Comments Add Comment

डोटीको बडीकेदारमा २८ छाउगोठ भत्काइए

२७ पुस, डोटी । डोटीको बडीकेदार गाउँपालिकामा २८ छाउगोठ भत्काइएका छन् । गाउँपालिकाको वडा नं. ३ घाङल, सिन्दुरेपानी गाउँबाट सुरु भएको छाउगोठ भत्काउने अभियानमा आइतबार २८ गोठ भत्काइएका हुन् ।

स्थानीयवासी, महिला, जनप्रतिनिधि, प्रहरी र गाउँका अगुवाहरुको सहभागितामा छाउगोठ भत्काउने अभियान सुरु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए ।

छाउ गोठ भत्काउन स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, आमा समूह, बालतथायुवा समूह, धामीझाँक्री समेत सक्रिय रहनु पर्ने बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, ‘छाउगोठमा बस्ने कार्य राम्रो होइन, छाउपडी प्रथाकै कारण सुदूरपश्चिममा सयौंको ज्यानगएको छ ।’

धामीझाँक्री र भराणीलाई छाउपडी प्रथाको मुख्यबाधकको रुपमालिने गरेकोले तिनीहरुलाई पनि सम्झाइ बुझाइ गरी अभियानलाई सफल गर्नु पर्नेसमेत अध्यक्ष चन्दले बताए ।

आइतबार बसेको बडीकेदार गाउँ कार्यपालिकाको बैठकले बडीकेदार गाउँपालिकामा छाउगोठ भत्काउने र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै अभियानलाई सफलपार्न प्रतिवद्धता जनाउने निर्णय गरेको छ ।

गाउँपालिकाभित्र रहेको छाउ गोठ भत्काएर महिला तथा किशोरीलाई सुरक्षित रूपमा घरमै बस्ने अभियानमा लागेका बडीकेदार गाँउपालिकाका उपाध्यक्ष इन्दा बोहरा भाटले बताइन् । उनले भनिन् ‘हामीले अभियानको सुरुआत गरेका छौं, अबनिरन्तर रुपमा अगाडि बढ्छ ।’ उनले गाउँपालिकाभित्रका सबै छाउ गोठहरु भत्काइने बताइन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८(३) मा महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था रहेको छ ।

गृह मन्त्रालयले पुष ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएको थियो । सोही अनुसार पुस १५ गते प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले छाउपडि प्रथाबिरुद्ध सक्रिय भएर लाग्न र सहयोग गर्न जिल्लाका सरोकारवाला निकायहरुलाई पत्राचार गरेका थिए ।

डोटीका स्थानीय तहहरुले पुस २० गते छाउपडी प्रथाको बिरुद्धमा अभियान सञ्चाल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment