Comments Add Comment

पृथ्वीनारायण शाह काठमाडौं हिँडेको बाटोमा सेनाको पदयात्रा

‘एकीकरण पदमार्ग’को रुपमा विकास गर्ने योजना

१८ पुस, गोरखा । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखादेखि काठमाडौंसम्मको पैदल बाटोमा नेपाली सेनाले शुक्रबारबाट पदयात्रा शुरु गरेको हो ।

गोरखा दरबारको हुनमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिने छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा लिएर बाजागाजासहित ४० जनाको टोली राष्ट्रिय झण्डा, टर्चसहित पदयात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले जानकारी दिए ।

केसीका अनुसार टोली गोरखाको जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै शुक्रबारै बोर्लाङघाटमा बास बस्छ । ‘गोरखाबाट गएको टोलीले अपराह्न साढे चार बजे धादिङको देवीदत्त गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ, त्यहाँबाट नुवाकोटसम्म देवीदत्त गणकै टोलीले बाजागाजासहित झण्डा र टर्च नुवाकोट पुर्‍याउँछ,’ केसीले भने ।

धादिङको टोलीले उक्त टर्च र झण्डा नुवाकोटको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ । काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । ‘नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीको दिन पुस २७ गते सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ,’ केसीले भने ।

पदयात्रामा निस्किएको टोलीमा पृथ्वीनारायण शाहकालीन पोशाक लगाएका सेनाहरु पनि सहभागी छन् । टोलीको नेतृत्व रणसिंह दल गणका क्याप्टेन इन्द्रबहादुर खत्रीले गरेका छन् ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको गणपति केसीले बताए । पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको अपेक्षा छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ ।

पदयात्रा शुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो । नेपाली सेनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्त रुपमा क्याप्टेन खत्रीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै पृतनापति भण्डारीले पदमार्ग, कोट, गणी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताए । नयाँ पुस्ताले बिर्संदै गएको इतिहासलाई यो कार्यक्रमले ताजा बनाइदिएको भन्दै गोरखा नगरपालिकाका प्रमुख पन्तले इतिहास जर्गेनाका लागि नेपाली सेनासँग समन्वय गर्न तयार रहेको जानकारी गराए ।

सेनाले शुरु गरेको पदयात्राले राज्य एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदानको पनि स्मरण गराएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको भनाइ छ ।

भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले एकीकरण पदमार्ग अन्तरगत आफ्नो पालिकामा पर्ने क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्ने बताए । पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले ऐतिहासिक पदमार्ग संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले पनि चासो दिनुपर्ने भनाइ राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment