News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय काठमाडौंले सडक मर्मत एम्बुलेन्स प्रयोगमा ल्याएको जानकारी दिनुभयो।
- सडकमा देखिएका खाल्डाखुल्डीको फोटो खिची मोबाइल एपमा अपलोड गरी मर्मतको अद्यावधिक विवरण राख्न सकिने व्यवस्था गरिएको छ।
११ मंसिर, काठमाडौं । काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुरुवात गरे ।
सडक डिभिजन कार्यालय काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्न एम्बुलेन्स प्रयोगमा ल्याइने कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै सडकमा देखिएका खाल्डाखुल्डी तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डाको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिने छ ।
कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरिने बताए ।
उनले सडक मर्मतमा आउने गुनासो सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मत सेवा प्रवाह अझै प्रभावकारी बनाइनुपर्ने उनले जोड दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीले सडक एम्बुलेन्स प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासो तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्र्य प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले एम्बुलेन्स प्रयोगबाट ३ सय ६५ दिन र चौबिसै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत गरी सहज आवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गरे ।
एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिने छ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भिडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने छ ।
प्रतिक्रिया 4