Comments Add Comment

रुपन्देहीमा पानीमुनिको रिसोर्टदेखि केबलकारसम्मको योजना

सिद्धार्थ केबलकारको टप स्टेसनको डिजाइन

१८ पुस, बुटवल । रुपन्देहीको सियारी ४ छपियामा एकजना कृषकले २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् । नेपालमै पहिलोपटक अष्ट्रिच चरा पालेर चर्चा कमाएका बुटवलका उद्यमी सीपी शर्मा पानीमाथि र पानीमुनि बस्न मिल्ने १८० कोठासहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेको बताउँछन् ।

शुद्धोधन गाउँपालिका वडा नं. १ फर्साटिकर बेलवामा २४ बिगाहा जमीनमा एक अर्ब लगानीमा २.५ किलोमिटर लम्बाइको गोलाकारको तालमा रिसोर्ट बन्ने छ । यो रिसोर्ट बनेमा नेपालमै नौलो हुनेछ ।

उनले रिसोर्टमा खाद्यान्नदेखि माछामासुसमेत आफ्नै उत्पादन उपलब्ध गराउने तयारी गरेका छन् । जसका लागि शर्माले कडकनाथ कुखुरा पाल्न थालेका छन् । ३० हजारभन्दा बढी संख्यामा कालो कुखुरापालन शुरु गरेका उनले रिसोर्ट निर्माणको काम पनि सँगसँगै अघि बढाएका छन् ।

तालको बीचमा पानीको फोहरासहितको विशाल फाउण्डेशन निर्माण हुनेछ । दानव नदीको किनारमा बन्ने तालको दक्षिण पूर्वतर्फ बास बस्न मिल्ने १८० कोठाहरु तयार हुनेछन् । ती सबै कोठाबाट तालमा बल्छी हानेर माछा मार्न मिल्ने गरी डिजाइन तयार गरिएको शर्माले बताए ।

रुपन्देहीस्थित टाइगर रिसोर्ट

रिसोर्टकी सञ्चालक डा. शर्मिला शर्माले बालबालिका, युवा, प्रौढ सबै उमेर समूहलाई अनुकूल हुने गरी रिसोर्ट निर्माण हुने बताइन् । बास बस्न आउने बाहेकका पर्यटकले कम्तिमा पनि चार घण्टा रिसोर्टमा बिताउने गरी प्राकृतिक वातावरण बनाउने उनले बताइन् ।

यो रिसोर्टसहित रुपन्देही र आसपासका जिल्लामा होटेल तथा पर्यटन क्षेत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एक अर्ब ८२ करोड लगानी गरेको छ ।

यो पनि पढ्नुहोस रुपन्देही होटलको हब बन्दैछ, तर लुम्बिनीमा किचलो

पर्यटन उद्योगमा बैंकले आफ्नो कूल लगानीको करिब १० प्रतिशत लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बताए । ‘होटल र पर्यटन क्षेत्र तुलनात्मक लाभका हिसाबले राम्रो सम्भावनाको क्षेत्र हो, राम्रा परियोजना आए हामी सहज रुपमा लगानी गर्छौं,’ पौड्यालले भने ।

केबलकार बनाउने योजना

बुटवलमा दुईवटा केवलकार परियोजना पनि अघि बढेका छन् । मणिमुकुन्द सेन उद्यान (फूलबारी) नजिकैबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार चलाउने प्रक्रिया थालेको छ । होटेल व्यावसायी र राजनीतिकर्मीहरुको लगानीमा सिद्धार्थ केबलकार प्रालिले यो केबलकार बनाउने प्रक्रिया अघि बढाएको हो । २ किलोमिटर दुरीको बुटवल-नुवाकोट केबलकारको डीपीआर र पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको छ । केबलकार सञ्चालनका लागि मन्त्रिपरिषद् बैठकले अनुमति दिइसकेको छ ।

दुई वर्षभित्र केबलकार सञ्चालन गर्ने गरी प्रकृया अघि बढाइएको सिद्धार्थ केबलकार प्रालिका सञ्चालक राजेन्द्र गुरुङले बताए । यसमा पहिलो चरणमा ९९ जना स्थानीय व्यवसायीहरुले ८० करोड लगानी गरेका छन् ।

केबलकार सञ्चालनपछि रुपन्देही आउने आन्तरिक एवं बाह्य पर्यटकहरु सजिलै नुवाकोटसम्म पुग्ने छन् । बुटवलबाट उत्तर ११ किलोमिटरको दुरीमा रहेको नुवाकोटमा गर्मी छल्न र वनभोज खान जाने आन्तरिक पर्यटकको संख्या बढेपछि यहाँ पर्यटनको सम्भावना देखेर यस क्षेत्रका ब्यवसायीहरुले केबलकारमा लगानी गरेका हुन् ।

नेपाल-अंग्रेज युद्धमा नेपाली फौजले विजय प्राप्त गरेको ऐतिहासिक किल्लासमेत रहेकाले केबलकार सञ्चालनपछि यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने लगानीकर्ताको विश्वास छ । नुवाकोट डाँडामा स्तरीय होटल, रिसोर्ट र पार्क निर्माणसमेत अघि बढाइएको छ ।

नुवाकोटको पर्यटन प्रवर्द्धनका लागि प्रदेश ५ सरकारले सांस्कृतिक डबलीसमेत निर्माण गर्दै छ । यसैवर्ष डीपीआर पूरा गरी काम शुरु गर्ने लक्ष्य छ ।

बुटवलमै चन्द्रागिरी हिल्स केबुलकार प्रालिसँगको साझेदारीमा  लुम्बिनी केबलकार प्रालिले बुटवलसँग सीमा जोडिएको पाल्पाको बसन्तपुरमा केबलकार सञ्चालन गर्ने प्रकृया अघि बढाएको छ । तीन अर्ब ५२ करोडको अनुमानित लागतमा गोलपार्क बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालन गर्ने योजना रहेको लगानीकर्ता एवं बुटवल-४ का वडा अध्यक्ष तेजबहादुर सुनारले बताए ।

त्यसैगरी गैडहवाको ८५ बिघा एकीकृत कृषि फार्म, शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र, मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला, हिलपार्क, ग्लोबल पिस पार्क, देवदहको पाकरी वृक्ष पनि रुपन्देहीका पर्यटकीय गन्तव्य हुन् ।

‘रुपन्देहीमा बनेका स्तरीय होटेल, रेष्टुराँ र पर्याप्त पर्यटकीय पूर्वाधारहरुले संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन र पर्यटक आकर्षित गर्न सघाउ पुर्‍याउने छन्,’ पर्यटन व्यवसायी सञ्जय बजिमयले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment