Comments Add Comment

राजदूत शेर्पाको सकस : भिसा लगाउन मैले एक महिना कुर्नुपर्‍यो !

'मेरो परिवार गरेर देखाउने परिवार हो'

१६ पुस, बार्सिलोना । ३० देशमा नेपालका दूतावास, राष्ट्र संघका लागि तीन स्थायी नियोग र ६ महाबाणिज्य दूतावास छन् । म्याड्रिडमा स्थापना भएको दूतावास नेपाल सरकारको पछिल्लो कूटनीतिक नियोग हो ।

स्पेनकी नवनियुक्त राजदूत दावा फूटी शेर्पासमक्ष स्पेनबासी नेपालीले गुनासो पोखे, ‘हामीले १० वर्षदेखि स्पेनमा दूतावास स्थापनाको माग गर्दै आएका थियौं, अहिले म्याड्रिडमा नेपाली राजदूतावासको झण्डा फराएका हौं । तर, विगत दुई वर्षदेखि दूतावास सञ्चालनमा आए पनि राम्रो गति लिन सकेन ।’

‘एक त नयाँ दूतावास, त्यसमाथि पटक-पटक राजनीतिक नियुक्ति गरेर राजदूत पठाउँदा दूतावासले गति लिन सकेन’ एनआरएनए स्पेनले सोमवार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केही सहभागीले यस्तो गुनासो पोखे । वर्षेनी ५/६ करोड खर्च हुने दूतावासले नेपालको हितमा आर्थिक कूटनीतिका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने प्रवासी नेपालीको सुझाव छ ।

‘म्याड्रिडमा दूतावास सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि आफ्नो वेभसाइटमा गतिविधिहरुसमेत अपडेड गर्न सकेको छैन । न त नेपालको बारेमा कुनै जानकारी राखिएको छ । कन्सुलर सर्भिसका बारेमा पनि जानकारी छैन । महामहिमज्यू, तपाई आएको पनि डेढ महिना पुगिसक्यो, वेभसाईटमा कहिलेदेखि अपडेड होला ?’ एक सहभागीले राजदूत शेर्पालाई प्रश्न तेर्स्याए ।

जवाफमा राजदूत शेर्पाले आफू निकै उत्साहित र केही गर्नकै लागि आएको भन्दै धैर्य गर्न आग्रह गरिन् । सहभागीहरुको जिज्ञासा सुनेपछि उनले भनिन्, ‘नेपाली राजदूत भएर आउँदाखेरि निकै उत्साहित भएकी छु । धेरै योजनाहरु लिएर आएकी छु । मेरो ४ वर्षको कार्यकालमा नेपाललाई प्रमोट गर्ने मुख्य उद्देश्य हो ।’

नयाँ देश, नयाँ भाषा आफैंलाई सेटल हुन एक महिना लागेको राजदूत शेर्पाको भनाइ थियो ।

राजदूत शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी पनि हुन् । उनी पासाङ ल्हामु शेर्पा फाउन्डेसनकी अध्यक्ष पनि हुन् । अमेरिकामा अध्ययन गरेकी उनी ३५ वर्षको उमेरमा नै राजदूत बनेर स्पेन आएकी हुन् । स्व. पासाङ ल्हामुका दुई छोरी र एक छोरा छन् । राजदूत दावा फुटीका पिता सोनाम छिरिङ शेर्पा यती समूहका सञ्चालक हुन् ।

कार्यक्रममा अर्को प्रश्न पनि सुनियो, ‘तपाईकी आमाले सिङ्गो मुलुकको नामलाई उच्च राख्नुभयो, चार वर्षपछि दूताबासबाट र्फकंदा सबैको हाईहाई भएर फर्कनुहुन्छ त ?’

जवाफमा शेर्पाले भनिन्, ‘मेरो परिवार गरेर देखाउने परिवार भएकाले म धेरै भाषणभन्दा पनि काम गरेर देखाउनेमा विश्वास गर्छु ।’ दूतावासमा दोस्रो राजदूतका रुपमा आउँदा आफूलाई गर्वका साथै थुप्रै चुनौतीहरु पनि रहेको उनको भनाइ थियो ।

त्यसो त राजदूत शेर्पालाई बोल्न र भाषण गर्नमा नै समस्या देखिएको छ । कार्यक्रममा सहभागीहरुले थुप्रै प्रश्नहरु राखे पनि टिपोट त गरिन् तर प्रश्न अनुसारको जवाफ फर्काउन सकिनन् । कूटनीतिक प्रश्नहरु गर्दा राजदूतका लागि जटिलजस्तै देखिन्थ्यो ।

उनले थपिन्, ‘अघि कसैले भन्नुभएको थियो नि, यो एउटा परीक्षा हो भनेर । परीक्षाका लागि पढाइ गर्नुपर्छ । हो, मैले अहिले एकदमै पढाइ गरिरहेको छु । यो अन्तरक्रिया पनि सिकाइ नै हो । धेरै कुराहरु सुनें र सिकें पनि । तपाईंहरुका सुझावहरुलाई व्यवहारमा उतार्नका लागि म प्रतिवद्ध छु ।’

भम्रण वर्षमा दूतावासले के गर्दैछ ?

नेपाल भ्रमण बर्षमा म्याड्रिड दूतावासले गर्ने ठोस योजनाहरु त राजदूतले प्रस्तुत गरिनन्, तर पर्यटन क्षेत्रलाई आर्थिक कूटनीतिको पाटोमा राख्दै दूतावासले प्रभावकारी काम गर्ने प्रतिवद्धता ब्यक्त गरिन्।

‘थुप्रै क्षेत्रहरु छन्, जहाँ हामीले केन्द्रित गर्न सक्छौं । त्यसमध्ये म आफू पर्यटन व्यवसायीको परिवारबाट आएको हुँदा अझ बढी योबारे काम गर्नेछु । भर्खर आएको डेढ महिना मात्र भयो । त्यसमाथि हाम्रो सानो टिम छ । अलि धैर्य राखिदिनु होला ।’

म्याड्रिडमा हुने अन्तराष्ट्रिय पर्यटन मेला फितुरमा दूतावासले नेपाल पर्यटन बोर्ड र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)सँग मिलेर काम गर्ने उनले जानकारी दिइन् । स्पेनस्थित संघ संस्थाहरुलाई आ-आफ्नो ठाउँबाट भ्रमण वर्षलाई सफल पार्न राजदूत शेर्पाले आग्रह समेत गरिन्।

भिसा प्रक्रिया सहज बनाउन पहल गर्छु – राजदूत

दिल्लीस्थित स्पेनिस दूतावासले भिसा प्रक्रियामा धेरैले कठिनाई झेल्नुपरेको सहभागीहरुले गुनासो पोखेपछि राजदूत शेर्पाले समेत आफ्नो अनुभव सुनाइन्। ‘हाम्रै डिप्लोम्याटिक पासपोर्टमा भिसा लगाउन मैले नै एक महिना कुर्नुपर्‍यो । हाम्रो डकुमेन्टमा के कमी छ ? के गर्दा प्रक्रिया सहज हुन्छ भनेर दिल्लीस्थित स्पेनिस दूतावासमा मैले सोधेकी थिएँ । तर, उहाँहरुले पहिले-पहिले अलि समस्या थियो, अहिले सहज भएको जवाफ दिनुभयो । फेरि यहाँको कन्सुलर डिपार्टमेन्टको डेपुटी डाइरेक्टरसँग भेट्दैछु । तपाईंहरुको परिवार बोलाउँदा कसरी सहज हुन्छ, उहाँसँग छलफल गर्दै यसबारे पहल गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment