Comments Add Comment

चिनी मिलमा वर्गसंघर्ष

जनप्रतिनिधि र प्रशासन बिकेको आरोप, मिलमा सुरक्षाकर्मी तैनाथ

१७ पुस, सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको नयाँरोड बजारबाट ३५ किलोमिटर दक्षिणतर्फ गोडैता नगरपालिका छ । नगरको वडा नम्बर ६ स्थित बगदहमा महालक्ष्मी चिनी उद्योग छ, जसका सञ्चालक हुन्- प्रदेश नं ५ का नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं उद्योगी वीरेन्द्र कनौडिया ।

उखुको पैसा माग गर्दै उखु किसान काठमाडौंसम्म पुगे । तर, कनौडिया भेटिएनन् । उद्योगी एवं सांसद कनौडिया एकाएक बिहीबार दिउँसो आफ्नो चिनी उद्योगमा झुल्किए ।

मिल मालिक आउँछन् र उखुको पैसा दिन्छन् भन्ने आशमा बसेका किसान कोही मेसिनमाथि बसेका थिए त कोही खुला मैदानमा । उनीहरुमा आशा र चिन्ता दुबै थियो ।

आशा यसकारण कि खेतको उखु बेच्ने समय भइसकेका बेलामा महालक्ष्मी चिनी उद्योग फेरि सञ्चालन हुने सम्पूर्ण तयारी भइरहेको थियो । चिन्ता यसकारण कि गत वर्षकै रकम नपाएकाले यो वर्ष पनि त्यसरी नै ठगिइने पो हो कि ?

महालक्ष्मी चिनी उद्योगको तयारी थियो, किसानलाई विगतमा जस्तै उधारो सहमतिमा ल्याउने र बिहीबारदेखि उखु क्रसिङ सुरु गर्ने । यसका लागि मेसिन ‘डोंगा’ को पूजा गर्ने तयारीसमेत चल्दै थियो ।

चिनी मिल सञ्चालन हुने जानकारी केही किसानलाई एसएमएसबाट समेत गराइएको रहेछ । त्यसैले क्रसिङका लागि उखुले भरिएका दर्जन बढी ट्याक्टर लाइनमा थिए ।

तर, किसानले पुरानो रकम नपाएसम्म चिनी मिल चल्न नदिने भन्दै नाराबाजी थाले । उनीहरुको एउटै आवाज आयो- ‘पहिने पेमेन्ट धरु, तब मिल सञ्चालन करु’ अर्थात पहिला पैसा देऊ, अनि मिल चलाऊ !

किसानका अनुसार उद्योगले गत वर्षको २१ करोड रुपैयाँ किसानहरुलाई तिर्न बाँकी छ । सो रकम नपाएसम्म उखु मिल चलाउन नदिने किसानहरुको अडानका सामू उद्योगी कनौडियाको केही लागेन ।

जनप्रतिनिधि र प्रशासन बिकेको आरोप

महालक्ष्मी चिनी उद्योगमा उद्योगी कनौडियासँगै प्रतिनिधिसभा सदस्य नागेन्द्र राय यादव, प्रदेशसभा सदस्य अशोक यादव, गोडैता नगरपालिकका नगर प्रमुख देवेन्द्र यादव, बलरा नगरपालिकाका नगरप्रमुख अभय सिंह पनि पुगेका थिए ।

भेलामा गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले किसानको भुक्तानी दिएर मिल सञ्चालन गर्नु भेलाको उद्देश्य भएको बताए । ‘चिनी मिल र किसानको सम्बन्ध नङ मासुको हुन्छ । चिनी मिल नभए किसानले उखु बेच्न पाउँदैनन्, किसान नभए उद्योगीले चिनी बनाउन पाउँदैन’ मेयरले भने, ‘समयमा भुक्तानी दिएको भए आज यसरी किसान भेला गर्नुपर्ने अवस्था आउने थिएन ।’

मोबाइल एसएमएसमा चलान पूर्जी पठाइएको भन्दै उनले असन्तुष्टि जनाए । उद्योग परिसरमै राखिएको भेलामा किसानहरुको तर्फबाट संघर्ष समिति सर्लाही क्षेत्र नं ४ का अध्यक्ष राम सोगारथ यादव, किसान मुकेश ठाकुर, मनोज सिंह लगायतले बोले । उनीहरुले किसानको बाँकी पैसा दिएर मात्रै मिल सञ्चालन गर्न आग्रह गरे ।

उनीहरुले जनप्रतिनिधि र किसान नेताले ३६ रुपैयाँ काट्ने र ४५ दिनमा रकम दिने गरी सहमति गरे पनि कार्यान्वयन नभएकाले त्यसलाई नमान्ने बताए । किसानलाई जानकारी नगराई मिल सञ्चालन गर्न खोजेकोमा असन्तुष्टि जनाएका उनीहरुले आन्दोलन गर्न परे पनि पछाडि नहट्ने चेतावनी दिए ।

उखु किसान संघर्ष समिति सर्लाही क्षेत्र नम्बर ४ का संयोजक रामसोगारथ यादवले पटक-पटक सहमति गर्दा पनि रकम नदिएकाले पुन : सहमतिको औचित्य नभएको बताए । ‘अब रकम दिए मात्रै उद्योग सञ्चालन गर्न दिन्छौं, अर्को विकल्प छैन’ उनले भने, ‘अब हामी आश्वासनमा रुमलिने छैनौं ।’

बगदह आसपासका गाउँबाट आएका किसानले उखुको रकम भुक्तानी हुन नसक्नुको कारण जनप्रतिनिधि र सुरक्षा अधिकारीहरु पनि भएको आरोप लगाए । जनप्रतिनिधि र किसान नेताले सरकारले तोकेको प्रतिक्विन्टल ५३६ रुपैयाँमा ३६ रुपैयाँ घटाएर उद्योगीसँग सहमति गरेर किसानलाई धोका दिएको मनोज सिंहले बताए ।

‘मेहनत गरेर उब्जाउने हामी, मनोमानी गर्दै मूल्य अरुले तोक्ने ?’ सिंहले भने, ‘४५ दिनमा रकम दिलाइदिने भन्दै ३६ रुपैयाँ घटाइदिए पनि अहिलेसम्म रकम पाउन सकेका छैनौं, त्यसको जिम्मेवारी उनीहरुले लिनुपर्दैन ?’

उखु किसानहरु काठमाडौं गएर आन्दोलन गर्दा समेत जनप्रतिनिधि र किसान अगुवाहरुले जिल्लाका किसानलाई सहयोग नगरेको गुनासो किसानहरुको छ । उनीहरुले प्रशासन समेत उद्योगी र नेताको चंगुलमा फसकेको र किसानको हुन नसकेको आरोप लगाए ।

कांग्रेस सांसदले उद्योगीको पक्षमा बोलेपछि …

प्रदेश सांसद यादव लगायत नेताले किसानको पक्षमा बोलेर बाहवाही लिन खोजे । त्यही क्रममा मन्तव्य दिने पालो आयो प्रतिनिधिसभा सांसद नागेन्द्र राय यादवको । नेपाली कांग्रेसबाट सांसद बनेका यादवले पनि शुरुमा किसानकै पक्षमा वकालत गरे ।

तर, बोल्दै गर्दा उद्योगी कनोडियाको पक्ष लिएपछि किसानहरु एकाएक उनीमाथि जाइलागे । अगाडि बसेका किसानको समूह हल्ला गर्दै मञ्चतर्फ अघि बढ्न खोजे । सुरक्षाकर्मीलाई रोक्न हम्मे-हम्मे पर्‍यो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उद्योगमा ठूलो संख्यामा जनपथ तथा सशस्त्र प्रहरीको टोली खटाइएको थियो ।

२१ गतेसम्म भुक्तानी दिने आश्वासन

नागेन्द्रको भाषणका कारण आक्रोशमा आएका किसानलाई शान्त पार्न निकै समय लाग्यो । त्यसपछि माइक समाएका सांसद एवं उद्योगी कनौडियाले पनि किसानलाई आश्वस्त पार्ने कोशिस गरेकै हुन् । तर, सयौंको संख्यामा रहेका किसानलाई शान्त पार्न सहज थिएन । हल्लाकै बीचमा उद्योगी कनौडियाले बोल्न शुरु गरे । आफ्नो कुरा सुन्न पटक-पटक आग्रह गरे र बल्ल किसान शान्त भए ।

त्यहीबेला कनौडियाले आगामी सोमबार अर्थात पुस २१ गतेसम्म भुक्तानी दिने घोषणा गरे । ‘मैले किसानलाई भुक्तानी दिइरहेको थिएँ, पाँच हप्तादेखि मात्रै भुक्तानी रोकिएको हो’ उनले भने, ‘मैले बाँकी भुक्तानी एकैचोटि दिन्छु भनेको छु ।’

उनले अघि भने, बैंकबाट पैसा आउन ढिला भयो । अब चारवटा बैंकबाट पैसा आउँदैछ । समझदारी गर्नुस्, दुई/चार दिन ढिलो-चाँडो हुँदा कुनै पहाड खस्दैन ।’

उद्योगीले ‘पैसा दिन्छु’ भनेको बाहेक अरु कुरा सुन्न किसानको धैर्यता टुटिसकेको थियो । किसानले नेताहरु बोल्दै गर्दा मालिकलाई माइक देउ भन्दै हल्ला गरिसकेका थिए । आफूले किसानको रकम बेइमानी नगरेको भन्दै कनोडियाले भने, ‘२२ बर्षदेखि उद्योग सञ्चालन गर्दै आएको छु । उद्योगमा सय करोड लगानी छ । यहाँ म जीवन र मृत्युसँग जुधिरहेको छु । बेइमानी गर्दिनँ ।’

सरकारले विदेशबाट चिनी खरीद गरेका कारण पाँच महिनादेखि चिनी बिक्री हुन नसकेको र त्यही कारण किसानलाई भुक्तानी गर्न समस्या भएको उनको तर्क थियो ।
उनी त्यतिमै रोकिएनन् । एक वर्षपछि ‘इन्दुशंकर चिनी उद्योगलाई बिर्सने’ बनाउँछु भन्दै कड्किए । किसानलाई घुक्र्याउँदै उनले भने, ‘घाँटी दबाएर पहिला पैसा दिनुस्, अनि मिल चलाउनुस् भन्ने हो भने म मिल चलाउन सक्दिनँ ।’

तर, किसानहरुले एकै स्वरमा भनिदिए, ‘त्यसोभए मिल नचलाउनुस् ।’

माइकबाटै कनौडियाले आक्रोशित स्वरमा जवाफ फर्काए, ‘चलाउँदिनँ ।’

किसान थप आक्रोशित भए । उनीहरुले कनौडियामाथि आक्रमण नै गरांैलाझै गरेपछि सुरक्षाकर्मीले घेरेर मञ्चको पछाडिबाट उनलाई अफिसतिर लगे ।

किसानको पैसा नतिरी उद्योग चल्न हुन्न : मैनाली

कार्यक्रमको अध्यक्षता गरेका उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले कार्यक्रमको समापन गर्न पाएनन् । कार्यक्रम सकिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै किसानको रकम नतिरी उद्योग सञ्चालन गर्न नहुने उनले बताए ।

‘विस्तारै तिर्दै जान्छु भन्दा अन्नपूर्णको बक्यौता ५० करोड पुग्यो, किसान पुर्पुरो हातमा राखेर बसेका छन्’ मैनालीले भने, ‘किसानले २१ करोड भुक्तानी बाँकी छ भनेका छन्, त्यो तिरेर मात्रै उद्योग चलाउनुपर्छ ।’

उद्योगीहरुले उखुबाट नाफा आएन, बाइप्रोडक्ट धेरै आयो भन्न थालेको आफूले सुनेको भन्दै मैनालीले त्यसमा किसानको सरोकार नहुने बताए । ‘भारतमा ए, बी, सी, डी भनेर उखुको ग्रेड निर्धारण गरिन्छ, त्योबाहेकको उखु आउँदा फिर्ता पठाइन्छ’ उनले भने, ‘हामीकहाँ पनि उद्योगीहरुले उखु किन्नुअघि नै त्यसमा ध्यान दिनुपर्छ । उन्नत बिउका लागि किसानलाई सहयोग पनि गर्नुपर्छ ।’

तस्वीरहरु : सुमित मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment