Comments Add Comment

बालबालिकामा कार्टुनको लत

अहिले धेरै आमाबुवाको टाउको दुखाईको बिषय बनेको छ, छोराछोरीमा कार्टुनको लत । हरखबत कार्टुनमा झुम्मिने बानीले बच्चाको शारीरिक गतिबिधी निस्क्रिय छ । यसले स्वास्थ्य समस्या निम्त्याउँदैछ । अर्कोतिर पठनपाठनमा ध्यान केन्दि्रत हुन सकेको छैन । त्यसैगरी मानसिक रुपले उनीहरुलाई आक्रमक बनाउँदै लगेको छ ।

के हुन्छ ?

कार्टुनले बच्चालाई काल्पनिक दुनियाँमा डोहोर्‍याउँछ । बच्चाले ठान्छन्, टिभीमा जे देखिन्छ त्यो वास्तविक हो । त्यसैलाई उनीहरु पनि अनुसरण गर्ने प्रयास गर्छन् । त्यसैले अहिलेका बच्चाहरु वास्तविक जीवनमा रमाउन सकिरहेका छैनन् ।

बालापन एकदमै संवेदनसिल अवस्था हो । यसबेला उनीहरुको मस्तिष्कलाई कुनैपनि कुराले चाडै प्रभाव पार्न सक्छ र त्यसको असर दीर्घकालसम्म रहन्छ ।

फाइदा पनि

बच्चाहरु कार्टुनप्रति आकषिर्त हुनु स्वभाविक हो । यसको बेफाइदा मात्र छैन । अहिलेको डिजिटल युगमा बच्चाहरुले कार्टुनबाट धेरै कुरा सिकिरहेका पनि हुन्छन् । कति अभिभावकलाई थाहा नभएका कुराहरु समेत बच्चाले कार्टुनबाट आर्जन गरिरहेका हुन्छन् । खासगरी उनीहरुमा प्राविधिक ज्ञान प्राप्त हुने गर्छ ।

कसरी लाग्छ कार्टुनको लत

अभिभावक कामकाजी – बच्चाको आमाबुवा दुबै कामकाजी भएपछि उनीहरुसँग समय हुँदैन । बच्चाले आमाबुवासँग खेल्न पाउँदैनन् । त्यसैले उनीहरु कार्टुनमा आफुलाई भुलाउन थाल्छन् ।

बच्चाको एक्लोपना- कति अभिभावक बच्चासँग खेल्न, कुरा गर्न रुचाउँदैनन् । यस्तो अवस्थामा बच्चाले एक्लो महसुष गर्छन् । त्यही भएर उनीहरु कार्टुनको शरणमा पुग्छन् ।

खेल्ने माध्याम नहुनु– अन्य शारीरिक खेलका लागि स्थान अभाव हुनु, खेलौनाको कमी हुनु जस्ता कारणले पनि बच्चाहरु कार्टुनबाट मनोरञ्जन लिने गर्छन् ।

एकल परिवार- एकल परिवार हुनु, बच्चासँग खेल्ने साथीहरु वा आफ्नो दाजुभाई-दिदीबहिनी नहुनु जस्ता कारण पनि बच्चाहरु कार्टुनबाट त्यो रिक्तता मेट्न बाध्य हुने गरेका छन् ।

कार्टुनको प्रभाव के हुन्छ ?

बच्चाहरु कार्टुनमा लामो समय बिताउँछन् । ओछ्यानमा उठ्नसाथ कार्टुन हेर्ने, राती सुत्नुअघि पनि कार्टुन नै हेर्ने बानी धेरै बच्चामा हुन्छ । दिनभर बच्चाहरु कार्टुन हेर्दा हेर्दौ आफु स्वंम कार्टुन जस्तै हुन्छन् । उनीहरु अनौठो नक्कल गर्छन्, त्यस्तै भाषा बोल्छन् ।

अनौठो हर्कत गर्ने– बच्चाहरु कार्टुनको पात्र जस्तै बन्ने अभ्यास गर्छन् । उनीहरु अनौठो हर्कत गर्न थाल्छन् । अक्सर कार्टुनमा देखाइने हिंस्रक दृश्यले बच्चाको कोमल मनमा हिंस्रक प्रवृत्तिलाई बढाव दिन्छ । उनीहरु पनि कार्टुनमा जस्तै मारपिट, हिंसा गर्न रुचाउन थाल्छन् ।

भाषा परिवर्तन- अहिले नेपाली बच्चाहरु हिन्दी कार्टुन हेर्छन् । र, नेपालीभन्दा उनीहरु हिन्दी भाषा बोल्नमा अभ्यस्त छन् । कति कुरा त उनीहरुले हिन्दीमा भनेको मात्र बुझ्छन् ।

आक्रमक र जिद्दिपन- कार्टुनमा बढी लिप्त हुने बच्चाहरु आक्रमक स्वभावको हुने गरेका छन्, साथसाथै जिद्दी पनि ।

मोटोपन– एकै स्थानमा बसेर कार्टुन हेर्दा बच्चाको स्वास्थ्यमा असर पुग्छ । उनीहरुको शारीरिक गतिविधि सून्य हुन्छ । कार्टुनसँगै आउने जंक फूडको विज्ञापनले पनि उनीहरुको ध्यान त्यसतर्फ खिचिन्छ र जंक फूडप्रति लगाव बढ्न थाल्छ । यसले उनीहरुमा मोटोपनसँगै अन्य रोगको खतरा पनि हुन्छ ।

कसरी यसबाट छुटकारा पाउने ?

बच्चालाई समय दिनुपर्छ- बच्चामा कार्टुनको लत बढ्नुमा सबैभन्दा बढी जिम्मेवार अभिभावक नै हुन्, जो बच्चासँग घुलमिल हुँदैनन् । बच्चासँग पनि खेल्ने, कुराकानी गर्ने, ठट्टा मनोरन्जन गरौं । यसले गर्दा बच्चाहरुको ध्यान टिभीमा जादैन ।

बच्चालाई बोझ नठानौं- कति अभिभावक बच्चाको कुरा सुन्न, उनीहरुसँग खेल्न झर्को मान्छन् । त्यसैले बच्चाबाट सजिलै उन्मुक्ति पाउन उनीहरुलाई कार्टुन देखाइदिन्छन् । यस किसिमको खराब बानीले पनि बच्चामा कार्टुनको लत लाग्छ ।

समय निर्धारण गरौं- बच्चालाई कार्टुन हेर्नै नदिने होइन । बरु, यसका लागि समय निर्धारण गरिदिनु पर्छ । त्यसो त कार्टुन मात्र होइन, अन्य मनोरञ्जनात्मक एवं जानकारीमुलक च्यानल पनि हेराउने अभ्यास गर्नुपर्छ ।

राम्रो र नराम्रो कुराबारे स्पष्ट पारिदिने- कस्तो कार्टुन हेर्दा हुन्छ, कस्तो हेर्नु हुँदैन भन्ने कुरा बच्चालाई सिकाउनुपर्छ । धेरै हिंसात्मक दृश्य भएको, लडाई झगडा भएको कार्टुन हेर्न दिन हुन्न ।

बच्चामाथि निगरानी राखौं- कार्टुन हेरिरहेको समयमा बच्चालाई त्यसै छाड्नु हुन्न । उनीहरुले के हेर्दैछन्, के गर्दैछन् भन्ने कुरामा निगरानी राख्नुपर्छ ।

बच्चालाई आउटडोर गेममा प्रेरित गरौं- दिनभर टिभी हेराउनुभन्दा बच्चालाई बाहिर घुम्न लानुपर्छ । उनीहरुसँग खेल्नुपर्छ । आउटडोर गेममा प्रेरित गरेपछि बिस्तारै कार्टुनको लत छुट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment