Comments Add Comment

अधवैंशे महिलालाई अनलाइन जुवामा फसाउने चिनियाँको धन्दा !

चिनियाँ नागरिकको पक्राउ प्रकरणभित्रको अन्तरकथा

२७ पुस, काठमाडौं । झोउ ली (परिर्वतित नाम) क्रिसमस इभको ठीक अगाडि नेपाल प्रहरीले छापा हान्नुभन्दा पहिल्यै भाग्न सफल भएकोमा गदगद छन् ।

नेपाल प्रहरीले २४ डिसेम्बरमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गर्नुभन्दा एक दुईदिन अगाडि मात्र झोउ चीनतर्फ भागेका थिए । उनी काठमाडौंमा एउटा अनलाइन गेमिङ कम्पनीमा दुई हप्ता अगाडिदेखि काम गरिरहेका थिए ।

झोउको भनाइअनुसार उनले काम गर्ने कम्पनीमा प्रहरीले छापा मारेन । तर उक्त कम्पनीले पनि त्यही काम गर्थ्यो, जुन छापा मारिएका कम्पनीहरुले गर्थे ।

प्रहरीका अनुसार व्यवसायीहरुले सामाजिक सञ्जालको प्रयोग गरी धनाढ्य एकल व्यक्ति वा एकल चिनियाँ महिलालाई ठगी गर्ने गरेका थिए ।

उनीहरुलाई चिनियाँ डेटिङ साइटमा गएर एकल वा पारपाचुके गरेका महिलाहरुलाई पछ्याउन र कम्पनीले डिजाइन गरेको अनलाइन जुवा खेल्न उक्साउन सिकाइयो ।

युयाङको हुनान प्रान्तका काइसिन, झोउको अन्तरवार्ताबाट अन्तर्राष्ट्रिस्तरको ठगीे धन्दा कसरी फस्टाइरहेको छ भन्ने उजागर भएको थियो ।

२३ वर्षीय झोउलाई मासिक कम्तीमा १० हजार युयान (एक हजार ४ सय ४० डलर) तलब र बोनसको प्रलोभन दिएपछि उनी एक साथीसहित नेपाल आएका थिए । उनका साथीका आफन्त जापानमा अमेजन डटकमको कस्टमर कल सेन्टरमा काम गर्थे । झोउ र उनका साथीले पनि सोचेका थिए कि नेपालमा गर्ने काम त्यस्तै नै होला ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि झोउ र उनका साथीलाई एक स्थानीय एजेन्टले टिपेर होटलमा पुर्‍याए ।

झोउकाअनुसार उक्त होटल बौद्ध स्तुपासँग नजिकै थियो ।

उनलाई नेपाल ल्याउने कम्पनी यसअघि फिलिपिन्समा थियो । त्यहाँ सुरक्षा र नियमनको कडाईले गर्दा टिक्न नसकेपछि नेपालमा सारिएको रहेछ । कम्पनीले होटलमै आफ्नो कार्यालय पनि बनाएको थियो, १० भन्दा बढी कोठामा कामदार राखिएको थियो । ‘एउटा कोठामा ३ देखि ४ जना कामदार बस्थे र कोठाभित्र असाध्यै झिँगा भन्किन्थ्यो,’ झोउ भन्छन् ।

झोउलाई भनियो कि होटल बाहिर निस्कँदा अनिवार्य रुपमा एक जना स्टाफ साथमा लैजानुपर्नेछ ।

पहिलो दिनको काममा नै झोउलाई एउटा प्रयोगमा रहेको ल्यापटप, एउटा सेल फोन दिइयो । साथै एउटा प्रिपेड फोन कार्ड । उनलाई एउटा ट्रेनिङ डकुमेन्ट पनि दिइयो, जुन उनले करिब आधा घन्टामा पढेर सिध्याए । डकुमेन्टमा नयाँ कर्मचारीहरुलाई कसरी फेक प्रोफाइलहरु बनाएर डेटिङ वेबसाइटमा महिलाहरुसँग च्याट गर्ने भनेर सिकाइएको थियो ।

सबैभन्दा बढी छानिएका पेशाहरुमा निर्माण श्रमिक ठेकेदार, विजनेस पार्टनर, निर्माण सामग्री थोक विक्रेता र रेस्टुरेन्ट साहु थिए ।

उनीहरुलाई चिनियाँ डेटिङ साइटमा गएर एकल वा पारपाचुके गरेका महिलाहरुलाई पछ्याउन र कम्पनीले डिजाइन गरेको अनलाइन जुवा खेल्न उक्साउन सिकाइयो ।

कामदारलाई ‘बोइलर रुम अपरेशन’ मा फरक–फरक भूमिका दिइएको थियो । केहीले आफ्नो गृहनगरबाट मानिसहरु भर्ती गर्नुपर्ने, केहीले डेटिङ साइटहरुमा भेटिएका सम्भावित क्लाइन्ट छान्नुपर्ने । जसले छिटो टाइप गर्न सक्छन्, उनीहरुलाई एक दिनमा पाँच जनालाई जालमा पार्ने लक्ष्य दिइएको थियो । झोउजस्ता नयाँ कर्मचारीलाई चाहिँ दुई जनाको टार्गेट दिइयो । साथै एउटा क्लाइन्टलाई अनलाइन जुवामा आकर्षित गर्न सफल हुँदा उनीहरुले २० प्रतिशत कमिसन पाउँथे ।

झोउले बिहान ४ बजेबाटै आफ्नो रुटिन सुरु गर्थे । सबैभन्दा पहिले आफ्ना लक्षित ग्राहकहरुलाई अभिवादन गर्थे । उनी आफूलाई सफल व्यापारी देखाउनका लागि ग्राहकलाई भन्ने गर्थे कि भर्खर जगिङ सकेर आएको हुँ र तुरुन्त मिटिङ एटेन्ड गर्नुछ ।

अनि उनी सम्भावित ग्राहकलाई सोध्थे कि तिमी लन्चमा के लिँदैछौं ।

झोउका अनुसार प्रमुख रणनीति चाहिँ टार्गेटको रुची थाहा पाउनु र उनीहरुसँग अन्तरंग सम्बन्ध बनाउनु नै हुन्थ्यो । उनका अनुभवी सहकर्मीले अनलाइनमा १ दर्जन टार्गेटसँग एकैपटक कुरा गर्न सक्थे । टार्गेटको विश्वास जितिसकेपछि उनीहरुले भन्थे कि अनलाइन जुवामा पैसा जित्ने भित्री सूचना उनीहरुसँग छ । नभन्दै सुरुका केही गेमहरु जिताइदिन्थे पनि ।

त्यसले ग्राहकलाई अझै बढी पैसा लगाउन प्रोत्साहन मिल्थ्यो ।

एक सहकर्मीले आफ्ना एकजना ग्राहकबाट दुई दिनमै आठ लाख यूआन खर्च गराएको झोउले सुनेका थिए । उनले भने त्यति सकेनन् । प्राय ग्राहकहरु ४० देखि ५० वर्षका अधवैंशे महिला हुने गर्थे, जो इन्टरनेटमा त्यति धेरै अभ्यस्त छैनन् ।

सन् २०१९ को पछिल्लो ६ महिनामा कम्बोडिया र फिलिपिन्सजस्ता मध्यपूर्वी एसियाका देशहरुमा चिनियाँ नागरिकले सञ्चालन गरेका अनलाइन जुवा खेलाउने थुप्रै कम्पनी नेपालमा सारिएका छन् । कम्बोडियामा सरकारले अनलाइन जुवामाथि प्रतिबन्ध लगाएको र फिलिपिन्समा नयाँ लाइसेन्स दिन रोकिएपछि कम्पनीहरु नेपालमा सरेका हुन् ।

नेपालमा क्यासिनो र अनलाइन जुवा सञ्चालकका लागि तुलनात्मक रुपमा खुकुलो कानूनी र व्यवसायिक वातावरण छ । नेपालले विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले चिनियाँ नागरिकलाई आगमनमै ९० दिनको भिसा दिने गर्छ । यसले गर्दा चिनियाँ अनलाइन जुवा सञ्चालकलाई चीनबाट मान्छे ल्याउन सजिलो भएको छ ।

झोउका अनुसार गत सेप्टेम्बरयता काठमाडौंमा धेरै चिनियाँ युवाहरु देखिन थालेका छन् । उनीहरुले आफूलाई इकर्मस वा इन्टरनेट विजनेसमा संलग्न रहेको बताउने गर्छन् । उनीहरुले एउटा होटल भाडामा लिएर त्यसमा अफिस तथा कामदारको बासस्थानका रुपमा प्रयोग गर्ने गरेका छन् ।

डिसेम्बरमा छापा हानिएको एउटा प्रमुख साइट काठमाडौंको उत्तरपश्चिमी क्षेत्रमा रहेको ६ तल्ले भवनमा चलाइएको थियो । स्थानीयवासीले काइसिनलाई मानिसहरुले कम्युटर अगाडि बसेर काम गरिरहेको आफूहरुले झ्यालबाट देखेको बताएका थिए । यो भवन भाडामा लिनेले चलनचल्तीको भन्दा चार गुणा बढी भाडा तिरिरहेको पनि खुल्न आएको छ ।

प्रहरीले गत डिसेम्बरमा छापा हानेर एकैसाथ एक सय २२ जनालाई समात्यो, जुन विदेशी नागरिकमाथि गरिएको पहिलो ठूलो कारवाही थियो ।

तर यो कारवाही पर्याप्त नभएको गुनासो छ । प्रहरीले चाहिँ अझै ८०० संदिग्ध चिनियाँ नागरिकमाथि गोप्य अनुसन्धान गरिरहेको जनाएको छ । ‘उनीहरुमध्ये धेरै हामीले छापा मार्नुभन्दा अगाडि नै भागेका हुन सक्छन्,’ महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले भने, ‘हामी अहिले पनि उच्च सतर्कतामा छौं ।’

झोउले जब आफ्नो बोसलाई काम छोड्ने कुरा गरे, उनको पासपोर्ट खोसियो र नेपाल ल्याउन भएको खर्चको सोधभर्ना गर्न भनियो । तर कम्पनीले नयाँ कामदारको स्वागतमा पार्टी गरेको बेला आफ्नो पासपोर्ट चोरेर भागेको झोउले बताए ।

(काइसिन ग्लोबलमा प्रकाशित डेनिस जियाको लेखको भावानुवाद् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment