News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाका सांसद मोहन आचार्यले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि शिक्षासम्बन्धी विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।
- आचार्यले बाढी क्षति पुगेका ठाउँमा बिमा चाँडो कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।
- उनले रसुवामा काम गर्ने कर्मचारी र व्यवसायीमध्ये ९० प्रतिशत बाढीमा परेर सम्पर्कविहीन भएको र श्रीसम्पत्ति सबै बगेको बताए।
२५ भदौ, काठमाडौं । रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बाढी प्रभावित बालबालिकाका लागि शिक्षासम्बन्धी विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाहरूका लागि शिक्षासम्बन्धी विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका हुन् ।
‘कतिपय अभिभावक नभएकाहरूको भविश्य अन्धकार त छँदैछ, अभिभावक भएकाहरू पनि अन्धकार देखिराख्नुभएको छ,’ सांसद आचार्यले भने, ‘उहाँहरूको लागि म सरकारलाई आग्रह गर्न चाहन्छु– शिक्षासम्बन्धी विशेष प्याकेज ल्याएर सरकार लागोस् भन्ने कुरा म जोडदार माग गर्न चाहन्छु ।’
सांसद आचार्यले बाढीबाट क्षति पुगेको स्थानमा बिमालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गरिदिन पनि सरकारसँग आग्रह गरे । ‘क्षति भएको ठाउँमा बिमालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु,’ आचार्यले भने ।
रसुवामा काम गर्दै आएका कर्मचारी र पेशा व्यवसायीमध्ये ९० प्रतिशत मानिसहरू भोटेकोशी बाढीमा परेर वेपत्ता भएका पनि आचार्यले बताए ।
‘रसुवा जिल्लाको मेन इनकम सोर्स हाइड्रो पावर, टुरिजम र रसुवागढी नाका थियो,’ उनले भने, ‘नेपालमा जिविकोपार्जन गर्छु भनेर रसुवामा काम गरेर बस्नु हुने धेरैजस्तो कर्मचारी साथीहरू र पेशा गर्ने उद्यमी साथीहरू आज ९० प्रतिशत सम्पर्कविहीन छन् ।’
रसुवामा पेशा–व्यवसाय, उद्योग–धन्दा गर्दै आएकाहरूसाग अहिले केही पनि बाँकी नरहेको पनि उनले बताए ।
‘जति बाँचेका छन् ती बाँचेकालाई पनि पीडा छ । लोनको भारले थिचेको छ । उहाँहरूले जान्नु भएको पेशा, व्यवसाय आज केही छैन,’ उनले भने, ‘बाढीले भएको श्रीसम्पत्ति सबै लगेको छ ।’
प्रतिक्रिया 4