Comments Add Comment

द्विविधामा संस्थापनइतर जिल्ला सभापतिहरुको भेला

२१ पुस, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले बोलाएको जिल्ला सभापतिहरुको भेलामा सभापति शेरबहादुर देउवासँग लड्ने कि सहमति गरेर अगाडि बढ्ने भन्ने द्विविधा देखिएको छ । यद्यपि संस्थापन पक्षले बहुमतको आधारमा गरेको निर्णय हुबहु मानेर जाने पक्षमा भने कोही छैनन् ।

पार्टी कार्यालय सानेपामा मंगलबार पूर्वमहामन्त्री कृष्ण सिटौलासँगै अर्जुननरसिंह केसी, डा. रामशरण महत र शेखर कोइरालासहितका केन्द्रीय नेताहरुले सम्बोधन गरे भने १४ जना जिल्ला सभापतिले पनि आफ्नो धारणा राखेका छन् ।

‘धेरै साथीहरुले अब नेतृत्वले खुट्टा नकमाओस् भन्नेमा खबरदारी गर्नुभएको छ’ एक जिल्ला सभापतिले भनेका छन् ।

पार्टी सभापति देउवाले १४ औं महाधिवेशनलाई नै प्रभावित गर्ने गरी बहुमतको बलमा निर्णय गरेको भन्दै नेताहरुले त्यसलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । तर अब कसरी जाने भन्ने सन्दर्भमा भने भेला द्विविधामा देखिएको छ ।

एक नेता भन्छन्, ‘सबैलाई मिलाउँछु भन्ने सभापतिको अभिव्यक्तिको प्रभाव पनि देखिन्छ । नेताहरुमा यो सभापतिको अल्मल्याउने रणनीति मात्र हो भन्ने अविश्वास पनि छ ।’

जिल्ला सभापति लड्ने मुडमा

भेलामा सहभागी बहुसंख्यक सभापतिहरुले पार्टी सभापति देउवाविरुद्ध आक्रोश मात्र पोखेका छैनन्, संस्थापनइतर समूहका नेताहरुलाई खबरदारी पनि गरेका छन् ।

उनीहरुले सभापतिले विधान, परम्परा सबै मिचेकाले निर्णय नसच्याएसम्म असहयोग गरेर जानुपर्ने बताएका छन् । ‘धेरै साथीहरुले अब नेतृत्वले खुट्टा नकमाओस् भन्नेमा खबरदारी गर्नुभएको छ’ एक जिल्ला सभापतिले भनेका छन् ।

कतिपयले त संस्थापन पक्षले निर्णय नसच्याएर विशेष महाधिवेशनमा जानुपर्नेसम्म तर्क गरेका छन् । त्यसमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि साथ दिएका छन् ।

केहीले भने अहिलेको निर्णय स्वीकार्य नभएको तर सभापतिसँग सहमति गरेर अघि बढ्नुपर्ने भएकाले धेरै निहुँ खोज्न नहुने धारणासमेत राखेका छन् ।

मंगलबारको बैठकमा बोलेका पूर्वमहामन्त्री सिटौलाले पनि महाधिवेशनको मिति र कार्यतालिका जस्तो विषयमा समेत बहुमतबाट निर्णय गर्नु स्वीकार्य नहुने बताएका छन् । त्यसलाई सच्याउन एकमत हुनुपर्ने भन्दै उनले संस्थापनइतरको नेतृत्वबारे पनि भोलि सहमतिकै आधारमा टुंगो लगाइने बताए ।

अर्का नेता शेखर कोइराला नेता कार्यकर्ताको कुरा सुन्न जिल्ला जिल्लामा जाँदा सबैले देउवाले कांग्रेस सिध्याउने भए, नेतृत्वले खुट्टा नकमाओस् भनेको सुनाए । पार्टी सभापतिले महाधिवेशन प्रभावित पार्ने खेल खेलेको तर यसलाई नसच्याए सिंगो कांग्रेस नै सकिने अवस्था आउने उनको तर्क थियो ।

सोमबारबाट सुरु भएको भेलामा ४७ जिल्ला सभापतिको सहभागिता छ र सम्भवत भोलि साझा धारणासहित सकिने काभ्रे जिल्लाका सभापति मधु आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment