Comments Add Comment
रामचन्द्र पौडेलसँग विशेष वार्ता :

‘विकल्प खोजिन्छ, वनबास जाने बेला भएको छैन’

देउवाजीले हामीलाई छोडेको हो, हामीले बैठक छोडेको होइन’

१७ पुस, काठमाडौं । बिहीबार दिउँसो बोहोराटार पुग्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पार्टी कार्यालय होइन, महामन्त्री शशांक कोइरालाको निवासमा जाने हतारो थियो । पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो भने कोइराला निवासमा संस्थापन इतर समूहको बैठक ।

पौडेलले भने बहुमतका आधारमा भएको निर्णय नसच्याएसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने अडान लिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले त्यो अडान मात्र दोहोर्‍याएनन्, यदि नेतृत्वले समयमै निर्णय सच्याएन भने देशभर कार्यकर्तामा जाने र आफ्ना कुरा राख्ने बताएका छन् ।

उनले भनेका छन्, सभापतिजीलाई मैले जे-जे गरे पनि आखिर यिनीहरु फुट्छन्, आ-आफू लड्छन् । म नै त हो नि, के भयो र भन्ने परेको छ भने त्यो भ्रम हो ।’

प्रस्तुत छ, नेता पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

बहुमतबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई पौडेल समूहले पहिलो दिनदेखि नै सहयोग गरेन । नेविसंघमा पनि भाग खोज्यो । जबकि हिजो स्व. सुशील कोइराला सभापति हुँदा देउवासँग ६०/४० को भागबण्डा थियो, त्यसको विरोध गर्ने रामचन्द्र पौडेल नै थिए । तर, सभापतिको निर्वाचनमा पराजित भएपछि पौडेल आफैंले ४० प्रतिशत भाग खोज्नुभयो भन्ने आरोप छ नि तपाईमाथि छ नि ?

४० प्रतिशत चाहिन्छ भनेर मैले कहिल्यै पनि भनिनँ । यस विषयमा गलत प्रचार गरियो । सभापति र संसदीय दलको नेता निर्वाचित भएपछि बुढानीलकण्ठमै गएर मैले उहाँलाई अब चौथोपटक प्रधानमन्त्री बन्ने अवसर पनि आएको छ, पार्टी पनि तपाईंको हात छ, अब तपाईलाई यहाँभन्दा बढी के चाहियो ? अब गुटको राजनीति छोड्दिनुस्, हिजो मसँग कोको साथी थिए भन्ने बिर्सेर आम साथीहरूलाई मूल्यांकनका आधारमा व्यवहार गर्छु भनिदिनुस्, म तपाईलाई सम्पूर्ण सहयोग गर्छु भनेको थिएँ ।

तर, उहाँले आफ्ना सीमित साथीहरूको घेरामा रमाउने आफ्नो पुरानो बानी छोड्नुभएन । उहाँले आफू नजिकलाई मात्रै च्याप्ने भएपछि अरुलाई त अन्याय भयो । अनि मैले न्याय चाहियो भनेको हुँ । मैले भाग होइन, न्याय खोजेको हुँ । न्याय, निश्पक्षता, पारदर्शी मूल्यांकन खोजेको हुँ ।

चुनावमा कसलाई उठाउने भन्ने विषय आउँदा जो बफादार छ, जसलाई उठाउँदा जितिन्छ, उसलाई नदिएर को–कोलाई ल्याएर उठाउँदाको हविगत त विगतको निर्वाचनमा देखियो नि ।

चुनावमा टिकट त कार्यसमितिले नै वितरण गरेको थियो, सभापतिलाई मात्रै दोष लगाउन मिल्छ र ?

त्यहाँ निर्णय कसरी भयो भन्ने व्यथा त मैले भोगेको छु नि त । यता छलफल भइरहेको छ, उता टिकट गइसकेको हुन्थ्यो ।

तर, यो कुरा त्यतिबेला किन भन्नसक्नुभएन त ?

भन्नलाई त्यतिखेर पनि बाँकी राखेको होइन । सार्वजनिकरुपमा विरोध गर्दा आमनिर्वाचन बिग्रन्छ भन्ने डर थियो । यो त ‘भनुँ भने आमा मरी हाल्छिन्, नभनुँ भनेँ बाबुले कुकुरको मासु खान लागे’ भन्ने हिन्दी उखानजस्तो भयो । बाहिर गएर वक्तव्य दिउँ भने चुनाव बिग्रन सक्थ्यो । दुनियाँले रामचन्द्रले यो कुरा छारस्ट नगर्दिए हुन्थ्यो भन्थे । त्यतिबेला त लौ गर्नुस् त नि भनेर पल्लो कोठामा गएर बस्नुपर्‍यो । निर्वाचन परिणाम त्यस्तो आउनुमा गलत उम्मेदवार चयन कारक हो ।

अहिले विरोध गर्दा पनि त महाधिवेशन प्रभावित हुने र सभापतिज्यूलाई छ महिना म्याद थप गर्ने अवसर बन्ने होला नि ?

यदि उहाँले यसलाई म्याद थप र महाधिवेशन सार्ने बाहना बनाउनुभयो भने हामीले पनि यसको विकल्प खोज्छौं ।

कस्तो विकल्प ?

सभापतिजीलाई मैले जे-जे गरे पनि आखिर यिनीहरु फुट्छन्, आ-आफू लड्छन् । म नै त हो नि, के भयो र भन्ने परेको छ भने त्यो भ्रम हो

त्यो विकल्पका बारेमा म तपाईलाई सबै कुरा भन्दिनँ । यो पार्टीलाई यसरी संकटमै धकेल्ने भएपछि हामी पनि पार्टीका साथीहरू र आम कार्यकर्तासँग यिनै विषयमा बहस गर्छौं । यस्तो अनर्थ हुनबाट बचाउन के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा बहस गर्छौं । छोटोमा भन्दा अब हामी पार्टी बचाउने अभियान चलाउँछौं ।

२०७४ को चुनावको प्रसंग निकालिहाल्नुभयो । त्यसबेला दुईवटा ठूला कम्युनिस्ट पार्टी मिलेपछि कांग्रेसका लागि सुखद नतिजा आउँदैन भन्ने अनुमान त पक्कै थियो होला । त्यसबेला एकथरीले एक झड्का खायो भने कांग्रेस बौरिन्छ भनेका थिए । तर, त्यस्तो भएन, किन ?

‘सक ट्रिटमेन्ट’ हुन्छ भन्ने थियो, (हाँस्दै) त्यो नभएकै हो । किनभने यो माथिबाटै हुनुपर्थ्यो । आज तपाईलाई भन्छु, मैले कहिल्यै पनि शेरबहादुरजीलाई हट्नुस्, राजीनामा दिनुस् भनिनँ । मैले के मात्र भने भनेँ, तपाईले उदारता देखाउनुस् । तपाई पार्टी सभापति भएका बेला, पार्टी चुनावमा पराजित भएको छ । मेरा कारणले नभए पनि म सभापति भएकाले नैतिक जिम्मेवारी लिन्छु मात्र भनिदिनुस् ।’ तर, त्यो गर्न सक्नुभएन । अति लिप्साले हो कि केले हो थाहा भएन, यसले गर्दा त्यसबेला नै मेटिनुपर्ने ०७४ को चुनावको राग अहिलेसम्म रहिरह्यो ।

तर, तपाईं र शेरबहादुर देउवाले गत वर्ष हाम्रो लभ पर्‍यो । अब पार्टी अगाडि बढ्छ भन्नुभएको थियो हैन र ? त्यो प्रेम त साह्रै अस्थायी रहेछ कि क्या हो ?

हात मिलाएर दुबैजना उभिदिनुपर्‍यो भन्दा मैले त्यसैबेला भनेको थिएँ, यसरी हात मिलाएर उभिँदैमा एकता हुने होइन । यस्तो हात मिलाइ नक्कली हुन्छ । विषयमा कुरा मिल्यो भने एकता हुन्छ, नभए अनएकता हुन्छ भनेको थिएँ ।

‘लभ पर्‍यो’ भनेका बेला विषयमा कुरा मिलेको थियो । जिल्ला सभापतिहरूले पेश गरेका प्रस्तावलाई पार्टी सभापतिजीले स्वीकार गर्ने घोषणा गर्नुभएको थियो । विधानमा सहमति पनि भएको थियो त्यसपछि ‘ल हामी एक भयौं साथी हो एकताको सन्देश लिएर गाउँगाउँ जानुस्’ भनेका हौं ।

प्रेममा अप्ठ्यारोचाहिँ कहाँबाट शुरु भयो ?

केन्द्रीय कार्य समिति बैठकले सभापतिले ‘रुलिङ’ गरिसकेको दुबै विषय उल्ट्यायो । जिल्ला सभापतिहरूको प्रस्ताव पनि अस्वीकार गर्ने र विधानमा भएको सहमति पनि कार्यान्वयन नहुने भएपछि फेरि फाटो आयो ।

त्यो निर्णय देउवाको स्वार्थअनुसार भएको रहेछ भन्न खोज्नुभएको हो ?

हो । त्यो महासमितिबाट उम्कने प्रयास मात्रै रहेछ भन्ने बुझियो । त्यो पार्टी सभापतिको मौकापरस्त कुराजस्तो लाग्यो । तत्काललाई कुरा मिलाउने, फेरि त्यही दोहोर्‍याउने गर्नुभयो ।

यसलाई सभापतिको कमजोरी मान्ने कि सफलता ?

क्षणिक सफलता त मान्छेले यस्तै कुरामा लिन्छन् । दीर्घकालमा त त्यसले ठूलो अहित गर्छ । स्वयं व्यक्तिलाई पनि यसले अहित नै गर्छ ।

सभापतिको ‘क्षणिक सफलता’ भन्नुको अर्थ यहाँको असफलता भयो । यहाँहरूले महासमितिबाट जुन–जुन विषयमा प्रतिवद्धता जनाउन बाध्य पार्नुभएको थियो, त्यो त सभापतिले दुईदिनमै उल्टाउनुभयो । सहमतिमा आउने जस्तो गर्नुहुन्छ, फेरि उल्टाउनुहुन्छ, किन ?

पार्टीमा सभापति नै अधिकारसम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँले नै एउटा घोषणा वा प्रतिवद्धता जनाउने, तर कार्यान्वयन नगर्दा यसमा सन्तुष्ट छैनौं भनेर ‘नोट अफ डिसेन्ट’ लेख्ने बाहेक के थियो र हामीसँग उपाय ? त्यही नै गर्‍यौं ।

पदाधिकारी नियुक्तिमा तपाईले ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो । त्यसका निर्णयहरूमा पनि लेख्दै आउनुभएको छ । अहिले बैठक नै बहिस्कार गर्नुभएको छ । कहिलेसम्म लेखिरहने त यस्तो ‘नोट अफ डिसेन्ट’ ? तपाईहरूको राजनीति भनेको भिन्न मत देखाउनका लागि मात्रै हो त ?

त्यस्तै हुन थालेपछि हामीले बैठकमै ‘लौ निर्णय तपाई नै गर्नुस्’ भन्नुपरेको हो । यो स्थिति आउनुको कारण पनि यही हो ।

तर, त्यति हुँदाहुँदै पनि सभापतिले बहुमतबाटै निर्णय त गरिदिनुभयो नि ?

हो, त्यसमा हाम्रो असहमति छ । त्यही भएर हामी यो कुरा लिएर आम कार्यकर्ता÷साथीहरूका माझमा गइराखेका छौं । सभापतिले यस्तो गर्नुभयो, त्यसले पार्टीमा समस्या ल्यायो भनेर साथीहरूको बीचमा जाँदैछौं ।

२८ वटा विभाग राख्ने निर्णय पनि उल्ट्याइयो । त्यसलाई बढाएर ४७ पुर्‍याइएको छ । मैले महाधिवेशनलाई सुव्यवस्थित र पार्टीलाई सुदृढ कसरी बनाउन सकिन्छ भन्ने सुझाव दिएको थिएँ । मेरो मात्रै होइन, निर्वाचन समितिको पनि सुझाव विपरीतका निर्णय गरिए ।महासमितिले गरेका निर्णय उल्ट्याउने लगायतका आपत्तीजनक निर्णय गर्नुभयो । जबकि हामीले त्यतिबेला महासमिति बैठकबाट पार्टीलाई संस्थागत बनाउनका लागि क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेका थियौं । जो पायो, त्यसलाई क्रियाशील सदस्यता दिएर पार्टीलाई भद्रगोल हुन नदिने प्रबन्ध महासमितिले मिलाएको थियो । त्यो व्यवस्थालाई निलम्वन गरियो ।

पार्टीमा चार वर्षे कार्यकाल र असाधारण परिस्थितिमा एक वर्ष थप्न पाइने व्यवस्था छ । तर, हुँदै नभएको असाधारण परिस्थिति बनाइयो । हिजोका दिनमा जस्तो माओवादी द्वन्द्व, मधेस आन्दोलन, भुकम्प जस्ता परिस्थिति नहुँदा नहुँदै पनि म्याद थप गर्ने वातावरण बनाइयो ।

सभापतिले आफ्नो कार्यकाल लम्ब्याउने प्रयास मात्रै गर्नुभयो । त्यो नै पहिलो आपत्तीको विषयमा थियो । छलफलै नगरिकन मंसिरसम्म सदस्यता वितरण र स्थानीय चुनावहरूलाई पुस–माघमा पुर्‍याइयो । जब कि पुस–माघमा हिमालमा टिक्नै सकिँदैन र तराईमा आङ तन्काएर हिँड्न पनि सकिँदैन । कत्ति पनि कुसन/आड बाँकी नराखी फागुनमा महाधिवेशन तोकियो ।

नौ बुँदे अवधारणा अगाडि राखेर सहमतिका लागि वार्ता भइरहेका बेलामा अपर्झट यस्तो निर्णय गर्नुभयो । हामीले पार्टीमा सबै कुरा मिलाएर जाउँ, एकतावद्ध बनाएर जाउँ भन्दाभन्दै उहाँहरू अगाडि बढ्नुभयो ।

महाधिवेशनबारे तपाईंहरुको असहमति केमा हो ? फागुनमा गर्दा किन आपत्ति ?

एउटा त कार्यतालिका बनाउँदा नै सल्लाहले गर्नुपर्ने थियो । कुन कुरालाई कति अवधि दिने भन्ने कुरा त बसेर छलफलबाट निकाल्न सकियो नि त । सदस्यताका लागि एक वर्ष पुरै दिन पर्छ कि पर्दैन, छलफल हुनुपर्‍यो नि । स्थानीय अधिवेशन गर्ने, महाधिशेवन कतिबेला गर्ने भन्ने कुरा त छलफल गर्न सकिन्थ्यो । तर, छलफलै नगरिकन निर्णय गरियो ।

छलफल गर्ने थलो चाक्सीबारी/बोहोराटार हो कि केन्द्रीय कार्यालय ?

हामीले केन्द्रीय कार्यालयमै बसेर पार्टी सभापतिलाई महाधिवेशनको एजेण्डा राखौं, नौबुँदेमा छलफल गरौं भन्दाखेरि हुन्छ म छलफल गर्छु भन्नुभयो । मेरो पक्षका साथीहरूसँग छलफल गर्छु भनेर हामीलाई माथि पठाउनुभयो । छलफलै नगरी उहाँले सिधै गएर बैठक चलाउनुभयो ।

मसँग बहुमत छँदैछ भनेर उहाँले भटाभट निर्णय गर्नुभयो । हामीलाई छोडेरै जानुभयो । हामी तलको तलै रहौं भन्ने सोच उहाँमा देखियो । उहाँले हामीलाई छोडेको हो हामीले बैठक छोडेको होइन । त्यति गरिसकेपछि हामी के भन्दै जाने हो बैठकमा ? लौ न बाबा भन्न जाने ? तपाई त्यही नै गर्न चाहनुहुन्छ भने गर्नुस् न त भनिदिएका हौं ।

महाधिवेशन फागुनको सट्टा मंसिरमै गर्नुपर्छ भन्ने हो तपाईंहरूको माग हो ?

सभापतिजीले हामीलाई छोडेको हो, हामीले बैठक छोडेको होइन । त्यति गरिसकेपछि हामी के भन्दै जाने हो बैठकमा, लौ न बाबा भन्न जाने ?

राधेश्याम अधिकारीलगायतका निर्वाचन समितिका सदस्यहरूले पनि हामीलाई तीन महिना जति कुसन/आड चाहिन्छ भनेका थिए । निर्वाचन आयोगले पनि सरकारसँग सहमति लिएरमात्रै चुनावको मिति घोषणा गर्छ । निर्वाचन समितिले भन्दाभन्दै पनि उहाँहरूले मान्नुभएन । आफूखुशी मिति तोक्नुभयो ।

महाधिवेशन ढिलो गर्ने कुरा सभापतिको कार्यकालसँग पनि जोडिएको छ र ?

यो कुरा त सभापतिज्यू आफैंले केन्द्रीय समिति बैठकमा बोल्नुभएको छ । जुन दिनमा उहाँले महाधिवेशन साढे पाँच वर्षमा हुन्छ भनेर बोल्नुभयो, त्यही दिनदेखि म सशंकित भएँ । त्यसैदिनदेखि विश्वासको संकट पैदा भएको हो । त्यो विश्वासको संकट अहिले त कहाँ पुगेको छ भने पार्टी उहाँले विना अधिवेशन चलाउनु हुन्छ कि भन्ने तहसम्म पुगेको छ । जसरी उहाँ ०२८ सालमा नेविसंघको सभापतिमा निर्वाचित भएर ०३८ सालसम्म पुर्‍याउनुभयो नि, कांग्रेस पनि त्यस्तै हुने हो कि भन्ने आशंका देखियो ।

यो संशोधनले हामीलाई अझै विश्वसनीय अवस्थामा पुर्‍यायो । अहिले जसरी निर्णय भइरहेको छ, त्यसले पार्टीभित्र घोर विश्वासको संकट पैदा गरेको छ ।

देशको राजनीतिक परिस्थितिबारे चर्चा गर्दा सरकारले अपेक्षा अनुसार काम गर्न नसक्नुमा प्रतिपक्षी दल बलियो नहुनुलाई पनि कारक मान्न सकिन्छ कि सकिँदैन ? राष्ट्रिय राजनीतिमा कांग्रेसले सशक्त भूमिका खेल्न नसक्नुमा सभापति देउवाइतरका समूहको पनि भूमिका छ भन्ने मान्नुहुन्छ ?

नेतृत्वको नैतिक धरातलको कमजोरीले हो कि केले हो, भूमिका सशक्त नभएको पक्कै हो । त्यसमा म पनि चिन्तित छु । त्यो पार्टीलाई माथि उठाउनकै लागि झक्झकाउने अभियान चलाएको हुँ । पार्टीमा पुनर्ताजगी आओस् भन्ने चाहेको हो ।

जसरी केपी ओलीको बहुमतको सरकारले बहुमत छ भन्दैमा संवैधानिक निकायमा नियुक्ति, देशको शासन सञ्चालन एकतर्फी र मनोेमानी गर्न पाइँदैन । विधि, नियममा बस्नुपर्छ भनेर जसरी कांग्रेसले भन्छ । त्यसरी नै हामीले पनि पार्टी नेतृत्वलाई भनिरहेका छौं । लोकतन्त्रमा बहुमत अपरिहार्य हो, तर बहुमतका साथमा विवेक पनि चाहिन्छ, विधिसम्मत पनि हुनुपर्छ । विधि विधानको परिधिभित्र सहमतिले पार्टी चल्नुपर्छ ।

एउटा त कांग्रेस जुन रुपमा सशक्त भएर सदनदेखि सडकसम्म प्रस्तुत हुनुपर्थ्यो, हाम्रो आन्तरिक लिडरसीपको कमजोरीले कमी भएकै हो ।

जहिले पनि बढी आलोचना सत्तापक्षकै हुन्छ । तर, सत्ताको पहुँच नभएका जनता र नागरिकको आशा प्रतिपक्षमाथि पनि हुन्छ । के अब जनतासँग नेकपाको विकल्प नभएको हो ?

मेरो कुनै अतिरिक्त इच्छा छैन, म नै हुनैपर्छ भन्ने पनि होइन । तर, पार्टीलाई अहिलेको अवस्थामा यत्तिकै छोडेर म वनबास जाने बेला पनि भएको छैन

एउटा गीत छ नि–

‘मझधार मे नैया डोले तो माझी पार लगाए
माझी जो नाउ डुवाए तो उसे कौन बचाए ?’

अर्थात नाउ जोगाउनुपर्ने माझीले नै डुंगा डुबाउन खोज्यो भने कसले बचाउने ? त्यसैले कांग्रेसलाई सुधार गरेर लैजानु परेको हो ।

नेकपासँग वाक्क भएका जनताले कांग्रेससँग आश गर्न सकेनन् भन्ने त मान्नुहुन्छ नि ?

अहिलेको उपचुनावले मलाई दिएको सन्देश के हो भने नेपाली जनताले कम्युनिस्टलाई भरोसा गरेका थिए, त्यसबाट जनता निराश भए । उनीहरुबाट भरोसाअनुसार काम भएन । कम्युनिस्टबाट जनतामा यत्रो असन्तुष्टि छ, तर उनीहरुलाई कांग्रेसले आकर्षित गर्न सकेनन् । यो नै हाम्रो कमजोरी हो ।

जनताले कस्तो कांग्रेस देख्न चाहेका छन्, मैले खोजेको त्यही हो । कांग्रेस र कम्युनिस्टको विकल्प पनि देखिएन । नारा लगाउने त थुप्रै आए, तर उनीहरुको अस्तित्व देखिएन, दुई पार्टी मात्र रहे । उनीहरुमध्ये एउटा असफल हुँदा अर्को सफल हुनुपर्ने हो । तर, अर्को पनि सफल नहुँदा देश नै संकटमा पर्छ कि भन्ने लागेको छ । यो चिन्ता दूर गराउन आफूलाई समर्पित गराउन चाहन्छु । लोकतन्त्रको भविश्य सुरक्षित गरेर यो देशको भविश्य छ भनेर सावित गर्न चाहन्छु ।

त्यसो नहुनुमा संस्थापनइतर समूह एक नहुनु पनि कारण होइन र ?

होइन, अहिले संस्थापनइतर एक छौं । सभापतिजीलाई म चुनाव जित्छु, मैले जे परे पनि हुन्छ भन्ने लागेको होला । मैले जे–जे गरे पनि आखिर यिनीहरु फुट्छन्, आ–आफू लड्छन् । म नै त हो नि, के भयो र भन्ने परेको छ भने त्यो भ्रम हो ।

तर, १३ औं महाधिवेशन वा अहिले पनि तपाईंहरुको समूहमा सभापतिका दाबेदारहरु हेर्दा त उहाँलाई होइन, तपाईंहरूलाई भ्रम परेको पनि त हुन सक्छ ?

मलाई विश्वास छ, १३ औं महाधिवेशनको गल्ती अब कांग्रेसका कुनै साथीले गर्ने छैनन् ।

यसको मतलब तपाईंहरू एक भएर आगामी महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्नुहुन्छ ?

म व्यक्तिमा जान चाहन्नँ । तर, पार्टीभित्र गलत प्रवृत्ति हावी हुन नदिन पार्टीका आम साथीहरु एक छन् र हुन्छन् पनि ।

कसको नेतृत्वमा ?

त्यो आपसी साझदारीमा तय हुन्छ ।

तर, विगतमा जस्तै अन्तिम समयसम्म नेता नतोक्ने, तोक्नुपर्ने बेलामा एकले अर्कालाई स्वीकार नगर्ने अवस्था आउला नि ?

ढिलो हुँदैन । ऐन मौकामा कसको आवश्यकता पर्छ भन्ने महसुस हुन्छ, कहाँ सहमति हुन्छ, सबैको ‘एडजस्टमेन्ट’ हुन्छ, त्यही सहमतिको विन्दु बन्छ ।

त्यसका लागि तपाईं व्यक्तिगत आकांक्षा त्याग्न तयार हो ?

मेरो कुनै अतिरिक्त इच्छा छैन । मसँग लिप्सा पनि छैन, म नै हुनैपर्छ भन्ने पनि छैन । तर, म चाहन्छु, सहमति होस् र पार्टीलाई अहिलेको अवस्थामा यत्तिकै छोडेर म वनबास जाने बेला पनि भएको छैन । म साथीहरुकै बीचमा रहन्छु, कसैलाई (लिडर) बनाउनुपर्छ कि, (आफैं) बन्नुपर्छ, जुनसुकै अवस्थामा पार्टीलाई योगदान दिन तयार छु ।

शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अगाडि जान सक्दैन र अब विकल्प दिनुपर्छ भन्ने निश्कर्षमा चाहिँ तपाई पुग्नुभएकै हो ?

व्यक्तिगत रुपमा बढ्ता तोकिराख्न चाहन्नँ । किनकी पार्टीमा सबैको सम्मान हुनुपर्छ । तर, लोकतान्त्रिक विधि, प्रक्रिया र मर्यादाअनुरुप पार्टीमा गति आओस् । को हट्नुपर्छ, को आउनुपर्छ भन्ने होस् । तर, यथास्थितिमा त कांग्रेस चल्दै चल्दैन ।

त्यसो भए समाधान के हो त ?

समाधानका लागि ११ गतेको निर्णय सच्चिनुपर्छ । प्रकाशमान सिंहजीले गरिरहनुभएको वार्ता निश्कर्षमा पुग्नुपर्छ ।

तस्वीरहरूः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment