Comments Add Comment

देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी तीव्र, पहिलोपटक सेना पनि खटिँदै

२७ पुस, चितवन । तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । गत वर्षहरुमा भन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम अघि बढाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

हरेक वर्ष माघेसंक्रान्तिका अवसरमा देवघाटधाममा ठूलो मेला लाग्ने गर्दछ । माघेसंक्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले बताउँछन् । संक्रान्ति मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमितिहरु बनाएर काम अघि बढाइएको छ । मेलामा खानेपानी, विद्युत, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी अघि बढेको समितिको भनाइ छ ।

देवघाट दर्शनका लागि रामनगर ठिमुराको बाटो प्रयोग गरेर आँपटारीबाट निस्कने प्रवन्ध मिलाइने छ । काठमाडौं, धादिङ, पोखरा लगायतका क्षेत्रबाट आउने भक्तजनहरुले दासढुंगामा बनेको पक्की पुल तरेर १० मिनेटमा नै नदी संगमस्थलमा आउन सक्ने भएकाले सोही बाटो प्रयोग गर्न देवघाट क्षेत्र विकास समितिले अपिल गरेको छ । क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले दासढुंगाको पुल प्रयोग गर्दा देवघाटको झोलुङ्गेपुल र डुंगामा चाप कम पर्ने बताए ।

वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइने छ । नुहाउँदा कुनै पनि दुर्घटना नहोस् भनेर नदी किनार छेउमा डोरी टाँगिने छ । डुंगा र र्‍याफ्टिङ सयरमा असक्त, अपांगता भएका व्यक्ति, वृद्धवृद्धाहरुलाई निःशुल्क गर्ने क्षेत्र विकास समितिले जनाएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले त्रिशूली र कालीगण्डकी नदीको संगममा माघे संक्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरु देवघाट आउने गरेको बताए । मेला भर्न आएका दर्शनार्थीहरु रातभर जाग्राम बसी नाचगान गर्नुका साथै धार्मिक प्रवचनमा सहभागी हुन्छन् ।

पुल मर्मत सम्भार, सेना, सशस्त्र र नेपाल प्र्रहरीबाट सुरक्षा 

चितवनबाट देवघाटतर्फ जाने पुल जीर्ण बनेकेले यसपटक मर्मत सम्भार गरिएको छ । साँघुरो र जीर्ण पुलबाट भक्तजनहरु वारपार गर्दा असुविधा नहोस् भनेर पुलको दुवैतर्फ सुरक्षाकर्मी र स्वंयसेवकहरु परिचालन गरिने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले बताए । देवघाट क्षेत्र विकास समितिको आग्रहमा करिब ४० वर्ष पुरानो पुलको मर्मत गरिएको हो ।

पुलको अवस्था जीर्ण हुँदै गएकाले त्यसलाई हरेक वर्ष मर्मत गरिँदै आइएको छ । गत वर्षभन्दा यस वर्ष त्रिशूली नदीबाट वेणीसंगम जाने डुंगाको संख्या वृद्धि गरिएको छ । ४० वटा र्‍याफ्टिङ डुंगा परिचालन गरिने छ । एउटा डुंगामा ४० जनासम्म अट्न सक्छन् । एकतर्फी भाडादर ३० रुपैयाँ तोकिएको छ ।

दुई जना स्थानीय बोटेहरुलाई तयारी अवस्थामा राखिएको छ । कुनै भवितब्य भैहालेमा तत्काल उद्धारका लागि उनीहरुलाई तयारी अवस्थामा राखिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक घिमिरेले जानकारी दिए । गत वर्ष स्नान गर्न आएका एक जनाको नदीमा डुबेर मृत्यु भएको थियो ।

यस वर्ष सुरक्षा र व्यवस्थापनमा नेपाली सेना पनि खटिने कार्यकारी निर्देशक घिमिरेले बताए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ गरी झण्डै ५ सयभन्दा बढी सुरक्षाकर्मी र २ सय जना स्वंयसेवक मेलामा खटिने छन् ।

कुनै अपि्रय घटना हुन नदिन मदिरा बिक्री वितरण पूर्णरुपमा रोक लगाइएको छ । ‘मेला र मदिरासँगै जान सक्दैन,’ कार्यकारी निर्देशक घिमिरेले भने, ‘गत वर्ष भएका केही कमजोरीलाई यसपटक सुधार गर्छौं ।’

भक्तजनको सवारी पार्किङ गर्दा चर्को शुल्क लिने गरेको गुनासो बढेपछि यसपटक मोटरसाइकल, कार, बसको पार्किङ शुल्क तोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment