Comments Add Comment

जनता मारिँदा पनि मुकदर्शक भयौं : मुख्यमन्त्री राउत

२९ पुस, जनकपुरधाम । प्रदेश २ का मु्ख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासन माफियासँग मिलेको आरोप लगाएका छन् । त्यही कारण जनता मरिरहँदा पनि प्रदेश सरकार मुकदर्शक बन्न बाध्य भएको उनले दाबी छ ।

मंगलबार जनकपुरधाममा आयोजित जलवायु परिर्वतनसम्बन्धी सगरमाथा सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले सेटिङमा टिपर लगाएर खोला तथा नदी उत्खनन गराउने काम भइरहेको बताए । ‘दिउँसै टिपर लगाएर नदी उत्खनन भइरहेको छ । प्रहरी प्रशासन छैन र ? उनीहरु सबै मिलेका छन्’ उनले भने ।

‘बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन्, दिनहु वन विनाश हुँदैछ, रोक्ने प्रयास गर्नेहरुको दिनदहाडै हत्या हुन्छ, तर हामी मुकदर्शक भएका छौं’ उनले भने, ‘प्रहरी हाम्रो मातहतमा छैन । यो भन्दा ठूलो दुर्भाग्य अरु के होला ।’

अवैध नदी उत्खननको विरोध गरेकै कारण धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरमा स्थानीय युवक दिलीप महतोको क्रसर उद्योगीले टिपरले किचेर हत्या गरेका थिए ।

नदी उत्खनन गर्ने तथा जंगल फँडानी गर्नेहरुलाई केही नगर्ने प्रहरी प्रशासनले भारतबाट थोरै मल ल्याउने किसानलाई दुःख दिने गरेको मुख्यमन्त्री राउतको आरोप छ ।

चुरेको दोहन र जंगलको नियमित फँडानी भइरहँदा सबैभन्दा ठूलो प्रभाव प्रदेश २ लाई पर्ने गरेको उनले बताए । सप्तरीदेखि पर्सासम्मको क्षतिको अवस्था हेर्नुस्’ उनले भने, ‘भूमाफियाहरु बढ्दै गएका छन् । ठूला ठूला कन्स्ट्रक्सन खोलेर बसिरहे पनि कसैले कुनै ध्यान नदिनु नै सेटिङको प्रमाण हो ।’

प्रकृतिमाथिको अतिक्रमण तत्काल नरोके ठूलो समस्या निम्तिने मुख्यमन्त्री राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment