० स्टल रहने

१३ पुस, बुटवल । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा रुपन्देहीको भैरहवामा आयोजना हुने फुड फेस्टिबलको तयारी पूरा भएको छ ।

सिद्धार्थ होटल एसोसिएशन (सान)ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी पूरा भएको जनाएको हो ।

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना हुने यस कार्यक्रमले स्थलमार्ग मार्फत यस नाका भएर आउने विदेशी पर्यटकको संख्यामा वृद्धि हुने संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सीपी)ले बताए ।

सडक खाना महोत्सवमा स्थानीयबासिन्दा एवं पर्यटकहरु समेत गरी २० हजार बढीको सहभागिता हुने अपेक्षा आयोजकको छ ।

भ्रमण वर्षको अवसरमा आउने पर्यटकलाई लक्षित गर्दै यस क्षेत्रमा सञ्चालित होटलहरुले विभिन्न प्रकारका खानाका परिकार तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सानका महासचिव रवीन्द्र शर्मा घिमिरेले बताए । फुड फेस्टिबलमा विभिन्न ४० स्टलहरु हुनेछन् ।

फुड फेस्टिबल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित आँखा अस्पताल लाइन(सिद्धार्थ रंगशाला अगाडि)को भित्रि बाटोमा बेलुका ५ बजेदेखि राति १२ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । सांस्कृतिक कार्यक्रममा जीटीभीबाट प्रशारण हुने सारेगामाका चर्चित कलाकार आयुश केसी र प्रितम आचार्य सहभागी हुने आयोजकको भनाइ छ ।

फुड फेस्टिबलको मुख्य प्रायोजकको रुपमा द पीक बोधी रेडशन होटल तथा मुख्य सहयोगी संस्था एबं संरक्षक होटल संघ नेपाल (हान) रहेको छ ।

सानद्वारा पर्यटकलाई छुटको घोषणा

सिद्धार्थ होटल एसोसियशन सानले आफू अन्तर्गत रहेका भैरहवा, लुम्बिनी र तिलोत्तमा क्षेत्रका होटलहरुमा नेपाल भ्रमण वर्ष २०२० अवधिभर होटलमा बास बस्न आउने अतिथीहरुका लागि विशेष छुटको घोषणा गरेको छ ।

सानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठका अनुसार पर्यटकलाई आवासमा ३० प्रतिशत र खाद्यबस्तु(फुड)मा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्वदेशी तथा विदेशी सबै पर्यटकलाई छुटको व्यवस्था गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment