+
+
Shares

फोहोरबाट ऊर्जा उत्पादन गर्न यूएईले नेपाललाई दियो १ अर्ब ऋण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १९:२१

२७ पुस, युएई । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वाषिर्क साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा गरिएको हो ।

नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गरे ।  साधारणसभाको विशेष समारोहमा मन्त्री पुनले उक्त सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई छनोट गरेकामा धन्यवाद दिए ।

मन्त्री पुनका अनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ । आइरिनाको प्राविधिक सहयोगमा विभिन्न मुलुकबीच प्रतिस्पर्धा भएको थियो ।

सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए ।

उक्त फण्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुने सम्मेलनमा सहभागी वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले जानकारी दिए ।

सभामा बोल्दै मन्त्री पुनलेे नेपालका लागि यो सहयोग महत्वपूर्ण रहेको भन्दै मध्यपूर्वका लगानीकर्ताहरुलाई नेपालको नवीकरणीय र अन्य पूर्वाधार निर्माण कार्यमा सहकार्यका लागि आहृवान गरे ।

यो सहयोगबाट नेपालका ६९ नगरपालिकामा फोहोरबाट उर्जा परियोजना लागू गरी उर्जा र प्रांगारिक मल उत्पादन गर्नुका साथै रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पुनका साथै प्रतिनिधिभसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा, भुमी त्रिपाठी, उर्जा मन्त्रालयका सहसचिव मधूप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, नेपालका लागि यूएईका राजदूत कृष्णप्रसाद ढकाल र मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाई सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?