Comments Add Comment

प्रिन्स दुई विधाको फाइनलमा

२५ पुस, काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० को दुई विधामा फाइनल प्रवेश गरेका छन् । दाहाल पुरुष एकल र जोडी दुबै तर्फ फाईनल प्रवेश गरेका हुन् ।

प्रतियोगितामा दोश्रो वरियता प्राप्त तथा विश्व जुनियर वरियतामा १४ औं स्थानमा रहेका दाहाल सेमिफाइनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । अब प्रिन्सले उपाधीका लागि यस प्रतियोगिताका पहिलो वरियता तथा विश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसँग प्रतिस्पर्धा गर्ने छन् । लुवाङ्गले श्रीलंकाका दुमिन्दु अब विक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका
थिए ।

दाहाल पुरुष युगलमा पनि फाइनल प्रवेश गर्न सफल भएका छन् । पेम्बा शेर्पासँग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जेबी साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरे । अर्को प्रतिस्पर्धामा भारतका आर. बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले श्रीलंकाका दुमिन्दु

अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै दाहाल र शेर्पाको जोडीसँग उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

महिला जोडी तर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे । बिष्ट र खत्रीको जोडीले फाईनलमा भारतका ग्नन्दा के. र सानिया सिकन्दरको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । भारतीय जोडीले नेपालका नीता लम्साल र सीमा राजवंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाइनलमा मलेसियाकी करुपथेभन लेत्शानासँगको भेट पक्का गरिन् । लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ ले पराजित गरिन् ।

मिश्रीत जोडी तर्फ पनि मिर आयन रशिदसँग मिलेर फाइनल प्रवेश गर्न सफल भइन् । उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा के.एस. र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजवंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै मिर र रशिदको जोडीसँगको भेट पक्का गरेका हुन् ।

प्रतियोगिताको फाइनल शनिबार अपरान्ह १ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment