Comments Add Comment

ढुंगा कटिङ उद्योगमा पोखरा महानगरले चलायो डोजर

२२ पुस, पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर ५ पस्र्याङ तथा हरिचोक क्षेत्रमा खुलेका ५ वटा ढुंगा कटिङ उद्योग हटाएको छ ।

उद्योग हटाउन पटक पटक पत्राचार गर्दा पनि अटेरी गरेपछि महानगरले बुधबार डोजर चलाइदिएको हो । महानगरले जीवनप्रसाद बास्तोला, अष्टमान प्रधानांग, कृष्ण तिवारी, ऋषिराम तिवारी र राजु नेपालीले सञ्चालन गरेको ढुंगा कटिङ उद्योग भएको टहराहरु भत्काएको हो ।

मापदण्डविपरीत सञ्चालनमा रहेको र प्रदुषण बढाएको भन्दै करिब ७ वर्षअघि पर्स्याङका स्थानीय रुद्रप्रसाद लुइँटेल र विनोद पौडेलले तत्कालीन उपमहाननगरमा निवेदन दिएका थिए । तत्कालीन समयमा उपमहानगरले दुवै पक्षलाई कार्यालयमा डाकेर उद्योग हटाउने सम्झौता पनि गराएको थियो । तर ७ वर्षसम्म सम्झौता कार्यान्वयन भएको थिएन । उद्योगले सम्झौता कार्यान्वयन नगरेपछि महानगरले पटकपटक उद्योगका नाममा सूचना जारी गरिसकेको छ ।

दिएको समयमा पनि उद्योग नहटाएपछि बुधबार महानगरले डोजर चलाएरै ढुंगा कटिङ उद्योग भत्काइदिएको छ । ‘एक त हाइवे पनि भयो । त्यसमाथि अवैध ढंगले सञ्चालन भएका थिए,’ महानगर विपद व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख नारायण शर्माले भने, ‘आफैं हटाउन पटक पटक सूचना जारी गर्‍यौं । अटेर गरेकाले आफैं हटाउन बाध्य भएका हौं ।’

महानगरले उद्योगका ५ वटा ढुंगा काट्ने मेसिन भत्काएको छ । सामान जफत नगरिएको र अन्यत्र नियमपूर्वक उद्योग सञ्चालन गर्न उद्योगीलाई अनुरोध गर्दै टहरासमेत भत्काएको छ ।

उद्योगी जीवनप्रसाद बास्तोलाले भने महानगरले आफूहरुमाथि ज्यादती गरेको प्रतिक्रिया दिएका छन् । महानगर कसैको लहैलहैमा लागेर अमानवीय व्यवहार गरेको भन्दै उनले भने, ‘पहिले ध्वनि प्रदुषण गरेको भनेर मेसिन बन्द गर्न भन्यो । अहिले उद्योगमाथि डोजर चलाइदिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment