Comments Add Comment

रुपन्देही होटलको हब बन्दैछ, तर लुम्बिनीमा किचलो

१७ पुस, बुटवल । भैरहवाको गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रकृयासँगै रुपन्देहीमा पर्यटक लक्षित ठूला र स्तरीय होटलमा लगानी बढ्न थालेको छ ।

संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी नजिक अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालनको तयारी भएसँगै व्यावसायीले स्तरीय होटल तथा रेष्टुराँहरुमा लगानी बढाएका हुन् ।

पर्यटन व्यवसायमा राम्रो सम्भावना देखेर व्यावसायीहरुले पुराना होटलको स्तरोन्नति मात्रै गरेका छैनन्, विदेशी पर्यटक लक्षित रेष्टुराँ, क्लब र क्यासिनोमा समेत लगानी गरेका छन् । भैरहवा र लुम्बिनीमा थप आधा दर्जन तारे होटल निर्माणको चरणमा छन् ।

व्यावसायीले पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले करोडौं लगानीमा वाटर पार्कसमेत बनाएका छन् । अर्बौं लगानीमा बुटवलमा दुईवटा केबुल कार बनाउने प्रकृया पनि अघि बढाइएको छ ।

हाल रुपन्देहीको भैरहवा, लुम्बिनी, बुटवल र आसपासका ठाउँमा साना- ठूला गरी करिब एक हजार दुई सय होटल तथा ६ सय रेष्टुराँ सञ्चालनमा छन् ।

बुटवल-भैरहवा सडक खण्डको कोटिहवाबाट एक किलोमिटर पश्चिम बाउन्नकोटी सामुदायिक वन नजिकै ५ अर्ब बढी लगानीमा सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । यो रुपन्देहीकै पहिलो पाँचतारे यो होटल हो । यसमा विदेशीको लगानी छ ।

यस्तै लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर भैरहवा-लुम्बिनी सडकखण्डमा पवन हलुवाईसहितको तीन अर्ब लगानीमा अर्को पाँच तारे होटल पवन प्यालेस इन्टरनेसनल पनि सञ्चालनमा आइसकेको छ । रुपन्देहीको मणिग्राममै रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा पूर्वाधार थपेर एक अर्ब बढी लगानी चारतारे स्तरको बनाइएको छ ।

भैरहवा-परासी सडक खण्डको बसन्तपुरमा एक अर्ब बढी लगानीमा सञ्चालित बोधी रेड सन होटल पनि स्तरोन्नति गरेर चारतारे स्तरको बनाइएको छ ।

मणिग्रामका ट्याक्टर व्यवसायी बालकृण भुसालले एक अर्बभन्दा बढी लगानीमा बेलहियामा तारे होटल मेघा निर्माण गर्दै छन् । काठमाडौँ रिद्धिसिद्धी समूहले गौतमबुद्ध विमानस्थल नजिक चारतारे होटल बनाउँदैछ । भैरहवाकै आशा गुरुङले भैरहवामा अर्गानिक परिकारको विशेषतासहित चार तारे होटल निर्माण गरेका छन् भने कृष्ण घिमिरेको समूह भैरहवा बुद्धचोकमा पाँचतारे होटल बनाउने तयारीमा छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीका छोरा अम्रिक चौधरीले अष्ट्रेलियाको अर्गाइली होटल ग्रुपको सहयोगमा लुम्बिनीमै पाँचतारे होटल भिलाजियो निर्माणको योजनामा छन् ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवाको अञ्चलपुरमा करिब २ बिघा क्षेत्रफलमा पाँच तारे होटेल बनाउन जग्गा खरिद गरिसकेको छ । लुम्बिनीमै डेढ अर्बभन्दा बढी विदेशी लगानीमा होटेल बुद्धमाया गार्डेन सञ्चालनमा छ । लुम्बिनीमै जापानी नागरिक नोर्बु कासाईले डेढ अर्ब बढी लगानीमा पाँचतारे होटल कासाई सञ्चालन गरेका छन् ।

लुम्बिनीभित्रै एक अर्बभन्दा बढी लगानीका होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, बैम्बो रिसोर्ट जस्ता ५० करोडभन्दा बढी लगानीका सुविधा सम्पन्न होटल सञ्चालनमा छन् भने ५ करोडभन्दा बढी लगानी भएका ७० वटाभन्दा बढी पर्यटकीय होटल लुम्बिनीमा छन् ।

भैरहवा र लुम्बिनीमा मात्रै पर्यटक स्तरका एक सय १३ होटेल सञ्चालनमा रहेका र यिनमा ३० अर्ब बढी लगानी भएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बताउँछन् । उनका अनुसार भैरहवामा एक रातमा चार हजार बढी पाहुनालाई स्तरीय होटलमा राख्न सकिन्छ । त्यस्तै, लुम्बिनीमा एक रातमा पाँच हजार पर्यटकलाई राख्न सकिने सिद्धार्थ होटल एसोसियसन लुम्बिनी शाखा अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन् ।

भैरहवामा ५० करोडभन्दा बढी लगानीमा होटल नान्स, होटल निर्वाणा तथा ५ करोडभन्दा माथि लगानी गरिएका यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सीटी म्याक्स, सीटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवरलगायत छन् ।

लुम्बिनीमा थप ११ वटा होटल बन्ने क्रममा छन् । सम्भावना राम्रो देखेपछि होटल व्यवसायमा स्थानीय मुस्लिम समुदायका उद्यमीले पनि लगानी गर्न थालेका छन् ।

प्रदेश सभा सांसद फखरुद्धिन खानका दाजु अक्रम खानले पर्साचोकमा तीनतारे स्तरको ग्राण्ड कोस्मो लुम्बिनी होटल सञ्चालनमा ल्याएका छन् ।

बुटवलमा ४० करोड बढी लगानी रहेका क्लब डेनोभो, एभिन्यु, डार्सिज, एभरेष्ट, महाराजा रिसोर्ट, न्यू इरा, सिन्दुर लगायतका होटल सञ्चालनमा छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसी बुटवलकै देवसिद्धचोकमा २५ कठ्ठा जग्गामा स्वीमिङ पुलसहित गार्डेन रिसोर्ट निर्माणको तयारीमा छन् । यसमा १० करोड बढी लगानी हुने उनको भनाइ छ ।

बुटवलमा ५ करोडभन्दा बढी लगानी रहेका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, एसियन, अम्रपाली कटेज, दियालो, मिरर इन, वृन्दावन पनि सञ्चालनमा छन् ।

उदाउँदो नगर तिलोत्तमामा जिल्लाकै पहिलो पाँचतारे टाइगर प्यालेस रिसोर्टसहित अर्ब लगानीका ड्रिम ल्याण्ड रिसोर्ट, टुलिप, पौवा, लक्ष्मी, एसआर र सुनगाभा रिसोर्ट सञ्चालनमा छन् । मणिग्राम पार्टी प्यालेसका सञ्चालकहरुले करिब दुई अर्ब लगानीमा रिसोर्ट निर्माण गरिरहेका छन् ।

तिलोत्तमाकै भलबारीमा स्थानीय चन्द्रमान श्रेष्ठ परिवारको बोधि भिल्ला रिसोर्ट निर्माण सम्पन्न भई सञ्चालनको क्रममा छ । ५० करोड बढी लगानी भएको बताइन्छ ।

तिलोत्तमाको मंगलापुरमा वाटर पार्क पनि सञ्चालनमा छ भने जानकीनगरमा अर्को वाटरपार्क बन्दैछ ।  तिलोत्तमाकै कानपारामा अजयकुमार चौधरीले पचास करोड बढी लगानीमा माछा पोखरीसहित अर्गानिक रिसोर्ट सञ्चालन गरेका छन् ।

तिलोत्तमामा अरु आधा दर्जन पर्यटकस्तरका होटेल खुल्ने क्रममा रहेका नगर प्रमुख बासुदेव घिमिरे बताउँछन् । ‘लगानी सम्मेलनपछि बुटवल र भैरहवाको मध्यभागमा तिलोत्तमामा ठूला होटेल र अन्य पर्यटन उद्योगहरु खुल्ने क्रम बढ्दो छ,’ नगर प्रमुख घिमिरले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बढ्ने पर्यटकको चापलाई मध्यनजर गरेर होटल तथा पर्यटन व्यवसायमा लगानी बढेको हो ।’

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधव खनालका अनुसार रुपन्देहीमा एक हजार बढी पर्यटक स्तरका होटल रहेका र एक रातमा १५ हजार पाहुनालाई बास बसाल्न सकिन्छ ।

रुपन्देहीमा सञ्चालित होटेलमा हालसम्म पाँच खर्बभन्दा बढी लगानी भइसकेको र करिब बीस हजारले रोजगारी पाएका खनालले बताए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र स्थायी प्रदर्शनी स्थल, ६ लेन सडक आदि पूर्वाधार तथा सम्पदाले होटल व्यवसायबाट पर्याप्त लाभ लिन सकिने देखेर लगानी आकर्षित भएको खनाल बताउँछन् ।

रुपन्देहीमा होटेल र पर्यटन क्षेत्रमा थप दुई खर्ब रुपैयाँ लगानी भित्रिने अवस्था रहेको खनालले बताए । पर्यटकलाई सेवा दिन रुपन्देहीमा मात्रै करिब एक सय ५० ट्राभल एजेन्सी पनि सञ्चालनमा रहेका पर्यटन कार्यालय भैरहवाका यमबहादुर कुँवरले बताए ।

‘मोनास्ट्रीले पाहुना राख्दा होटल व्यवसायी मारमा’

लुम्बिनी विकास कोष परिसरभित्रै बनेका विभिन्न देशका मन्दिर र बिहारमा सैयौंको संख्यामा पाहुना बास बस्दा आफूहरु मारमा परेको लुम्बिनी र भैरहवाका होटेल व्यवसायीहरुको गुनासो छ ।

लुम्बिनी मायादेवी मन्दिर परिषरभित्र चीन, श्रीलंका, जापान, कोरिया आदि विभिन्न देशले धर्मशालाहरु सञ्चालनमा ल्याएका छन्, जहाँ, ती देशबाट आउने पर्यटकहरुले रात बिताउने गरेका छन् ।

विदेशी पाहुनालाई लक्षित गरेर करोडौं लगानीमा राज्यलाई कर तिरेर होटेल सञ्चालन गरे पनि लुम्बिनी आउने भिक्षु भिक्षुणीलाई होटेलको जस्तै सेवासुविधा दिएर मन्दिर तथा गुम्बामा बस्न दिँदा व्यवसायी निराश बनेको लुम्बिनी पर्साचोकको ग्राण्ड कोस्मो लुम्बिनी होटेलका सञ्चालक अक्रम खान बताउँछन् ।

लुम्बिनी विकास कोषको विधान र नियमविपरीत मन्दिर र बिहारहरुले होटेल जस्तै संरचना बनाएर पाहुनालाई खाना खुवाउने र बास बसाल्ने गर्दा पनि सम्बन्धित निकाय मूकदर्शक बनेको खानले बताए ।

सिद्धार्थ होटेल एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले होटल तथा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकारी निकायले लुम्बिनीसँग सम्बन्धित देवदह, रामग्राम, तिलौराकोटसहित पाल्पाको रानीमहल, श्रीनगर, त्रिवेणी, रुरु, रेसुंगा, स्वर्गद्वारी जस्ता स्थानमा पनि सडक पूर्वाधार निर्माण र रुट कनेक्टिभिटी गरिदिनुपर्ने बताए ।

त्यस्तै भारतसँग सीमा जोडिएका स्थानमा स्पा, डान्स बार, क्यासिनो सञ्चालनलाई सहज बनाउनुपर्ने सुझाए पनि उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment