Comments Add Comment

दिलिप हत्या प्रकरण : फलामको रडले घोचेर खोलामा सुताइयो अनि टिपरले किचियो

दिलिप महतोको हत्यामा संलग्नहरु ।

२६ पुस, जनकपुरधाम । नदी उत्खनन्को बिरोध गर्ने दिलिप कुमार महतोलाई क्रसर उद्योगीहरुले फलामको रडले घोचेर घाइते बनाई उनको शरीरमाथि टिपर चलाएको खुलेको छ ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर हत्या गरिएको थियो । यद्यपि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर आएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति ९ बजे पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार दिलिपको दाहिने कोखामा चार जना मिलेर फलामको लिभरले घोचेर खोलामा सुताई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएकोे थियो ।

यो पनि पढ्नुहोस ‘मनमनै साँचेको त्यो खुशी क्षणभरमै खरानी भयो’
दिलिप महतो र उनलाई किचिएको टिपर

धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलिप टिपर समात्न गएका थिए ।

त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको हत्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।

पत्रकार सम्मेलनमा यी चारै जनालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । ‘यी चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं,’ धनुषाका प्रहरी प्रमुख बस्नेतले भने ।

यो पनि पढ्नुहोस दिलीप हत्या प्रकरण : क्रसर उद्योगी पक्राउ, परिवारले बुझे शव

दिलिप महतोले अवैध रुपमा खोला तथा नदीमा क्रसर उद्योगीले गर्दै आएको दोहनको विरोध गर्दै आएका थिए । त्यसैले क्रसर उद्योगी विपिन महतोले तीन दिनअघि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । दिलिपको हत्यापछि परिवारका सदस्यहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले क्रसर उद्योगी विपिनलाई शनिबार बिहान उनको ससुराली गाउँबाट पक्राउ गरेको थियो । प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता जनाएपछि शनिबारै परिवारका सदस्यहरुले दिलिपको शव बुझेका थिए । शनिबार साँझ पोष्टमार्टम गरी दिलीपको शव परिवारजनलाई बुझाइएको धनुषाका प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिए ।

घटनास्थल इलाका प्रहरी कार्यालय ढल्केबरको क्षेत्र भए पनि यो मुद्दा जिल्लाले हेरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment