२५ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दलगत दृष्टिकोणले हेर्दा विपद् व्यवस्थापनमा प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाएकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले रसुवाको भोटेकोशी बाढीपछिको अवस्थामा सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा देखिने गरी काम गर्नुपर्ने बताइन्। सरकारले सामाजिक सञ्जालमार्फत नागरिकमा भ्रम छर्ने कार्य गरिरहेको भन्दै उनले तीव्र असन्तुष्टि जनाएकी छन्।
‘सरकार सामाजिक सञ्जालमा क्रियाशील छ। एआईले पुल बनाइदिन्छ, कृष्णभीरको बाटो पनि एआईले बनाइदिसक्यो भन्दै कन्टेन्ट क्रिएटरहरूले भ्रम छरिरहेका छन्,’ उनले बैठकमा भनिन्, ‘तर सरकार सोसल मिडियामा चलाएर हुने रहेनछ। यहाँ युवा मन्त्री हुनुहुन्छ, विज्ञानमन्त्रीले त बाँदर लखेट्ने प्रविधि नै छैन भन्नुहुन्छ। यो सबै कुराबाट सिकेर अब सरकार भिजिबल हुनुपर्छ।’
‘मृत्यु सरकारका लागि संख्या होला, परिवारका लागि प्रियजन हुन्’
खोज र उद्धारको चरणपछि अब सरकारले राहत र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिइन्। बेपत्ता भएकाहरूको खोजी कार्यलाई इङ्गित गर्दै उनले भनिन्, ‘अब सरकारले डीएनए परीक्षण सार्वजनिक गर्दै सास नभए लास पनि बुझाउनुपर्ने बेला भएको छ। सरकारका लागि मृत्यु केवल एक संख्या होला, तर आफन्तका लागि उनीहरू प्रियजन हुन्।’
स्थानीय तह र प्रदेश सरकारले विपद्का बेला फिल्डमा धेरै काम गरिरहेको भए पनि संघीय सरकारले आवश्यक समन्वय नगरेको उनको गुनासो छ। ‘सरकार–सरकारबीच समन्वय गर्नुहोस्, दल नहेर्नुस्। विपद्मा दल हेर्नु हुँदैन, तर यहाँ समन्वयको चरम अभाव देखिन्छ,’ उनले भनिन्।
भदौ २४ को विध्वंस मच्चाउनेलाई कारबाहीको माग
फरक प्रसंगमा बोल्दै सांसद झाँक्रीले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसको जिम्मेवारी कसले लिने भन्दै संसद्मार्फत प्रश्न उठाएकी छन्। विशुद्ध रूपमा उठेको जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरेर राष्ट्रिय झण्डा काँधमा हाल्दै देश जलाउने अपराधीहरूमाथि तत्काल कारबाही गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
प्रतिक्रिया 4