Comments Add Comment
ओली र प्रचण्डलाई शिवमायाको चेतावनी :

‘शुक्रबारसम्म मलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्छु’

२५ पुस, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा भेटेकी छन् र राजीनामा नदिने अडान लिएकी छन् ।

यति मात्र होइन, भोलिसम्म आफूलाई सभामुख बनाउने निर्णय नगरे संसद बैठक सञ्चालन गरेर सभामुखको चुनावी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन कृष्णबहादुर महराले १५ असोजमा राजीनामा दिएका थिए । १९ असोजमा पक्राउ परेका उनी हाल पूर्पक्षका लागि थुनामा छन् । तर संसदले नयाँ सभामुख पाउन सकेको छैन ।

सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा ठूलो विवाद छ । अध्यक्षद्वय ओली र प्रचण्डको बीचमा पूर्व एमाले कि पूर्व माओवादीबाट सभामुख भन्ने बहस त छँदैछ, उपसभामुख तुम्बाहाम्फेले आफू सभामुख हुनुपर्ने अडान लिएकी छन् ।

प्रधानमन्त्री समेत रहेका ओली संसदीय दलका उपनेता सुवास नेम्वाङलाई फेरि सभामुख बनाउन चाहन्छन् । प्रचण्ड भने महरा पूर्व माओवादीको कोटाबाट सभामुख भएकाले नयाँ सभामुख पनि आफूले प्रस्ताव गर्ने अडानमा छन् । पूर्व माओवादीमा देव गुरुङ, पम्फा भुसाल, ओनसरी घर्तीको दाबी भए पनि अग्नि सापकोटा पहिलो रोजाइमा छन् ।

ओली र प्रचण्डबीच कसलाई सभामुख बनाउने भन्ने निर्णायक छलफल हुनुपूर्व उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने नेकपा नेताहरु बताउँछन् । किनकी संविधानले सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ । तुम्बाहाम्फे तत्कालिन  एमालेबाट उपसभामुख निर्वाचित भएकाले उनी उपसभामुख रहिरहेर निर्वाचनको प्रक्रिया सुरु नेकपाले सभामुख पदमा उम्मेदवारी नै दिन नपाउने नेताहरु बताउँछन् ।

तर उपसभामुख शिवमायाले आफूले राजीनामा नदिने अडान लिएकी छन् । शुक्रबार विहान बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डलाई भेटेकी उनले प्रष्ट शब्दमा भनेकी छन्, ‘भोलिसम्म समय छ, मलाई सभामुख बनाउने निर्णय गर्नुस् । नभए म संसद चलाउँछु र सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउँछु ।’

यो पनि पढ्नुहोस शिवमायाले ओली र प्रचण्डसमक्ष पेश गरिन् १२ बुँदे योग्यता सूची

स्रोतकाअनुसार जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राजीनामा दिन आग्रह गरेका थिए । अर्का अभ्यक्ष प्रचण्डले ‘जो सभामुख बन्ने भए पनि यो पद नेकपामा राखिराख्न तपाईले उपसभामुखबाट राजीनामा दिनुपर्छ’ भनेका थिए ।

अध्यक्षद्वय ओली र प्रचण्डले पूर्व सभामुखसमेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि फोनमा कुराकानी गरेका थिए । उनीहरुले उपसभामुखले सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाए के हुन्छ भन्ने प्रश्न गरेका थिए ।

जवाफमा नेम्वाङले उपसभामुखले निर्वाचन प्रक्रिया अगाडि बढाए पार्टीले सभामुख गुमाउने बताए । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग हालै भएको भेटमा रमेश लेखकले उपसभामुखले निर्वाचन प्रक्रिया अगाडि बढाए सभामुख नेकपाले नपाउने र आफूहरुलाई राम्रै हुने बताएको नेम्वाङले पार्टी अध्यक्षद्वयलाई स्मरण गराए ।

यसैबीच नेकपाले भोलि अपराह्न ४ बजेका लागि सचिवालयको बैठक बोलाएको छ । बैठकमा सभामुख चयनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment