Comments Add Comment

हिटको दबाबले फिल्म साइन गर्नै समस्या

गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’पछि नायक अनमोल केसीलाई नयाँ चलचित्र साइन गर्न समय लाग्यो । उनले, चलचित्र ‘धुपौरे’ साइन पनि गरे । तर, वर्कशप सुरु भएको केही समयपछि उनले यो चलचित्र छाडेको चर्चा भयो । भलै, अनमोलले चलचित्र छाडेको बिषयमा केही पनि बोेलेका छैनन् । उनले, यसपछि केही हप्ता अगाडि मात्र ‘ए मेरो हजुर ४’ साइन गरे । यो चलचित्र हिट सिरिजको निरन्तरता भएकाले पनि व्यापारिक रुपमा सफल हुनेमा अनमोल ढुक्क छन् ।

अनमोल मात्र होइनन्, धेरै कलाकारलाई चलचित्र साइन गर्न नै समस्या देखिएको छ । नाम चलेका कलाकार निरन्तर चलचित्र असफल हुँदा होस् या सफल हुँदा नै किन नहोस्, दबाबमा पर्छन् र चलचित्र साइन गर्न गाह्रो मान्छन् ।

नायक प्रदिप खड्काका गतबर्ष रिलिज भएका २ चलचित्र ‘रोज र लभ स्टेशन’ असफल भएपछि उनले नयाँ चलचित्र साइन गर्न समय लगाए । उनले ‘कबड्डी ३’मा काम गर्ने चर्चा भयो । तर, अन्तिममा प्रदिप पनि सुरक्षित बाटोकै खोजीमा लागे । उनी अहिले चलचित्र ‘प्रेमगीत ३’को छायांकन गरिरहेका छन् ।

चलचित्र साइन गर्न अझै समय लगाउने नायकमा त सलिनमान बनियाँ पर्छन् । उनले, नयाँ चलचित्र साइन नगरेको ९ महिना बढी भयो । गतबर्षको अन्तिममा रिलिज भएको चलचित्र ‘यात्रा’पछि सलिनमान नयाँ चलचित्र सहजै साइन गर्न सकिरहेका छैनन् । उनलाई अफर त गइरहेको छ । तर, ‘यात्रा’ले बक्स अफिसमा आशातित कमाई नगरेपछि सलिनमान पनि दोधारमा देखिएका छन् ।

नायिका वर्षा राउतको हालत पनि उस्तै छ । उनलाई पनि कुन चलचित्रमा काम गर्ने भन्ने दोधार छ । यो बर्ष उनी अभिनित चलचित्र ‘जात्रै जात्रा’ हिट भयो । यो चलिचत्र हिट भएपछि वर्षाले नयाँ चलचित्र साइन गर्न समय लगाएकी छिन् । वर्षा, अब अर्को असफल चलचित्र आफूले सहन नसक्ने भन्दै नयाँ चलचित्र साइन गर्न समय लगाइरहेकी छिन् । चलचित्र ‘चौका दाउ’ सुपरफ्लप भएपछि डराएकी वर्षालाई ‘जात्रै जात्रा’ले राहत दिएको थियो ।

यस्तै, समस्याको जन्जालमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । उनी, अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ले व्यापारिक रुपमा सफलता नपाएपछि साम्राज्ञीलाई भने नयाँ प्रोजेक्ट कुन गर्ने भन्ने दोधार छ । धेरै कलाकार हिट र फ्लपसँग मतलब नराखी काम गरिरहेका छन् । उनीहरुको हातमा चलचित्रको अभाव पनि छैन र उनीहरु चलचित्र साइन गर्नु अघि खासै सोच्दैनन् । तर, केही कलाकार भने हिट चलचित्र दिनै पर्ने दबाबका कारण नयाँ चलचित्र साइन गर्नु अगाडि धेरै पल्ट सोच्छन् ।

नेपालमा बर्षेनी सय हारहारीका चलचित्र बन्छन् । जसमध्ये ८० प्रतिशत चलचित्रको व्यापार दयनिय नै हुन्छ । थोरै मात्र चलचित्र हिट हुन्छन्, बाँकी औषत चल्छन् । यसैले, कलाकारहरु असफल चलचित्र बजारमा दिन चाहदैनन् । यही दबाबले गर्दा उनीहरुलाई चलचित्र साइन गर्नु अगाडि ठूलो दबाब महशुश गर्नुपरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment