Comments Add Comment

चिनीमा राजनीति : राजपा ताला ठोक्ने, नेकपा फुटाउने !

१७ पुस, गोडैता (सर्लाही) । उखु किसानले लामो समयदेखि चिनी उद्योगबाट भुक्तानी नपाएपछि अहिले उनीहरु आन्दोलनमा उत्रेका छन् ।

उद्योगले उखु बिक्रीवापतको लाखौं रकम दिन नमान्दा कतिपय किसानहरु संघीय राजधानी काठमाडौं गई आन्दोलन थालेका छन् । किसानले आन्दोलन शुरु गर्दा समेत सरकारले खासै चासो नदेखाएको अवस्था छ ।

किसानकै भनाईलाई मान्ने हो भने सरकार, राजनीतिक दलका नेता र सरकारी कर्मचारीले पनि आफूहरुप्रति वेवास्ता गर्दै आएका छन् । उखु किसानको यो आरोप सही रहेको बिहीबार सर्लाहीको एउटा घटनाले पुष्टि गरेको छ ।

सर्लाहीको गोडैता नगरपालिका ६ स्थित चिनी उद्योगमा किसानको जनलहरलाई सम्बोधन गर्न विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधिसम्म पुगे । अधिकांशले किसानको पक्षमा चर्काे बोल्दै बाहवाही लुटे । उखुको भुक्तानी दिइनुपर्ने भाषण ठोकेपछि किसानले ताली बजाए ।

तर तालीको गड्गडाहटको सम्मान कतिपय नेताले कायम भने राख्न सकेनन् । उनीहरुमध्ये कतिपय तत्कालै उद्योगीको पक्षमा लागेको आफैं पुष्टि गरे ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ती नेताले उद्योगीको पक्षमा रहेको पुष्टि मात्रै गरेनन्, खुलेरै पक्षमा लागे ।

किसानले उद्योगमा लगाएको ताला नेकपाका नेता शिवपूजन यादवले आफ्नै अग्ररतामा तोडिदिए । कांग्रेसबाट प्रतिनिधिसभा सांसद बनेका नागेन्द्र राय यादवले उद्योगीको पक्षमा वकालत गरे ।
बिहीबार महालक्ष्मी चिनी उद्योग सञ्चालन गर्ने तरखर गरिरहँदा किसानहरुले भुक्तानी नदिएसम्म सञ्चालन गर्न नदिने भन्दै अडान राखेका थिए ।

किसानको यो अडानबीच उद्योगी एवं कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कनोडियाले सोमबार भुक्तानी गर्ने वचन दिएका थिए ।

तर उद्योगीले राजनीतिकर्मीको आडमा जबरजस्ती उद्योग सञ्चालन गर्न खोजेको भन्दै किसानको नेतृत्वमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले उद्योगको कार्यालयमा ताला लगाइदिएका थिए ।

किसानहरुसहित पुगेका राजपाबाट निर्वाचित प्रमुख यादवले ताला लगाएको केहीबेरमै पूर्वसांसद समेत रहेका नेकपाका नेता शिवपूजन यादवको नेतृत्वमा गएको टोलीले ताला फुटायो ।

ताला लगाउने नगरपालिका प्रमुख यादव र नेकपा नेता शिवपूजन दुबैले किसानले नै ताला लगाएको र किसानले नै तोडेको प्रतिकृया दिएका छन् । ‘किसानको भिडले भुक्तानी माग्दै ताला लगाएको हो’ मेयर यादवले भने, ‘हामी हिँडिसकेपछि शिवपूजनजीले ताला तोड्न लगाउनुभएको हो ।’

किसानको पैसा दिएपनि/नदिएपनि मिल हामी चलाउँछौं भन्दै शिवजूजनले ताला तोडेको बताउँदै मेयर यादवले यस बिषयमा शुक्रबार बैठक बसेर थप छलफल अघि बढाइने बताए ।
‘किसानको करोडौं रकम लिएर भाग्न खोजेको मान्छेका लागि दलाली गर्न नेकपाको नेतालाई मिल्छ ?’ मेयर यादवले भने, ‘यसको घोर भत्र्सना गछौं र भोलि (शुक्रबार) बैठक बसेर थप निर्णयहरु गर्छाैं ।’

नेकपा नेता शिवपूजनको पनि आफ्नै तर्क छ । उनले एकजना मेयरले मात्रै चिनी मिलमा ताला लगाएको बताए । आफूसहित बलरा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिहरु छलफल गरिरहेकै समयमा मेयर यादवले एक्लै ताला लगाएको उनले बताए ।

मेयरले एक्लै ताला लगाए पनि उद्योगी कनोडियाले सोमबार भुक्तानी दिने आश्वासन दिएपछि किसानले नै ताला तोडेको नेकपा नेता शिवपूजनको तर्क छ ।

‘उद्योगीले भुक्तानी दिने बताइसकेपछि ताला लगाउनुको के अर्थ ?’ उनले भने, ‘त्यसैले किसानले ताला तोडेका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment