Comments Add Comment

सुरु भयो जलचरा गणना (तस्वीरसहित)

२१ पुस, चितवन । देशभरमा जलाशय र त्यस आसपास पाइने चराहरुको गणना कार्य सोमवारबाट सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज नजिक जिन्दगानी घाटबाट चराको गणनाको सुरुवात गरिएको हो ।

गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले चितवनको सिमसार क्षेत्र र कञ्चनपुरको शुक्लाफाँटबाट गणनको काम थालनी गरिएको बताए । हरेक वर्ष गरीने जल चरा गणना यसपटक पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म गर्ने तालिका छ । तर झरीका कारण दुई दिन ढिला गरी पुस २१ गतेदेखि गणना सुरु भएको छ । झण्डै २० जनाको टोली गणनामा जुटेको छ । बरालका अनुसार यसपटक नेपालभर ६० ठाउँमा चराको गणना हुनेछ ।

चितवनमा जल चरा गणनाका लागि नारायणी नदीकिनार र निकुञ्जतर्फ एक टोली तथा राप्ती किनारमा अर्को एक टोली परिचालित रहेको बरालले बताए ।

जिन्दगानीघाटदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामी ताल, तमार ताल, बीसहजारी ताललगायतका तालहरुमा गणना गर्ने तालिका छ । यसपटक माडीको रिउ खोलामा रहेका जलचराहरुको पनि गणना गरिने डा. बरालले जानकारी दिए ।

गणनामा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उनको भनाइ छ । नारायणी नदीकिनारतर्फ टाइगर टप्स थारु भिलेज रिसोर्टले जल चरा गणना गर्ने चराविद् टिका गिरीले जानकारी दिए । उनले नारायणी नदीकिनारको दुवै भँगालोमा चरा गणना हुने बताए ।

नवलपुरको सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म चरा गणना गरिने छ ।  चितवनमा जल चराहरुको अवस्था स्थिर रहेको अनुमान छ ।  यहाँको सिमसार क्षेत्रमा चखेवाचखेवीको संख्या बढी र हाँसका प्रजाति जस्तै, खोया हाँस, जुरे हाँस, सुइरो ढुँडे चराको संख्या कम भएको चराविद् बासु बिडारी बताउँछन् । विगतमा चितवनमा १५० प्रजातिका जल चराहरु भेटिएको उनको भनाइ छ । घोडाघोडी, बर्दिया, कोशी टापु लगायतका क्षेत्र जल चरा धेरै पाइने क्षेत्रमा पर्दछन् । नेपालमा ८८० प्रजातिका चरा पाइन्छन् ति मध्ये जलचरा २ सय प्रजातिका छन् । हिमाली प्रकृति नामक संस्थाको सहयोगमा गरिने चरा गणना नेपालमा सन् १९८७ देखि सुरु भएको हो । चरा गणनामा ५० हजार खर्च लाग्छ । देशभर गरिने गणनामा ४० जना विज्ञसहित करीव तीनसय जनाको सहभागीता रहने गरेको छ ।

सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतित गर्ने चराका प्रजातिलाई पानीचरा अथवा जलपक्षी भन्ने गरिन्छ । मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपक्षी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ । वेटलेण्ड इन्टरनेसनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपक्षी गणना हुँदै आएको छ । चराहरुको प्रजाति, सिमसार क्षेत्रको अवस्थिती तथा संकाटापन्न चराहरुको अवस्थाका बारेमा गणनाबाट जानकारी मिल्ने चरा विज्ञ डा.बरालले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment