Comments Add Comment

दिलीप हत्या प्रकरण : क्रसर उद्योगी पक्राउ, परिवारले बुझे शव

२६ पुस, जनकपुरधाम । नदी उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका मिथिला नगरपालिका-५ श्रीनगरका दिलीप महतोको परिवारले किटानी जाहेरी दिएका छन् ।

दिलीपको परिवारले शनिबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका हुन् । घटनास्थल इलाका प्रहरी कार्यालय ढल्केबरको क्षेत्र भएपनि यो मुद्दा जिल्लाले हेरेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले क्रसर उद्योग सञ्चालक विपिन महतोसहित चार जनालाई पक्राउ गरेको छ । दुई जनालाई शुक्रबार नै नियन्त्रणमा लिएको धनुषा प्रहरीले शनिबार थप दुई जनालाई नियन्त्रणमा लिएको हो ।

घटनापछि फरार भएका चुरियामाई बालुवा प्रशासन उद्योगका सञ्चालक विपिनलाई जनकपुर-१ मिल्स एरियास्थित ससुराली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै लोडर चालक महोत्तरीको बर्दिवास नगरपालिका बिजलपुराका २२ वर्षीय जितेन्द्र कुमार महतो छन् ।

यसअघि शुक्रबार नै प्रहरीले दिलिपलाई किचेको भनिएका ना ७ख ६४१३ नम्बरका टिपरका चालक महोत्तरी बर्दिवासकै मुनिन्द्र महतो र दिलीपलाई बोलाएर खोलातिर लगिएको भनिएका रोशन यादवलाई नियन्त्रणमा लिएको थियो ।

३८ घन्टापछि पोष्टमार्टम

यसैबीच मृतक दिलीपको शनिबार पोष्टमार्टम गरिएको छ । हत्या भएको झण्डै ३८ घण्टापछि शनिबार साँझ ५ः ३० बजेतिर दिलिपको पोष्टमार्टम गरिएको हो । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गरिएको धनुषा प्रहरीले जनाएको छ ।

यसअघि घटनास्थलमा मुचुल्का नउठाएको भन्दै परिवारजनले पोष्टमार्टम गर्न दिएको थिएन । त्यही कारण दिलीपको शव शुक्रबारदेखि एम्बुलेन्समै राखिएको थियो ।

तर प्रहरीले सुक्ष्म र इमान्दारीपूर्वक अनुसन्धान गरेर दोषीलाई कानुनी कठ्घरामा ल्याउने प्रतिबद्वता जनाएपछि मृतकका परिवारले पोष्टमार्टमका लागि सहमति दिएको थियो । शनिबार साँझ पोष्टमार्टम गरी दिलीपको शव परिवारजनलाई बुझाइएको धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

औरही खोलामा अवैध नदी उत्खननको विरोध गर्दा शुक्रबार विहान झिसमिसेमा टिपरले किचेर दिलीपको हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment