+
+
Shares

‘दलाल’को दलदलमा कञ्चनपुरका उखु किसान

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७६ पुष १८ गते १६:१९

१८ पुस, धनगढी । खेलमा उखु सुक्न थालेपछि कञ्चनपुर पुर्नवास नगरपालिका १० विकास वस्तीका रामबहादुर राना पटक–पटके भागेश्वर सुगर एन्ड केमिकल इन्डस्ट्रीमा पुगे । तर चिनी मिलले ‘उखु काट्नुस्, हामी लिन्छौं’ भनेन ।

उनलाई भने उखु सुक्दै गएको चिन्तासँगै गहुँ लगाउनुपर्ने हतार थियो । त्यसैले उखु काट्ने निर्णय गरे । उखु काटेको दुई सातासम्म बिक्री भएन । त्यही उखुको पातले छोपेर राखेका छन् । उनी भन्छन्, ‘बेच्नेले त दलालमार्फत पनि बेचे । दलालको पछि नपरेकाले होला, मेरो उखु बारीमै सडिरहेको छ ।’

उनी अघि भन्छन्, धान, गहुँ भए त बजारमा लगेर बेच्न सकिन्थ्यो । उखु त मिलमै दिनुपर्‍यो ।’

किसानका अनुसार मिलले पूर्जी  दिएपछि मात्र उखु काट्ने गरिन्छ । तर धेरै किसानले अर्को बाली लगाउनुपर्ने बाध्यताका कारण पूर्जी नपाउँदा पनि आफैं उखु काटेका छन् । यसरी काटिएको उखु मिलले खरिद नगर्दा बारीमै सुकिरहेको छ ।

काटेको उखु बारीमै सुक्न थालेपछि किसानले  दलाललाई सस्तैमा बेच्ने गरेका छन् ।

उनीहरु मध्ये एक हुन्, मायाराम राना । उनले १४ कठ्ठमा उखु लगाएका थिए । मिलले तौल पर्चा नदिएपछि बाध्य भएर उनी बिचौलियासँग पुगे । उनी भन्छन्, ‘केही सीप नलागेपछि बिचौलियालाई प्रतिक्वीन्टल तीन सय रुपैयाँका दरले बेचेँ ।’

२ कट्ठामा लगाएको उखु सस्तोमा बेचेका उनले १२ कट्ठामा लगाएको उखुको भने राम्रो मूल्य पाउने अपेक्षा गरेका छन् । मिलले उखु काट्न नभनी काटे फेरि बारीमै सड्ला भन्ने चिन्ता सुनाउँदै मायारामले भने, ‘मिलले पूर्जी दिएपछि बल्ल काट्नुपर्छ । हामी किसानसँग पुर्जी हुँदैन । दलालहरू पुर्जी बोकेर हिँड्छन् ।’

बिचौलियाका कारण आफूहरू मारमा परेको अर्का किसान जगन्नाथ रानाले बताए । मिलले तौल पूर्जी किसानको साटो बिचौलियालाई दिने गरेको भन्दै उनी भन्छन्, ‘दलालले किसानसँग ३ सयमा खरिद गरे मिलमा साढे चार सय, पाँच सय रुपैयाँमा बेच्छन् । यो थाहा हुँदाहुँदै दलालको पछाडि नपरे हाम्रो उखु नै बिक्दैन ।’

विकास वस्तीका सयौं किसानले पुर्नबास १० पकरियाको करिब ३५० बिघामा उखु लगाएका छन् । कञ्चानपुरमै १० हजार बिघा भन्‍दा बढी क्षेत्रफलमा उखु खेती लगाइन्छ । दशकौंदेखि उखु खेती गरिरहेका किसानहरू त्यसबेलादेखि नै आफूहरु गठिएको गुनासो गर्छन् । ‘विकास वस्तीमै दलालले १०/० वटा पर्चा राखेका छन् । किसानको हातमा एउटा पनि पर्चा छैन’, उखु किसान रामबहादुर राना आक्रोश पोख्छन्, ‘व्यापारीले के टाउकोमा उखु उमार्छ ?’

किसानसँग सस्तोमा उखु खरिद गरेर महंगोमा बेच्न थुप्रै बिचौलिया सक्रिय रहेको भागेश्वर उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष रमेश थापाले पनि सुनाए । ‘कतिपय किसानहरूसँग त उनीहरूले असार साउनमै उखु खरिद गर्छन्’ उनले भने, ‘किसानहरू निकै सस्तोमा उखु बेच्न बाध्य छन् ।’

मिल प्रशासन भने उखुमा बिचौलिया नभएको दाबी गर्छ । भागेश्वर सुगर एन्ड क्यामिकल इन्डस्ट्रीका प्रशासन अधिकृत डम्बर खड्काले किसान र मिलमा बिचौलियाको प्रभाव नभएको बताए । ‘धेरै उखु लगाउने किसानहरूलाई हामीले केही बढी पर्चा दिएका हौंला, तर बिचौलियाको हातमा पर्चा दिएका छैनौं ।’

उनले मिलको क्षमता दैनिक १५/२० क्वीन्टल उखु पेल्ने भए पनि किसानले धेरै काट्दा समस्या भएको तर्क गरे । ‘हामीले सात स्थानमा सेन्टर तोकेका छौँ । सबै स्थानमा बराबर पर्चा वितरण गछौं । तर किसानले धेरै उखु काट्नुहुन्छ । त्यसले समस्या भइरहेको छ’ उनले भने ‘अहिले गहुँ लगाउन हतारो भएकाले पनि समस्या देखिएको हो । अन्य समयमा यस्तो समस्या आउँदैन ।’

सरकारले तोकेको मूल्य पाउनै सकस

सरकारले यो वर्ष उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । यसमध्ये ६५ रुपैयाँ २८ पैसा भने किसानले अनुदानका रुपमा पाउँछन् ।

बाँकी मिलले दिनुपर्ने हो । तर यहाँका किसानहरुलाई मिलले ४०१ रुपैयाँ मात्र दिने गरेको छ । ‘सरकारले निर्धारण गरेको नयाँ मूल्य हामीले पाएका छैनौ’ उखु उत्पादक किसान हक हित संरक्षण समितिका अध्यक्ष थापाले भने, ‘हामी निरन्तर आन्दोलनमा छौं, हामीलाई पुस ११ गतेदेखि नयाँ मूल्य चाहिन्छ भनेका छौं ।’

भागेश्वरका प्रशासन अधिकृत खड्काले उखु हेरेर मूल्य दिने गरेको बताए । उनले भने, ‘अर्लि जातको उखुलाई ४४१, जर्नललाई ४१६ र रिजेक्टलाई ४०१ रुपैयाँ दिने गरेका छौं ।’ सरकारले तोकेको मूल्यभन्दा त कम भयो नि भन्ने प्रश्नमा उनले नयाँ मल्यबारे छलफल भइरहेको तर कहिलेबाट लागू हुन्न भन्न नसकिने बताए ।

कञ्चनपुरमै रहेको अर्काे महाकाली महाकाली सुगर इन्डस्ट्रीले भने आफूहरू बढेको मूल्य दिन तयार रहेको बताएको छ । प्रशासन प्रमुख कालु ठगुन्नाले यस विषयमा छलफल भइरहेकाले सरकारले तोकेको मूल्य दिन तयार रहेको बताए ।

तर उनले पनि अर्लि, जर्नल र रिजेक्ट सबैथरी उखुलाई सरकारले तोकेको मूल्य दिन नसक्ने तर्क गरे । ‘अन्य ठाउँमा एउटै जातको उखु हुन्छ यहाँ फरक छ’ उनले प्रतिप्रश्न गरे, ‘फरक जातका उखु लगाएर एउटै मूल्य कसरी होला त ?

नगदे बाली, उधारो कारोबार

बर्षाैदेखि उखु लगाउँदै आएका पुर्नवास १० का मायाराम चौधरीले गत वर्षकोे रकम केहीदिन पहिले मात्रै पाए । यस वर्षको रकम कहिले आउँछ भन्ने थहा छैन । ‘पैसा दिन एक वर्ष लगाउँछ । एक वर्ष पहिलेको पैसा अहिले पाएका छौँ ।’ उनले गुनासो गरे, ‘अहिलेको पैसा कहिले पाउँछौ थाहा छैन ।’

उखु मिलले चिनी बेचेर मात्रै पैसा दिन्छु भन्दा किसान समस्यामा परेको उनले सुनाए ।

भागेश्वर मिलले २० मंसिरबाट उखु खरिद थालेको थियो र अहिलेसम्मसाढे चार लाख क्वीन्टल उखु खरिद गरिसकेको छ । तर किसानले अहिले सम्म पैसा पाएका छैनन् ।

मायाराम भन्छन्, ‘सस्तोमै भए पनि उखु त बेचियो, तर पैसा कहिले पाइने हो थाहा छैन ।’

भागेश्वरका प्रशासन अधिकृत खड्काले यसबारे पछि मात्र छलफल हुने बताए । सरकारले तोकेको नयाँ मूल्य लागू गर्दा किसानले पाउने भुक्तानीको सूचि पनि सार्वजनिक गर्ने उनले जानकारी दिए । महाकाली सुगर इन्डस्ट्रीले भने माघ २० गतेदेखि रकम उपलब्ध गराउने गरी सूची बनाइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?