Comments Add Comment

बुटिक होटेलसमेत अब सरकारको वर्गीकरणमा

साधारण बुकिट होटेलको मापदण्ड कम्तीमा तीनतारे सरह

१९ पुस, काठमाडौं । सरकारले अब हेरिटेज तथा बुटिक होटेलहरूलाई समेत वर्गीकरण गरी प्रमाणपत्र दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटेल तथा रिसोर्टहरूसम्बन्धी ल्याएको नयाँ मापदण्डले हेरिटेज र बुटिक होटेललाई समेत वर्गीकरण गरेको हो । बुटिक होटेलका नाममा खुलेका होटेलहरू अब सेवा र सुविधाको हिसाबले समेत ‘लक्जरी’ हुनुपर्ने छ ।

बुटिक होटेलहरू अब तीन प्रकारका हुनेछन्, साधारण, डिलक्स र लक्जरी । सेवा तथा सुविधाका दृष्टिकोणबाट साधारण बुटिकको स्तर तीनतारे, डिलक्स बुटिकको स्तर चार तारे र लक्जरी बुटिकको स्तर पाँचतारे रहने गरी वर्गीकरण गरिएको छ । तर, कोठाहरूमा भने पाँचतारेकै हाराहारी संख्या चाहिँदैन ।

कम्तीमा ३५ कोठा भएको बुटिक होटेलले समेत लक्जरी स्तरको मान्यता पाउने छ । कम्तीमा २५ कोठा भएको बुटिक होटेलले डिलक्स र कम्तीमा १५ कोठा भएको बुटिक होटेलले साधारण बुटिक होटेलको मान्यता पाउने भएको छ ।

के हुन् हेरिटज र बुटिक ?

समग्र होटेलको वातावरण नेपाली परम्परा र मौलिकता झल्कने गरी तयार पारेको संरचनालाई हेरिटेज हेरिटज र बुटिक होटेलका रूपमा राखिने भएको छ । यस्ता होटेलको बाहिरी तथा आन्तरिक स्वरूप नेपालको ऐतिहासिक, पुरातात्विक वा सांस्कृतिक मौलिकता झल्कने खालको हुनुपर्छ । वनावट पनि पृथक हुनुपर्ने प्रावधान राखिएको छ ।

होटेलको प्रवेशद्वार, परिसर, झ्याल तथा ढोकाहरू नेपाली मौलिकता झल्कने गरी निर्माण गरिएको हुनुपर्ने छ ।

होटेलमा नेपाली मौलिक संस्कृति झल्कने कला एवम् संगीतको नियमित प्रदर्शन गर्ने स्थान तथा कलाकारको समेत व्यवस्था गर्नुपर्ने प्रावधान मापदण्डमा तोकिएको छ ।

बुटिक होटेलका कोठामा नेपालीपन झल्कने गरी मौलिक फर्निचरको प्रयोग भएको एवं भित्ताहरूको सजावटमा पनि मौलिक संस्कृति/सम्पदा झल्कने हुनेपर्ने उल्लेख छ ।

स्वागत–सत्कार र बिदाइ मौलिक शैलीमा

बुटिक होटेलहरूमा अतिथिलाई नेपाली मौलिक संस्कृतिले स्वागत, सत्कार तथा बिदाइ गर्नु पर्ने भएको छ । होटेलभित्रका अन्य सेवा सुविधा प्रदान गर्दासमेत मौलिकपनलाई विशेष ध्यान दिनुपर्ने छ ।

मेनु, ब्रोसर, प्रचार सामग्री, सोभेनियर ब्याग, होटेलमा प्रयोग हुने भाँडाकुँडाजस्ता सामग्रीसमेत परम्परागत एवं मौलिक हुनुपर्ने प्रावधान राखिएको छ । अतिथि सत्कार, वेटर, बारमा सेवा दिन बस्ने कर्मचारीले नेपाली मौलिक पोशाक लगाउनु पर्ने भएको छ । यस्तो होटेलले स्थानीय तथा अग्र्यानिक रूपमा उत्पादित खाना तथा पेय पदार्थलाई अधिकतम प्रयोगमा ल्याउनुपर्नेछ । पूर्वीय सभ्यतामा आधारित योगा, ध्यानजस्ता स्वास्थ्यवर्धक क्रियाकलापसमेत होटेलमा हुनेपर्ने भएको छ ।

वर्गीकरण गर्दा विज्ञ अनिवार्य

सरकारले कुनै पनि होटेललाई हेरिटज वा बुटिक होेटलका रूपमा वर्गीकरण गर्दा एक समिति बनाउने भएको छ । यसरी होटेलको स्तरीकरण गर्दा समितिमा पुरातत्व विभागबाट सम्बन्धित क्षेत्रको ज्ञान भएको प्राविधिक अधिकृत समेतलाई आमन्त्रण गर्नुपर्ने प्रावधान राखिएको छ । नेपालमा बुटिक होटेलका नाममा धेरै संरचना बनिसकेका छन् । तर, सरकारले पहिलो पटक यस्ता संरचनालाई समेत वर्गीकरणमा राख्ने भएको छ । सञ्चालनमा आइसकेका होटेलले ६ महिनाभित्र मापदण्ड पूरा गर्नुपर्ने र नयाँ होटेलका हकमा प्रारम्भबाटै मापदण्ड पूरा गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment