Comments Add Comment

बलात्कृत युवतीले गाउँ छाडिन्, बलात्कारीले मिठाई बाँडे !

२३ पुस, काठमाडौं । आजका पत्रिकाहरुमा राजनीतिक विषयवस्तुले नै प्राथमिकता पाएका छन् ।

नेकपा हाइकमाण्डले प्रदेश ३ को राजधानी जसरी भए पनि हेटौंडा कायम गर्न आफ्ना नेताहरुलाई पुनः निर्देशन दिएकोदेखि घरबाटै अपहरणमा परी भारतमा बलात्कृत एक महिला अदालतबाटै अन्यायमा परेकोसम्मका समाचार आजका पत्रिकामा छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले सत्तारुढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टीका नेताहरुलाई पुनः निर्देशन दिएको समाचार छापेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० बजेदेखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि कायम गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।

यसअघि पुस १३ मा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो । यो आग्रहलाई नेकपाकै कतिपय सांसदहरुले स्वीकार्य नभएको बताएका थिए । नाममा आपत्ती नभए पनि राजधानीको विषयमा नेकपामा विवाद छ ।

नागरिक दैनिकले राजधानी विवादका कारण प्रदेशसभा ३ मा फ्लोर क्रस हुने सम्भावनाबारे लेखेको छ । ‘अध्यक्षद्वय र प्रदेशका नेताहरुबीच भएको छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्नेगरी टुंगिए पनि कार्यक्षेत्रमा भने फ्लोर क्रसको सम्भावना रहेको छ,’ बैठक स्रोतलाई उद्धृत गर्दै नागरिक दैनिकले समाचारमा लेखेको छ, ‘अध्यक्षद्वयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै कायम गर्न पुनः निर्देशन दिनुभएको छ ।’

यसैगरी नेपाल ट्रष्टको ताहाचलको जग्गा यती समूहलाई कौडीको भाउमा दिएपछि सरकारले त्यसलाई लुकाउने प्रयास गरेको र कर्णाली प्रदेश सरकारले क्रसरसम्बन्धी कार्यविधि व्यवसायीको हितमा संशोधन गरेको समाचार पनि नागरिक दैनिकमा छ ।

कान्तिपुर दैनिकमा ‘सेरेमोनियल बन्दै संसद्’ शीर्षकको मुख्य समाचार छ । समाचारमा लेखिएको छ, ‘संसदको मुख्य काम हो कानुन बनाउनु र सरकारले पेस गरेका विधेयकको गुण-दोष केलाएर असल नीति पारित गर्नु । तर, सांसदहरुको आफ्नो यही मुख्य जिम्मेवारीमा खासै सहभागी हुँदैनन्, जसका कारण सरकारले जस्तो चाह्यो त्यसै विधेयक पारित हुने जोखिम बढ्दै गएको छ ।’

घरबाटै अपहरित एक युवती भारतमा बलात्कृत भएर फर्किएको तर अदालतबाट न्याय नपाएपछि घर छाडेको विषयलाई कान्तिपुरले एंकर समाचार बनाएको छ । ‘अनि नग्माले नेपालगन्ज छाडिन्’ शीर्षकको समाचारमा लेखिएअनुसार नेपालगञ्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम)लाई गत कात्तिक १३ गते गाउँकै निजामुद्दिन साई र मुबारक नाउले मोटरसाइकलको बीचमा राखेर अपहरण गरे । उनीहरुले रुपैडिया पुगेर अर्कै पुरुषको जिम्मा लगाए । ती पुरुषले बेहोस बनाएर नयाँदिल्ली पुर्‍याए । एक कोठामा राखेर पालैपालो बलात्कार गरे । अनेक प्रयासपछि उनी कात्तिक १७ गते घरमै फर्किन सफल भइन् । उनलाई भारतमा बेच्ने निजामुद्दिन र मुबारक गाउँमा निस्फिक्री घुमिरहेका थिए । नग्माले कात्तिक १८ गते उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी उजुरी दिइन् । उनीहरु पक्राउ परे । जिल्ला अदालतले मंसिर १७ गते उनीहरु दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।

तर, पीडक पक्षको उजुरीपछि तुलसीपुर उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरिदियो । निजामुद्दिन र मुबारक एक-एक लाख धरौटीमा रिहा भए । गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् । उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन अहिले काठमाडौं आएकी छन् ।

राजधानी दैनिकले राजपा केन्द्रीय सदस्य रामबाबु यादवमाथि ५ अर्ब ठगीको आरोप लागेपछि गृहमन्त्रालयले छानबिन सुरु गरेको समाचार छापेको छ । कारोबार दैनिकले भ्रमण वर्षअघि नै पर्यटक घटेको र नेपाल समाचारपत्रले एमसीसी जवाफदेही र पारर्शी रहेको भनेर अमेरिकाले भनेको समाचार छापेको छ ।

गोरखापत्र दैनिकमा सर्वोच्च अदालतको मुद्दा फर्स्योट दर नबढेको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment