Comments Add Comment

गोबर र माटोमा जीवन खोज्नेहरुको कथा

हरियो हृयाट, हरियो ज्याकेट र खुट्टामा माथिसम्म आउने प्लास्टिकको जुत्ता लगाएका एक दर्जनजति अधबैंशे महिलाको टोलीले पात झरेर हाँगासमेत वान्की मिलाएर काटिसकेको नास्पातीको फेदमा बसेर लामो सासमा खुईऽऽऽय गर्दै सुस्केरा हाल्छन् ।

हातभरी लतपतिएको गोबर सुकेर त्यसैको टाटोले उनीहरुको हातमा कालो छिद्रा बसेको छ । उनीहरुले पाउँने  ४९५ रुपैयाँ पाक्नको लागि अब समयकै हिसाबले त तीन घण्टा जति बाँकी छ । घरमा बच्चाहरुको याद पनि आइरहेको छ । तर, काम ज्यालादारी भएपनि ठेक्काको जस्तो छ । त्यतिकाम सक्नैपर्ने दबाब छ उनीहरुलाई त्यसैले लामो समय थकाई मार्ने अवस्था पनि छैन । त्यसैले एकैछिन सुस्ताएर उनीहरु फेरि लाग्छन् काममा ।

अर्काेतिर तन्नेरीहरुको टोली लम्बाई नाप्दै नास्पातीको हाँगा काटिरहेका छन् । उनीहरुलाई अधबैंसे समूहको कुनै चासो छैन । आफ्नै तन्नेरी हाँसोको तालमा आफ्नो आफ्नो काममा मस्त छ त्यो समूह पनि ।

त्यही अधबैंशे समूहकी एक सदस्य हुन् दक्षिणकाली नगरपालिका भञ्ज्याङकी गंगा केसी । राष्ट्रिय वागवानी केन्द्रका बालिनालीहरु स्याहार गर्न सुरु गरेको ९ वर्ष भएको सुनाउँछिन् । उनले त्यहाँबाट दैनिक ज्यालादारीमा ५ सय रुपैयाँ पाउनुपर्ने हो करको रुपमा दैनिक ५ प्रतिशत काटिएर ४९५ रुपैयाँ आउँछ । त्यही पैसाले उनले आफ्नो परिवारको गर्जाे टार्दै आएकी छिन् । ‘दुई छोराहरु हुर्काएँ यही कामले गर्दा । यहाँ पसिना बगाउन सकुन्ज्याल ज्यालादारी मै जीवन जाने भयो ।’

उनको दैनिकी कुनै उच्च पदस्थ सरकारी अधिकारीको भन्दा कमको हुँदैन । बिहान नौ बजेदेखि सुरु हुने कार्यालयको लागि ८ बजेदेखिकै चटारो, साढे ८ बजेको यात्रा र साँझ साढे ५ बजे घर पुग्ने बेलासम्म उनले धेरै समय यही वागवानी केन्द्रका फलफूलहरुसँग नै समय बिताउने गर्छिन् । यसैको स्याहार सुसार, गोडमेल र फल पाकेपछि यसको व्यवस्थापन सबै उनीहरुकै कामभित्र आउँछ । त्यसैले अहिले त ती रुखहरुसँग जीवसँग जस्तै प्रेम हुन थालिसकेको उनी बताउँछिन् । उनी भन्छिन् ‘हामीलाई त कुनै जीवलाई जस्तै प्रेम हुन्छ । तीन वर्षमा हुर्किने वनस्पतीलाई डेढ वर्षमा नै बेच्ने गरिन्छ । घरमा पालेको कुनै जीवलाई बेच्नेबेलामा जस्तो मन खिन्न हुन्छ । त्यस्तै हुन्छ यी विरुवाहरु बेच्दा पनि ।’

सो टिममा रहेका १४ जनामध्ये सबैभन्दा धेरै पढेलेखेकी अर्की कामदार हुन् लक्ष्मी जीसी । घर कीर्तिपुरमा छ । उनले ५३ सालमा एसएलसी त सकिन् । तर, सरकारी जागिरको लोभले आफू कहिलै स्थायी हुन नसक्ने ज्यालादारी कामदारमा चित्त बुझाउनु परेको बताउँछिन् ।

सो समूहमा जे कुरा सोध्नु परेपनि सबैले उनलाई नै सोध्छन् । अरुले मल राख्नको लागि खाल्डो खन्नु पर्छ । उनीलाई सबै मललाई सन्तुलन मिलाएर राख्न जान्ने भएकीले नै उनैलाई त्यो कामको जिम्मा दिने गरेका छन् सबैले । उनी भन्छिन् ‘उबेलामा एसएलसी पास गरेको फाइदा यति भएको छ । सरकारी जागिरको लागि मरिहत्ते हाल्ने भएको १९ वर्ष भयो ज्यालादारीमा नै काम गरिरहेकी छु ।’

उनले पनि सरकारले दिएको अरु सुविधा ज्यालादारी कामदार भएकोले नपाउने गरेको उनी बताउँछिन् । यद्यपि १९ वर्षसम्म एकै ठाउँमा एकै किसिमको काम गर्दा त्यहाँको माटो र वनस्पतीहरुसँग आफ्नो पनि प्रेम गाढा हुँदै गएको बताउँछिन् ।

उबेलामा एसएलसी पास गरेर पनि ज्यालादारीमा काम गर्नुपरेकोले उनले आफ्नो फोटो सार्वजनिक नगर्न भनिन् । ‘साथीभाइ र इस्टमित्रले त धेरै कुरा काटेका छन् । धेरै पढेर पनि के नै गरि र भनेर । अब झनै फोटो नराखिदिनुहोला ।’ उनले भनिन् ‘फल टिप्ने बेलामा त सबै मिलेर नै टिप्नु पर्छ । अरु बेलामा चाहिँ मेरो काम यस्तै हो ।’

पछिल्लो समय व्यवसायिक खेतीमा लाग्नेहरुको संख्या ठूलो संख्यामा बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रले आफूले उत्पादन गरेको फलफूलको ३० प्रतिशतले हुन आउने बिरुवाहरु व्यक्तिगत तवरले आफ्नो रहरले रोप्न चाहनेहरुलाई दिने गर्छ । यो वर्ष बुधबारसम्म त्यस्ता बिरुवाहरु वितरण गरिएकोमा ५ सयभन्दा धेरैले विरुवाहरु खरिद गरेर लगेको केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिए ।

अहिलेको सिजन नै केन्द्रले स्याउको विरुवालाई प्रतिबोट ७० रुपैयाँ, नास्पाती ७० रुपैयाँ, आरु ५० रुपैयाँ, आरुबखडा ५० रुपैयाँ, हलुवाबेदलाई ६० रुपैयाँ किबीको विरुवालाई १०० रुपैयाँ र दाँते ओखर, चुच्चे ओखर र कटुसलाई ४०/४० रुपैयाँको दरमा बिक्री गरेको छ । व्यवसायिक रुपमा खेती गर्नेलाई भने सहज रुपमा यस्ता विरुवाहरु उपलब्ध गराउने गरिन्छ ।

कोइरालाका अनुसार त्यहाँ कटिङ गर्ने र अरु भिन्दा भिन्दै कामको लागि फरक फरक विशिष्ठ व्यक्तिहरु रहेको उनले बताए । ‘सबै ठाउँमा अरु मानिसलाई प्रवेश दिइँदैन । यहाँका स्थायी कर्मचारी र ज्यालादारीमा कार्यरत कर्मचारीहरु भिन्दा भिन्दै काममा पोख्त छन् । उनीहरुले नै धेरै बिरुवाको स्याहार सुसार गर्छन् ।’ उनी भन्छन् ‘यहाँका कर्मचारीहरुमा विरुवाप्रति प्रेम भएन भने त राम्रोसँग स्याहार गर्न पनि गाह्रै हुन्छ ।’

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment