३१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि काठमाडौं विश्वविद्यालयले ८५ लाख सहयोग रकम उपलब्ध गराएको छ । विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको हो ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम काठमाडौं विश्वविद्यालयको तर्फबाट एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
रकम हस्तान्तरण गर्दै लामाले विपद्का कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुन:स्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले कठिन परिस्थितिमा पीडित नागरिकसँग काठमाडौं विश्वविद्यालयको ऐक्यबद्धता रहेको उल्लेख गर्दै मानवीय सहयोगलाई विश्वविद्यालयले आफ्नो सामाजिक दायित्वका रूपमा लिएको बताए ।
प्रतिक्रिया 4