Comments Add Comment

छापामा आज : अबको मुख्यसचिव को ?

२७ पुस, काठमाडौं । सभामुख चयनमा परेको गलफती, अवैध उत्खननको विरोध गर्दा धनुषामा भएको युवकको हत्या र ललितानिवास जग्गा छानबिन प्रकरणलगायत विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।

कान्तिपुरले ‘सभामुख चयन अन्योलमै’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । सत्तारूढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको हो । कार्यतालिताकाअनुसार सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक बोलाउने या नबोलाउने भन्ने अन्योलता देखिएको समाचारमा उल्लेख छ ।

कान्तिपुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको अन्तर्वार्ता पनि छापेको छ । अन्तर्वार्तामा उनले उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णयबारे आफू बेखबर रहेको बताएकी छन् । नेकपाले राजीनामा दिन भने पनि उनले त्यसो नगर्ने बरु बैठक चलाउने बताएकी छन् ।

कान्तिपुरले सम्भावित मुख्यसचिवबारे पनि आज चर्चा गरेको छ । हालका मुख्यसचिव लोकदर्शन रेग्मी अनिवार्य अवकास हुने मिति नजिकिँदै गर्दा उनको स्थान लिने सम्भावित पात्रबारे चर्चा सुरु भएको छ ।

कान्तिपुरका अनुसार, सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली प्रेम राईलाई मुख्यसचिव बनाउने मनस्थितिमा थिए । यही मनस्थितिका कारण उनले लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्त गरी पद खाली गराएर राईलाई बढुवा गर्न चाहेका थिए । तर उमेरका कारण राई तीन वर्ष पूरै मुख्यसचिव नहुने भएपछि प्रधानमन्त्री राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका छन् । यद्यपि, राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने सम्भावना छ ।

राई पछाडिको दोस्रो वरीयताका वरिष्ठ सचिवमा केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटा, महेश दाहाल र शंकर बैरागी छन् । राईसहितका चारजनाले अवकास पाएपछि मुख्यसचिव रेग्मीलाई बीचैमा कुनै आकर्षक पदमा नियुक्त गरेर पद खाली गराइएमा अधिकारी, सापकोटा र बैरागीमध्ये एक मुख्यसचिव हुनेछन् । तर रेग्मीलाई तीनवर्षे कार्यकाल पूरा नहुँदै बिदा गरिएन भने यी चार जनाको पनि मुख्यसचिव हुने ढोका बन्द हुनेछ । रेग्मी तीनवर्षे पदावधि पूरा गरी अनिवार्य अवकास हुँदा सचिव चन्द्रकुमार घिमिरे सबैभन्दा वरिष्ठका नाताले निजामती प्रशासनको नेतृत्वको स्वभाविक दाबेदार हुने कान्तिपुर समाचारमा उल्लेख छ । । उनी ०७२ माघमा सचिव बढुवा भएका हुन् ।

अन्नपूर्णले रामजानकी जग्गा अतिक्रमणमा परेकाे लेखेको छ । समाचार अनुसार, मेयरले नै रामजानकीको जग्गा मिचाएका छन् । सडक विस्तार गर्दा सडकको दुवैतर्फका जग्गा लिइन्छ । तर मेयर लालकिशोर साहले पूर्वतर्फ बनाइएको घर नभत्काइ जानकी मन्दिरकै मात्र जग्गा कटाउन निर्देशन दिएको पाइएको छ । रामजानकी मन्दिरतर्फको जग्गा मात्रै अतिक्रमण गर्न खोजिएपछि नागरिक समुदाय आन्दोलित भएको समाचारमा उल्लेख छ ।

उत्खननको विरोध गर्दा धनुषामा मारिएका दिलीप महतो हत्याबारे पनि अन्नपूर्णले समाचार छापेको छ । अन्नपूर्णका अनुसार सुरुदेखि नै तस्करको तारोमा पर्दै आएका दिलीपलाई ५० हजार लिएर हत्या गरेको खुलेको छ ।

नागरिकले प्रदेश १ को नाम तोक्न अप्ठ्यारो परेको लेखेको छ भने राजधानीले मन्त्रालयको चौमासिक कार्यप्रगतिबारे लेखाजोखा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment