Comments Add Comment
उखु किसानका गुनासो :

हामीसँग सरकार किन्ने पैसा छैन !

२०२५ सालमा घुर्कौली आएर चना-मटर खेती गर्यौं । बजारमा लग्यो बिक्री गर्‍यो, पैसा भइहाल्थ्यो । पछि बिहारको रिगा मिलको सिको गर्दै उखु खेती सुरु गर्‍यौं । सुरुमा उखु पेलेर मिठ्ठा (सख्खर) बेच्थ्यौं । आज मिठ्ठा पेल्यो, भोलि व्यापारी आउँथे । नगदमै किनेर लैजान्थे । वीरगञ्ज चिनी कारखाना खुलेपछि केही उखु उता दियौं । इन्दु शंकर स्थापना हुने बेलासम्म केही पेलेर मिठ्ठा बनाउँथ्यौं, केही वीरगञ्ज पठाउँथ्यौ ।

इन्दुशंकर उद्योग चल्न थालेपछि मिलगेट एरियामा मिठ्ठा बनाउन पाइदैन भने । प्रशासनले पनि चिनी मिल खुलिसकेपछि मिठ्ठा नबनाउनुस् भन्यो । चलानी दिन्छु, नगद दिन्छु भन्यो । दुईचार वर्ष उखु तौल गराउन चलानको खासै समस्या भएन । पैसा पनि १०-१५ दिनमा दिन्थ्यो ।

चिनी बिक्री हुन्थ्यो, हुँदैन उसैले जानोस् ।

समय समयमा सहुलियतमा घरको लागि चिनी पनि दिन्थ्यो । प्रेस मल पनि सित्तैमा जस्तै दिन्थे । एक ट्रेलरमा २० रुपैयाँ लिन्थे । हामीले उखु खेती पाँच बिघाबाट १५ बिघासम्म पुर्‍यायौं । दाजुभाइ मिलेर तीनवटा ट्र्याक्टर किन्यौं, जमीन ठेक्कामा लिएर पनि खेती बढायौं ।

पहिला फकाए, अहिले थर्काउँदैछन्

उद्योगीहरु रासायनिक क्रियाबाट उखुको खाद्य भू-शक्ति बनाउँछन्, तर हामीले प्रतिक्विन्टल पाँच सय रुपैयाँ हाल्नुपर्छ । सरकार र मिल मालिकको यस्तो छ ताल । किसानको दुःख बर्णन गर्न १० दिन लाग्छ ।

उद्योगीहरु मोरङको उदाहरण दिएर भन्छन्- किसानले एक बिघामा नौ सय क्विन्टल उखु निकाल्छन्, कहाँ घाटा छ र ? तर, हामीकहाँ सिँचाइ सुविधा छैन । जति मेहनत गरेपनि बिघामा चार सय क्विन्टल आउँछ ।

यो पनि पढ्नुहोस उखु : बाली नगदे, कारोबार उधारो !

१०-१५ कठ्ठामा खेती गर्ने किसानले लगानी गर्न सक्दैनन् । साना किसानलाई चलानमा पनि दुःख छ । १०-१५ बिघा हुनेको २-४ दिनमा पालो आउँछ । साना किसानले एक गाडा उखु बेच्न १५ दिन कुर्नुपर्छ ।

मिल बिग्रयो भने बनाउन २-३ दिन लाग्छ । त्यहाँ लगेर पनि उखु सुक्छ । त्यसको पैसा उद्योगीले दिँदैन । तौलेपछि मात्रै पैसा दिने हो । त्यसैले कति किसानले उखु खेती नै छोडेका छन् ।

मंहगी बढ्यो, बढेन उखुको भाऊ

पछिल्लो तीन वर्षमा उखुको भाउ एउटै छ । अघिल्लो वर्ष जनलाई तीन सय दिनुपर्थ्यो, गत वर्ष ३५० दिनुपर्‍याे, यो वर्ष ४ सय मागेका छन् । जनको ज्याला हरेक वर्ष ५० रुपैयाँको दरले बढ्छ । सरकारले डिजेल र मलको भाउ पनि बढाएको छ । ट्र्याक्टरको पार्टपूर्जाको भाउ बढेको छ । ड्राइभरको तलब १० हजार पुगेको छ । तर उखुको मुल्य भने तीन वर्षदेखि बढेको छैन ।

लगानी सबै नगदमा गर्नुपर्छ, जनलाई दिउँसो काम गरेको ज्याला बेलुका चाहिन्छ । ड्राइभरहरु त अग्रिम माग्छन् । महंगीले गर्दा हाम्रो घरायशी खर्च पनि बढेको छ । उखु उत्पादन गर्न लाग्ने मलखाद्य, डिजल, जन सबैको भाउ बढे अनुसार उखुको भाउ बढ्नुपर्छ भन्ने हाम्रो माग छ ।

फेरी जहिल्यै मलको अभाव हुन्छ । बल्लबल्ल पाउने मल कत्तिको काम लाग्ने हो थाहा हुन्न । त्यसमा कति क्याल्सियम, कति पोटासियम छ थाहा हुँदैन ।

यो पनि पढ्नुहोस वर्षैपिच्छे बल्झिने उखु किसानको घाउ

खेत तयार पार्नर्, बिउ किन्न, रोप्न, गोडमेल गर्नर्, उखु तयार भइसकेपछि काटेर मिलको काँटासम्म पुर्‍याउँदा प्रतिबिघा एक लाख ८० हजारसम्म खर्च लाग्छ । सिँचाइ, मल र उन्नत बिउमा सरकारले कुनै सहयोग गरेको छैन । स्थानीय सरकार आएपछि कर लाद्ने काम मात्र गरेको छ । सरकारले सहयोग गरेको भए यस्तो चिसोमा काठमाण्डू गएर धर्ना बस्नु पर्ने थिएन ।

चिनी उद्योगीहरु सरकारले बाहिरबाट सस्तो चिनी आउन दिएकाले आफ्नो चिनी मिलमै थन्किएको गुनासो गर्छन् । अनेक बहानामा उखुको भाउ बढ्न दिँदैनन् । देशमा के भइरहेको छ, हरेक चिजको भाउ कसरी बढिराखेको छ, सरकारले सबै बुझेको छ । र पनि उखुको भाउ नबढाएर किसान मारिरहेको छ ।

सरकार किसानको कुरा सुन्दैन

उखु किसानको समस्यामा सरकार दोषी छ । उसले किसान र चिनी उद्योगीलाई राखेर किसानको लगानीमा बढेअनुसार उखुको मुल्य तोक्दा भइहाल्थ्यो । सरकारले न किसानलाई न त उपभोक्तालाई मार्नु छ । उसले चिनी मिललाई पनि विस्थापित गर्नु छैन । सबै एक अर्काका परिपुरक हुन् ।

ठीक छ-सरकारले उद्योग पनि जोगाउनुपर्छ । चिनीको भाउ बढेको छैन, उसको आम्दानी भएन । त्यसकारण ऊमाथि धेरै लाद्यो भने चिनी मिल बन्द हुन्छ । हाम्रो क्षेत्रमा तीन वटा मिल बन्द भएको छ ।

इन्दु शंकरले पुरै पैसा दिइसकेको छ । तर अघिल्लो वर्ष सरकारले दिने भनेको अनुदानको पैसा अझै दिएको छैन । जबकी चिनी विदेशबाट मगाउनुपर्छ, चिनी मिलले कम चिनी उत्पादन गर्दा सरकारले झनै बढी चिनी मगाउनुपर्छ ।

हामीसँग सरकार किन्ने पैसा छैन

उखुको भाउ दाउराको भन्दा तल छ । हामीलाई भारतसँग मिलान गर्ने भनिन्छ । भारतमा उखुको भाउ यति छ, चिनीको भाउ यति छ भनेर सुनाइन्छ । भारतमा किसानलाई के-केमा कस्तो अनुदान दिइएको छ भन्ने चर्चा भने गरिँदैन ।

भारतमा मलखाद्यमा अनुदान छ । कतिपय राज्यमा सिँचाइमा प्रयोग गर्ने बिजुलीमा एक पैसा लाग्दैन । हामीकहाँ त्यसको ठीक विपरीत छ । अनि किसानले लागेको भाउ पनि खोज्न नपाउने ?

यो पनि पढ्नुहोस ‘ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएका हौं’

उद्योगीले चिनीमा मात्र केन्द्रित भएर उखुको मूल्य निर्धारण गर्न खोज्छन् । तर उखुबाट चिनी बाहेक मलासिस र मलखाद्य पनि बन्छ । सबै मजाले बिक्री हुन्छ । उखुको मुल्य निर्धारण गर्दा यो कुरा लुकाइन्छ ।

सरकार चिनी उद्योगीले जे पढाउँछ, त्यही पढ्छ । धनी वर्गले सरकारलाई किनेको हुन्छ रे । गरिब किसानसँग सरकार किन्ने पैसा छैन । सरकारमा जाने किसानकै छोरा हुन्, तर त्यहाँ पुगेपछि आफू आएको ठाउँ विर्सिन्छन् ।

नगद लगानी, उधारो बिक्री

उखु खेतीमा लगानी पनि उठ्दैन, तर अरु बाली नहुने भएकाले किसानले बाध्यताले उखु लगाउनुपरेको छ । चारैतिर उखु छ बीचमा आफ्नो खेत छ भने उखु नै लगाउनपर्छ । अरु बाली लगाए जंगली जनावरले खाइदिन्छ ।

हामी त १६ बिघामा उखु लगाउने आफ्नै ट्याक्टर भएको ठूला किसान । हामीलाई त घाटा छ भने भाडाको टायरगाडा वा ट्याक्टर चलाउनेको के गति होला ? साना उखु किसानलाई ज्यादै अप्ठ्यारो छ । हामीले बारम्बार समस्या सुनाएका छौं, तर सरकारले सुनेको छैन । अब हामी भोक भोकै बस्ने ?

बरु भगवान भेट्टाउन सजिलो होला, सरकार पाउँन गाह्रो भएको छ । सिँचाइ छैन, मल छैन । अनि अन्त्यमा उखुको भाउ पनि छैन । त्यसमाथि एकमुष्ट भुक्तानी पाइन्न । उधारो खेती गर्नु परेको छ । यसरी त नेपालमा उखु खेती नै रहँदैन । नेपाल सरकारले त्यहीँ चाहेको हो त ?

यो पनि पढ्नुहोस ‘किसानमारा’ चिनी उद्योगलाई सहुलियतमाथि सहुलियत यो पनि पढ्नुहोस सरकार, हामी किसानलाई भोकभोकै मार्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment