+
+
Shares

भोटेकोशी बाढीपीडितका लागि न्यूह्याम्पसायरका नेपाली अमेरिकी समुदायबाट १ करोड बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १०:४७

१२ असोज, न्यूयोर्क । अमेरिकाको न्यूह्याम्पसायर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।

न्यूह्याम्पसायर नेपाली समाजको अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।

समाजका अध्यक्ष लाक्पा शेर्पा नेतृत्वको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोहबीच उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछिको विपदमा सहयोग गर्ने नेपाली अमेरिकी समुदाय, विदेशमा बसोबास गर्ने नेपाली तथा नेपालप्रति सद्भाव राख्ने सबैप्रति धन्यवाद व्यक्त गरे । उनले यस्तो सहयोगले सरकारको राहत तथा पुनर्स्थापना अभियानमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै सहयोग रकम जिम्मेवार र उचित ढंगले परिचालन गरिने विश्वास व्यक्त गरे ।

समाजका अध्यक्ष लाक्पा शेर्पाले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, परिवार, व्यवसायी, संघसंस्था तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्दै बाढीपीडित परिवारले यथाशीघ्र राहत तथा पुनर्स्थापनाको अवसर पाउनुपर्नेमा जोड दिए ।

समाजका उपाध्यक्ष माधव गुरुङले संस्थागत तथा समन्वयात्मक प्रयासमार्फत सहयोग संकलन गर्दा पीडितलाई आर्थिक सहयोग पुग्नुका साथै समुदायको एकता र ऐक्यबद्धताको सशक्त सन्देशसमेत जाने विश्वासका साथ अभियान सुरु गरिएको बताए ।

कार्यक्रममा परराष्ट्र सचिव अमृतकुमार राई, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, न्यूह्याम्पसायर नेपाली समाजका महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई तथा गैरआवासीय नेपाली संघ, न्यूह्याम्पसायर शाखाका अध्यक्ष रोशन गुरुङलगायत समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

भोटेकोशी बाढीको विनाशकारी घटनालगत्तै न्यूह्याम्पसायर नेपाली समाजले ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरी राहत तथा पुनर्स्थापनाका लागि सहयोग संकलन अभियान सुरु गरेको थियो ।

यस अभियानअन्तर्गत न्यूह्याम्पसायर दिदीबहिनी समूहले हरितालिका तीज कार्यक्रमका लागि संकलन गरेको करिब १५ हजार अमेरिकी डलर बाढीपीडितको सहयोगका लागि प्रदान गरेको थियो । नेपालमा विपत्ति र शोकको अवस्था रहेकाले ऐक्यबद्धता जनाउँदै समूहले तीज कार्यक्रमसमेत स्थगित गरेको थियो ।

राहत संकलन अभियानमा विभिन्न व्यवसायी, परिवार तथा सामुदायिक संघसंस्थाले उल्लेखनीय सहयोग गरेका थिए । न्यूह्याम्पसायर समिट, सनसाइन कम्युनिटी केयर, भिजन फर इन्डिपेन्डेन्स, होम फर बटरफ्लाइज, न्यूह्याम्पसायर हिमालयन परिवार तथा न्यूह्याम्पसायर गुरुङ समाजलगायतका संस्था तथा समूहले अभियानमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै न्यूह्याम्पसायर नेपाली समाजले अक्टोबर १० का लागि तय गरिएको आफ्नो वार्षिक बडादशैं उत्सव ‘दशैं साँझ’ समेत रद्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?