Comments Add Comment
सुदूरपश्चिममा भ्रमण वर्षको तयारी :

यस्ता छन् सुदूरपश्चिमका ‘ब्रान्ड’ र ‘प्याकेज’

होटेल व्यवसायी उत्साहित, होमस्टेमा पनि चहल–पहल

१४ पुस, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्षको तीव्र तयारी थालिएको छ । भ्रमण वर्षको पूर्व सन्ध्यामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटनसम्वद्ध निकायहरू प्रचार–प्रसारमा केन्द्रित छन् ।

प्रदेशका सबै जिल्लामा रहेका पर्यटकीय क्षेत्रसम्म पर्यटकलाई पुर्‍याउन प्रदेश सरकार, स्थानीय तहको सरकार, होमस्टे, होटेल व्यवसायी, टुर एन्ड ट्राभल्स लगायतका संस्थाहरु लागिपरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि पर्यटन प्रवर्द्धनमा तीव्र तयारी गरिरहेको जनाएको छ । सुदूरपश्चिममा भ्रमणका लागि प्रदेश सरकारले विभिन्न देशबाट पर्यटकहरूलाई आमन्त्रण गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले बताइन् । ‘बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि प्रदेश सरकारले आन्तरिक रूपमा तयारी गरिरहेको छ’, उनले भनिन् ।

बुधवार धनगढीमा भव्य कार्यक्रमका बीच भ्रमण वर्षको उद्घाटन गर्ने प्रदेश सरकारको योजना छ ।

सुदूरपश्चिम प्रदेशका सीमानाकाहरूमा स्वागत गेट बनाउने काम अन्तिम चरणमा पुगेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन शाखाका प्रमुख भोज राज पाठकले बताए ।

‘नेपाल भारत सीमा रहेको कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाका तथा बैतडीको झुलाघाछमा स्वागत गेट तयार गरिएको छ’ उनले भने ‘विमानस्थल र सुदुरपश्चिम प्रवेशद्वार रहेको चिसापानीमा पनि गेट तयार गरिएको छ ।’

पहिलो दिन सुदूरपश्चिम प्रदेश आउने भारतीय लगायत तेस्रो मुलुकका पर्यटकहरूलाई सीमा क्षेत्रमै सम्मान गरिने जनाइएको छ । कैलाली र कञ्चनपुरमा यसको तीव्र तयारी भइरहेको छ । स्थानीय सरकार,उद्योग बाणिन्य संघ, होटेल व्यवसायी संघ लगायतले सीमा क्षेत्रका पर्यटकको स्वागत र सम्मान गर्ने छन् ।

‘हामीले भारतीय लगायत तेस्रो मुलुकका पर्यटकहरूलाई त्यो दिन बग्गीमा घुमाउनेछौँ’ होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले भने, ‘त्यो दिन शुक्लाफाटा घुमाउने योजना पनि बनाएका छौँ ।’

प्रदेशका सबै जिल्लामा रहेका पर्यटकीय क्षेत्रसम्म पर्यटकलाई पुर्‍याउन प्रदेश सरकार, स्थानीय तहको सरकार, होमस्टे, होटेल व्यवसायी, टुर एन्ड ट्राभल्स लगायतका संस्थाहरु लागिपरेका छन्

प्रदेश सरकारले उक्त दिन भव्य उदघाटनको तयारी गरिरहेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति देखाइने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन शाखाका प्रमुख भोज राज पाठकले बताए ।

‘सुदूरपश्चिम प्रदेशमा सबै जिल्लाको भेषभुष देखिने गरी र्‍यालीको तयारी भइरहेको छ’ उनले भने, ‘धनगढीको तीन स्थानबाट कार्यक्रम स्थानमा र्‍याली आउने छ ।’

भव्य समारोहका बिचमा भ्रमण वर्षको उद्घाटनको तयारी भइरहेको उनले बताए ।

होटेल व्यवसायी उत्साहित

सरकारले घोषणा गरेको भ्रमण वर्षले होटेल व्यवसायी उत्साहित देखिएका छन् । आफूहरू पनि भ्रमणको तीव्र तयारीमा रहेको होटेल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष कलम बमले बताए ।

‘यो हाम्रा लागि सबैभन्दा ठूलो पर्व हो’ उनले भने, ‘हामीले पर्यटक भित्राउन पहल गर्ने र आएका पर्यटकहरूलाई राम्रो व्यवस्था गर्ने योजना बनाएका छौँ ।’

कैलाली जिल्ला भरिका होटेल सञ्चालकहरूलाई पर्यटकहरूको स्वागतमा र उनीहरूलाई सहजता सिर्जना गर्ने विषयमा छलफल भइरहेको उनले बताए । पर्यटकहरूलाई खाना र बस्नमा छुटको व्यवस्थासमेत भइरहेको उनले जनकारी दिए ।

बमले भने, ‘हामीले हाम्रा तर्फबाट विभिन्न छुटको योजना पनि ल्याएका छौँ । पर्यटकहरुलाई सहज हुने गरी हामी लागेका छौँ, हामी हाम्रो तर्फबाट पूर्ण तयार छौँ ।’

होटेल व्यवसायी महासंघबाटै समन्वय गरेर प्रदेशका सबै पर्यटकीय क्षेत्रमा पर्यटकहरूलाई सहज हुने गरी वातावरण सिर्जना गरिरहेको केन्द्रीय सदस्य भरत भट्टराईले बताए । ‘हाम्रो सुर्खेतको बैठकले पनि भ्रमण वर्षलाई सफल बनाउने भनिसकेको छ’ उनले भने ,‘ हाम्रो कर्म र धर्म त यही नै हो । पाहुनाको सत्कार गर्ने काम त हाम्रो दैनिकी हो, भ्रमण वर्षले थप उत्साहित बनाएको छ ।’

कैलालीमा होटेल व्यवसायीहरूले ठूलो लगानी गरेका छन् । पर्यटन विकास गर्ने उद्देश्यले तीनतारेदेखि मध्यम खाले होटेलसम्म सञ्चालन भइरहेका छन् । जिल्लामा होटेल व्यवसायमा हालसम्म करिब आठ अर्ब बढीको लगानी पुगेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष बमको भनाइ छ ।

जिल्लामा होटेलको संख्या करिब दुई हजार पुगिसकेको छ । संघमा आवद्ध मात्रै होटेल संख्या ७ सय रहेको अध्यक्ष बमले अनलाइनखबरलाई बताए ।

भ्रमण वर्षकै क्रममा होटेल व्यवसायी संघ कैलालीले आउँदो फेब्रुअरी महिनामा फुड फेस्टिभल आयोजना गर्दै छ । अध्यक्ष बमका अनुसार फुड फेस्टिभलमा थारु, राना थारु, पहाडी समुदायको खानाका परिकारहरु राखिने छन् । यो फेस्टिभलमा सहभागी हुन लागि देश विदेशका पर्यटकहरूलाई निम्ता गरिने उनले उल्लेख गरे । उनले भने, ‘स्वदेशी तथा विदेशी पर्यटकहरूलाई यहाँको परिकार र पहिरनका बारेमा बुझाउनुछ ।’

उता कञ्चनपुरका होटेल व्यवसायीहरू पनि उत्साहित छन् । भ्रमण वर्षको पूर्वसन्ध्यामै धेरै पर्यटकहरू सम्पर्कमा आउन थालिसकेको होटेल व्यवसायी संघका अध्यक्ष भण्डारीले बताए । ‘हामी निकै उत्साहित छौँ पहिलो दिन आउने पर्यटकलाई ठूलो सम्मान गर्ने र घुमाउने योजना छ’ उनले दोहोर्‍याए ।

कञ्चनपुरमा मात्रै डेढ अर्ब बढीको लगानी रहेको उनको भनाइ छ । कञ्चपुरमा चारतारे होटेलसम्म छन् ।

अधिकांश भारतीय पर्यटकहरू आउने अपेक्षा गरिएको सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्षको अवधिमा तेस्रो मुलुकका पर्यटकहरू पनि आउने अपेक्षा गरिएको छ ।्

यी हुन् प्रदेशका ‘ब्रान्ड’

सुदूरपश्चिम प्रदेशलाई सुन्दर पश्चिम प्रदेश पनि भन्ने गरिन्छ । यहाँ धार्मिक र संस्कृति पर्यटनको ठूलो सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशलाई सात बहिनी भगवती र पाँच शिव धामका रूपमा पनि चिन्ने गरिन्छ ।डोटीको शैलेश्वरी मन्दिर, बैतडीको त्रिपुरा सुन्दरी, निग्लाशैनी र मेलोली, डडेल्धुराको उग्रातारा, बझाङको सुर्मादेबी र बाजुराको बडिमालिकालाई सात बहिनी भगवतीको रुपा मान्ने गरिएको छ ।
दार्चुलाको मालिका अर्जुन, बैतडीको पातालभूमनेश्वरी, डडेल्धुराको परशुराम धाम, अछामको वैद्यनाथ धाम र कैलालीको गोदारी धामलाई पाँच शिव धाम मान्ने गरिएको छ।

धार्मिक पर्यटकहरू सात बहिनी भगवती र पाँच शिव धामको दर्शन गर्न आउने गरेका छन् ।

 सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेका खप्तड, रामाशोसन,अपी शैपाललगायतका गन्तव्यहरूले अझै पनि सुन्दरता अनुसारको पर्यटन पाउन सकेको छैन

डडेल्धुराका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेका उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ । उग्रतारा माताको दर्शन गरे दैवी प्रकोप नहुने, सुख प्राप्ति हुने, मनोकामना पूरा हुने जन विश्वास छ।

देह जातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्छन् ।

धार्मिकसँगै सुदूरपश्चिम प्रदेश पर्‍यापर्यटनका रूपमा पनि परिचित छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको खप्तड, रामाशोसन,अपि शैपाल लगायतका गन्तव्यहरूले अझै पनि सुन्दरता अनुसारको पर्यटन पाउन सकेको छैन ।

डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलका रूपमा रहेको खप्तड यहाँको सबै भन्दा परिचित पर्यटक गन्तव्य हो ।

वर्षको छ महिना हिउँ पर्ने खप्तड क्षेत्रलाई हिन्दुहरूको पवित्र तीर्थस्थल मानिन्छ । यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ । यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिव मन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू प्रख्यात छन् । समुद्र सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा रहेको खप्तडमा अहिले हिउँ परिरहेको छ । हिउँले ढाक्दा निकै मनमोहक देखिने खप्तडमा ठूलो लगानी भए पनि अझैसम्म प्रतिफल आउन सकेको छैन ।

डडेल्धुराकै ऐतिहासिक अमरगढी किल्ला पनि एक गन्तव्यका रूपमा विकास भइरहेको छ । गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको छ । यो डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–५ खलंगामा अवस्थित छ, ऐतिहासिक अमरगढी किल्ला ।

बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यो किल्ला कलात्मक देखिन्छ ।

पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना कुमाउ गढवालसम्म पुगेको थियो । ऐतिहासिक अमरगढी किल्ला पनि एउटा महत्त्वपूर्ण गन्तव्य हो ।

डडेल्धुराको अजयमेरुकोट गन्तव्यका रूपमा छ । १३ औं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि यसको निर्माण गरेको स्थानीय जानकारहरू बताउँछन् । वि.सं ११९१ मा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष तथा देवलसमेत जीर्ण अवस्थामा छन् । अमरसिंह थापाले निर्माण गरेको अमरगढी किल्लादेखि सात किलोमिटर पश्चिममा अवस्थित अजयमेरुकोटमा डोटेली राजाहरूले समेत चार दशकसम्म शासन गरेका थिए।

कैलालीमा होमस्टेसहित विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल, चिसापानी पुल, टीकापुर पार्क, देवहरिया उद्यान, कोइलही ताल, जाखौर ताल, खानीडाँडा, ऐतिहासिक महत्वको प्राचीन गर्भा दरबार लगायत पर्यटकीय क्षेत्रहरु छन् ।

यसैगरी, चराचुरुङ्गी अवलोकन गर्न रुचाउने पर्यटकका लागि घोडाघोडी सिमसार क्षेत्र, बसन्ता वन स्थित विभिन्न सिमसार क्षेत्र चरा अवलोकनका लागि प्रख्यात छ । कञ्चनपुरको शुक्लाफाटा, शिबलिंगा, भम्केनी धाम झिलमिला ताला, बेतकोट ताला दोधारा चाँदनी पुल प्रसिद्ध गन्तव्य हुन् ।

पर्यटकका लागि ‘प्याकेज’

सरकारीबाहेकका अन्य निकायहरूलाई पनि भ्रमणको चटारो छ । पर्यटनसँग सम्बन्धित नेपाल टुर एण्ट ट्राभल्स एजेण्ड ( नाटा) सुदूरपश्चिम प्रदेशका अध्यक्ष माया प्रकाश भट्टले पर्यटकलाई कहाँ कहाँ लैजान भन्ने विषयमा ‘प्याकेज’ तयार गरिसकेको बताए ।

एक दिन, दुई दिन वा त्यो भन्दा बढी पर्यटकको माग अनुसार सुदूरपश्चिम प्रदेशको भ्रमण गराउने विषयमा ट्राभल एजेन्सीहरूसँग छलफल भइसकेको उनले बताए ।

‘गन्तव्य पहिचानसहितको सूचि नाटाले तयार गरिसकेको छ’ उनले भने, ‘त्यसलाई बेच्नका लागि ट्राभल एजेन्सीहरू लागि रहेका छन् ।’

धनगढी उप महानगरपालिका भित्रै भ्रमण गर्न चाहने पर्यटकहरूको लागि पनि एक दिनको प्याकेज तयार गरिसकेको उनले बताए । ‘चरा हेर्ने, एयरक्राप्ट म्युजियमको अवलोकन गर्ने, बनवदेवी, नैना देवी मन्दिरको दर्शन गर्ने, जोखर ताल हेर्ने र बेहेडाबाबा मन्दिर सम्म पुर्‍याउने एक दिनको प्याकेज छ’ उनले सुनाए ।

अर्काे एक दिनको प्याकेजमा धनगढीको सामान्य अवलोकन ,गोदावरी धाम, घोडाघोडी हेर्ने र चिसापानीमा खाना खाने त्यसपछि टीकापुर पुगेर फेरि धनगढी फर्किने एकदिनको प्याकेज रहेको अध्यक्ष भट्टले बताए ।

उनले भने, ‘टीकापुर रात बिताएर भोलिपल्ट डल्फिन क्षेत्र, टीकापुर पार्क, बनाना कटेज हेर्ने कोइलिहवा ताल कमल पोखरी ताल हेर्ने गरी दुई दिनको प्याकेज पनि तयार भएको छ ।’

कञ्चनपुर हेर्ने पनि प्याकेज तयार भएको छ । धनगढीबाट भम्केनीधाम, बेदकोट ताल हुँदै महेन्द्रनगर बस्ने अर्काे दिन शुक्लाफाटा निरीक्षण गरेर, दोधारा झोलुङ्गे पुल हेरेर फर्किने प्याकेज तयार गरेको उनले जानकारी दिए ।

पहाडी क्षेत्रका लागि पनि नटाले प्याकेज तयार गरेको छ । धनगढीबाट डोटीको बुडरमा रहेको छतिवन ताल र त्यही नजिकै रहेको झरनाको अवलोकन, डडेल्धुरामा घटाल, उग्रतारा, आलितार र पशुराम धामको अवलोकन, डोटीमा शैलेश्वरी र अछाममा वैद्यनाथ, रामारोशनसम्म पुग्ने प्याकेज बनेका छन् ।

‘अहिले नजिकसम्मका लागि डडेल्धुरा सम्मको प्याकेज सार्वजनिक गरेका छौँ’ अध्यक्ष भट्टले भने, ‘पर्यटकहरूको माग र समय हेरेर हामी दार्चुला सम्मको प्याकेज बनाउन सक्छौँ ।’

पर्यटकहरूको अवस्था अनुसार खर्च लाग्ने उनले बताए । ‘एक्लै जाँदा र समूहमा आएर जाँदा फरक पर्छ’ उनले भने, ‘तर, हामी निकै सहुलियतमा घुमाउने योजना बनाएका छौँ ।’ स्थानीय सरकारसँग पर्यटकहरूको सहजताका लागि वातावरण तयार गर्न पनि आफूहरुले पहल गरिरहेको उनले सुनाए ।

होमस्टेमा पनि चहल–पहल

कैलालीमा रहेका होम स्टेहरुमा पनि भ्रमण वर्षको चहल पहल सुरु भएको छ । आन्तरिक तथा बाह्यि पर्यटक तान्न उनीहरू पनि जुटिरहेका छन् । अन्य समयमा निकै न्यून मात्रामा पर्यटक पुग्ने भएकाले भ्रमण वर्षमा पर्यटकको संख्यामा वृद्धि हुने होम स्टे सञ्चालकहरुको भनाइ छ ।

‘भ्रमण वर्ष अवधिभरि हामीले कम्तिमा पनि चार सय विदेशी पर्यटक आफ्नो होमस्टेमा भित्र्याउने लक्ष्य राखेका छौँ’, थारु होमस्टे गाउँ भादा पर्यटन तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले अनलाइनखबरसँग भने, ‘त्यसका लागि तयारी गरिरहेका छौँ ।’

धनगढी उप महानगरपालिका–१६ मा रहेको थारु होमस्टे भादा प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १० किलोमिटर दुरीमा पर्छ । भादामा २० वटा घरमा होमस्टे सञ्चालनमा छन् ।
थारु संस्कृतिको अवलोकन र थारु खानाको परिकारसँग रमाउनका लागि भादामा पर्यटक पुग्ने गर्छन् । भ्रमण वर्षको सुरुवातसँगै भादा होमस्टेमा सांस्कृतिक महोत्सव पनि लगाउने तयारी भइरहेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका ४ रहेको माघी होम स्टेमा पनि भ्रमण वर्षको रौनक सुरु भएको छ । थारु परिकार खान र थारु संस्कृतिमा रमाउन पर्यटकहरू यहाँ आउने गरेको होम स्टे सञ्चालक कृष्ण चौधरीले बताए । घोडाघोडी ताल बाट करिब ५ किलोमिटरको दुरीमा रहेको माघी गाउँमा १५ वटा घरमा होम स्टे बनाइएको छ । ०७१ सालदेखि सञ्चालनमा आए पनि अझैसम्म अपेक्षाकृत ढङ्गले पर्यटक पुग्न सकेका छ्रैनन् । ‘पर्यटकहरू आइरहन्छन्’, उनले भने, ‘अब झन् धेरै पर्यटक आउने अपेक्षा छ ।’

माघी होम स्टेमा लोकल माछा, ढिक्री, अनदीको भात, घोंगी, मुसाको अचार लगायतका परिकार खान पर्यटकहरू आउने गरेका छन् । थारु नाच सखिया, हुर्दुंगा झम्रामा पनि पर्यटक रमाउँछन् ।

विभिन्न मुलुकबाट आउने पर्यटकहरूले थारु संस्कृति, नाचगान अवलोकनका लागि रुचाउने गरेकाले त्यसको तयारी गरिरहेको घोडाघोडी नगरपालिका–४ मा रहेको माघी गाउँ थारु होमस्टेका पूर्वअध्यक्ष शोभाराम चौधरी बताउँछन् ।

‘हामीकहाँ आउने पर्यटकले थारु संस्कृति, नाचगान र खानपान नै विशेष रुचाउने गरेका छन्’, उनले भने, ‘हामी त्यसकै तयारी गरिरहेका छौँ ।’ साथै, होमस्टेमा नयाँ घर निर्माणको कार्य पनि थालेको चौधरीले बताए ।

यसैगरी, कैलारी गाउँपालिकाको वडा नम्बर ७ स्थित छुट्की बसन्ता र ९ स्थित सामरचौरा गाउँमा पनि थारु होमस्टे सञ्चालनमा छ । होमस्टेको माध्यमबाट पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको थारु होमस्टे गाउँ भादा पर्यटन तथा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।

यस्तो छ स्थानीय तहको तयारी

भ्रमण वर्षमा पर्यटक भित्रयाउनका लागि प्रदेश सरकार र स्थानीय तहले पनि आ–आफ्नोतर्फबाट पहल थालेका छन् । ‘बुधवार हामीले चिसापानी सरसफाइ र त्यहाँ पुग्ने पर्यटकहरूलाई स्वागतको कार्यक्रम गर्ने छौँ’ लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँले भने, ‘हामीले वर्षभरि पर्यटक ल्याउने गरी कार्यक्रमको आयोजना गर्ने योजना तयार गरेका छौँ ।’

चिसापानीसँगै र्‍याप्टिङको ठुलो सम्भावना रहेको भन्दै नगरपालिकाले उपयुक्त समयमा र्‍याफ्टिङको व्यवस्था गर्ने पनि जनाएको छ । पर्यटन प्रवर्द्धनकै लागि भन्दै कर्णालीको किनारमा फुटबल प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको मेयर बजगाईँले बताए ।

घोडाघोडी नगरपालिकाले पनि भ्रमर्ण वर्षको अवसरमा विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ । विश्व रामसार सूचिमा रहेको घोडाघोडीमा पर्यटक ल्याउन तालको प्रचार प्रसार गर्ने, पर्यटकहरूलाई आवासमा सहजता सृजना गर्ने र अन्य स्थानीय तहसँग समन्वय भइरहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले बताए ।

‘भ्रमर्ण वर्ष हाम्रा लागि पनि एउटा अवसर हो’ उनले भने ‘हामी हाम्रो घोडाघोडी, नकरोड, चिडिया ताल माघी होमस्टे लगायतको क्षेत्रलाई प्रवद्र्धन गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment