२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले रसुवा बाढीपछिको पुनर्निर्माण शीघ्र हुनेमा शंका व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जलेको सिंहदरबार र संसद् भवन अझै पुनर्निर्माण हुन नसकेको बताउँदै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा कसरी विश्वास गर्ने ? भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।
‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’, महामन्त्री आचार्यले प्रश्न गरे ।
पुनर्निर्माणका लागि के–के नीतिगत र व्यवहारिक कमजोरी छन् ? त्यो पत्ता लगाएर गति बढाउन उनले सरकारसँग आग्रह गरे ।
यसबीचमा निजी क्षेत्रले भने पुनर्निर्माणको कामका प्रगति गरेको उनले सुनाए ।
आफू घरबाट महाराजगञ्ज र नक्सालको भाटभटेनी हुँदै सदनमा आउने गरेको बताउँदै उनले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ ।’
तर, सिंहदरबार छिर्दा त्यो ऊर्जा बाँकी नरहने महामन्त्री आचार्यले सुनाए ।
‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु’, उनले भने, ‘यो पालाको बजेट नै नयाँ संसद् भवनमा हुने भनेकामा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुरा राखिराखेको छु ।’
प्रतिक्रिया 4