Comments Add Comment

चक्रपथ विस्तार : महाराजगञ्ज चोकको जग्गा अधिग्रहण गरिने

१८ पुस, काठमाडौं । सरकारले चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको सडक सीमा ३१/३१ मीटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

यो सडकखण्ड विस्तारको तयारी हुँदै गर्दा सडक विभागलाई अहिले महाराजगञ्ज चोकका सडक सीमाभित्र पर्ने घर तथा संरचनाहरु टाउको दुखाइको विषय बनेको थियो । सडक विस्तारका लागि करिब ५० वटा निजी आवासीय तथा ब्यापारिक भवनहरु भत्काउनुपर्ने अवस्था छ ।

चक्रपथको २०७ मिटर लम्बाइमा सडकको मध्यभागबाट १५ मिटर मात्रै छाडेर बनेका घरहरु भत्काउनुपर्ने देखिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ‘यो ठाउँमा सडकको सीमा दायाँ-बायाँ १५/१५ मिटर मात्रै कायम गरिएको रहेछ, त्यसैले मुआब्जा वितरण नगरी यी घरहरु भत्काउन सकिने अवस्था छैन,’ उनले भने, ‘मुआब्जा दिन करिब २ अर्ब रुपैयाँ चाहिने भनिएको छ ।’

अहिलेसम्म भत्काउनुपर्ने घरको संख्या एकीन गरिएको छैन । अब सरकारले आवश्यक मुआब्जा दिने निर्णय गरेपछि यसबारे उपत्यका विकास प्राधिकरणले नापजाँच र अध्ययन गर्नेछ ।

चक्रपथ विस्तारको सुरु काम गर्नुअघि ‘साइट क्लियर’ लगायतका सबै पूर्वतयारी सकाउने योजनामा विभाग छ । त्यसअनुसार अहिले चक्रपथको सडकसीमा भित्रका रुखहरु काट्ने काम धमाधम भइरहेको छ

चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार हाल सडक विस्तारका लागि रुख काट्ने र पोल सार्ने काम भइरहेको छ ।

सर्वोच्च अदालतले २०७४ को असोजमा आवासको हकको ब्याख्या गर्दै सडक सीमाभित्र रहेका सर्वसाधारणको सम्पत्तिमा यत्तिकै डोजर चलाउन नमिल्ने फैसला गरेको थियो । फैसलाअनुसार सरकारले सडक विस्तार गर्न चाहे पहिले मुआब्जा बाँड्नुपर्छ । नागरिकलाई अर्को स्थानमा आवासको ग्यारेन्टी गर्नुपर्छ । फैसलाअनुसार सरकारले सडक विस्तारका लागि नापजाँच गर्न फिल्डमा जानुअघि नै मुआब्जा तोकिसक्नुपर्छ ।

फैसलामा सार्वजनिक सडक ऐनअनुसार ‘जग्गा प्राप्त गरेपछि मात्र सडक सीमा तोक्न’ भनिएको छ । सरोकारवालासँग वार्ता गरेर मुआब्जा विवाद मिलाउन सर्वोच्चले भनेको छ ।

चक्रपथ विस्तारको सुरु काम गर्नुअघि ‘साइट क्लियर’ लगायतका सबै पूर्वतयारी सकाउने योजनामा विभाग छ । त्यसअनुसार अहिले चक्रपथको सडकसीमा भित्रका रुखहरु काट्ने काम धमाधम भइरहेको छ । पोल सार्ने पनि काम अघि बढेको छ । रुख काट्ने र पोल सार्ने काम सकिएपछि चीनले सडकको डिजाइन बनाएर छलफल थाल्ने महानिर्देशक शर्माले बताए । डिजाइन स्वीकृत भएपछि चिनियाँ ठेकेदार कम्पनी फिल्डमा आउनेछ ।

यो परियोजनामा चीनले नै कम्पनी छनोट गरेर नेपाल पठाउँदैछ । हालसम्म चक्रपथको डिजाइन पनि नआइसकेको महानिर्देशक शर्माले बताए ।

यसअघि चीन सरकारले कलंकीदेखि महाराजगञ्जसम्म मात्रै सडक विस्तारको प्रस्ताव गरेको थियो । तर, नेपालले भने त्यसलाई चाबहिलको धोबीखोलासम्म -गोपीकृष्ण हल नजिकसम्म) लम्ब्याउन अनुरोध गरेको छ । अब धोबीखोलासम्मको चक्रपथको ११.६ किलोमिटर खण्ड विस्तारको काम हुने लगभग टुंगो लागेको आयोजनाले बताएको छ ।

विभागले तिलगंगादेखि धोबीखोलासम्मको धार्मिक तथा पुरातात्विक पशुपति क्षेत्रभित्र पर्ने चक्रपथको खण्ड कसरी विस्तार गर्ने भन्ने योजना बनाइसकेको छैन । तिलगंगादेखि कोटेश्वरसम्म विभाग आफैंले विस्तारको काम गर्न लागेको छ । सरकारले तिलगंगादेखि तीनकुनेसम्मको खण्ड आफैंले विस्तार गर्न योजना बनाएको छ । त्यसका लागि विभाग आफैंले डिजाइन गरिरहेको छ ।

हाल विस्तारको लागि पूर्वतयारी थालिएको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको डिजाइन भने चीनले नै गर्दैछ । यसअघि कलंकी-कोटेश्वर खण्डमा डिजाइनमा भएको त्रुटि यसमा नदोहोराउने विभागले बताउँदै आएको छ ।

विस्तारित चक्रपथ स्थानीय उपयोगमा लागि सहज नभएको भन्दै आलोचना भएपछि त्यसलाई सच्याउने योजना विभागले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment