Comments Add Comment

पदयात्रा : रारादेखि खप्तडसम्म

१२ पुस, काठमाडौं । करिब ७ वर्षअघि खप्तड हुँदै रारासम्म यात्रा गरिएको थियो । यसपालि उल्टो यात्रा तय गरियो । रारादेखि खप्तडतर्फ । यसबीचमा पर्ने पदमार्ग माझै चौरदेखि ज्युकासम्म हामी पैदल हिँड्दैछौं ।

माझै चौरदेखि ज्युका पुग्न तीन घण्टा हिँड्नुपर्छ । यो निकै उचाइमा रहेको पदमार्ग हो ।

सात वर्षअघि यही बाटोबाट यात्रा गर्दा र अहिलेको परिवेश फरक पाएँ । त्यसबेला यस बाटोमा स्थानीयबासी मात्र हिँडिरहेका भेटिन्थे । अहिले आगन्तुक अर्थात आन्तरिक पर्यटक थपिएछन् । रारा र खप्तड जोड्ने यो पदमार्गमा आन्तरिक पर्यटकको लस्कर देखियो ।

खप्तडदेखि रारासम्म पैदल यात्रा गर्ने हो भने दुई हप्ताको समय छुट्याउनुपर्छ । यस पदमार्गको विशेषता के भने यसले नेपालको सबैभन्दा ठूलो ताल रारा र धार्मिक आस्थाको केन्द्र खप्तडलाई जोड्छ । अर्थात खप्तड र रारा तालको साँघु हो यो ।

खप्तड धार्मिक आस्था राख्नेहरुका लागि मात्र होइन, प्राकृतिक सौन्दर्यमा रमाउनेहरुका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य हो । राराको कुरै नगरौं, यो आन्तरिक पर्यटकले हराभरा हुने ठाउँ हो । खासगरी सडक सञ्जालले जोडेपछि राराका पाहुना बढेका हुन् । यसरी रारा पुग्नेमध्ये धेरैलाई चाहिँ खप्तड–राराको पदमार्गबारे भेउ छैन ।

७ वर्षअघि हामीले उक्त बाटो हिँड्दा होटलको व्यवस्था थिएन । स्थानीयबासीकहाँ पाहुना लाग्दै यात्रा जारी राखिएको थियो । अहिले भने परिदृश्य फेरिएको छ । ठाउँ–ठाउँमा होटल सञ्चालनमा ल्याइएको छ ।

पश्चिम नेपाल पर्यटकको भर्जिन क्षेत्र : राजु कार्की, सहसंयोजक, भ्रमण वर्ष २०२०, कर्णाली प्रदेश

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यलाई जोेडेर बनाइएको पदमार्ग हो यो । तर, यसको जति प्रचार हुनुपर्ने हो त्यति भएको छैन ।

उक्त पदमार्गलाई व्यापकता दिन कर्णाली प्रदेश सरकार एवं सुदूरपश्चिम सरकारको समन्वयमा भएमा दुई प्रदेशको समृद्धिको ढोका खुल्ने निश्चित छ । पश्चिम नेपाल अहिले पनि बाह्य तथा आन्तरिक पर्यटकका लागि भर्जिन क्षेत्र हो ।  अझ यो पदमार्ग त भर्जिन नै हो । मनोरम प्राकृतिक दृश्यहरु समेटेको यस क्षेत्रको आफ्नै कला संस्कृति पनि छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment